२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाढी पहिरोका कारण ताप्लेजुङको मामांखे र याम्फुदिनमा सयौँ परिवार प्रभावित 

सदरमुकामबाट हिँडेको सशस्त्र प्रहरीको टोलीलाई पुग्नै कठिन
आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको उत्तर पश्चिम क्षेत्रमा चार जनाको ज्यान जाने गरी बाढी पहिरो गएको भोलिपल्ट शनिवार पूर्वी क्षेत्रमा सयौंलाई प्रभावित बनाएको छ । सिरिजंगा गाउँपालिका-६ मामांखे र वडा नं.  ८ याम्फुदिनका नागरिक बाढी पहिरोबाट प्रभावित भएको स्थानीयले बताएका छन् ।

बाढी पहिरोका कारण ताप्लेजुङको मामांखे र याम्फुदिनमा सयौँ परिवार प्रभावित 

वडा नं. ८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङ आफू आफ्नो परिवार र आफू रहेको टोल पनि सुरक्षित नरहेको बताउँछन् । ‘मेरो वडामा अहिले भोटेगाउँ बाहेक कुनैपनि टोल सुरक्षित देखिएन,’ गुरुङले भने, ‘वर्षाले सबैतिर प्रभावित बनाएको छ । र वडाबासीलाई सुरक्षित ठाउँ पहिचान गरेर बस्नुहोस् भनेर अनुरोध गरिरहेको छु ।’

वडाका धेरैले घरभन्दा बाहिर सुरक्षित ठाउँको खोजीमा रहेको र आफूले पनि त्यही अनुरोध गरिरहेको वडाध्यक्ष गुरुङले बताए । घरमुनि र माथिबाट पहिरो आएपछि कञ्चनजंघा मावि छेउका पासाङ भोटे र पेम्वा भोटेको घरको सामान सार्ने काम भइरहेको उनले जानकारी दिए ।

मामांखेका कैलाश लिम्वूका अनुसार यहाँका केही घरहरु पहिरोले पुरेको छ भने घर अगाडि र पछाडि पहिरो गएपछि मानिसहरु विस्थापित भएका छन् । गौरी माया लिम्वू, भीममाया गुरुङ, ख्यालमान लिम्वू लगायतको घर पहिरोले बस्नै नहुने बनाएको उनले जानकारी दिए ।

उनका अनुसार पूर्णकुमार मावो, यामवहादुर लिम्वू, बुद्धिमान लिम्वू, रनकुमार, चन्द्रमान, रबिवहादुर लिम्वूको घर उच्च जोखिममा छन् । थबाबुक भन्ने स्थानमा ख्यालमान, बिरवहादुर, जगत, अमृत, चन्द्रबहादुर, आगे जेठा, आगे कान्छाको घर उच्च जोखिममा रहेका छन् ।


साबिक २ देउराली डाँडा क्षेत्रमा मनकुमार, इन्द्रवहादुर, मनवहादुर लिम्वू, नारायण भट्टराई, मेघनाथ भट्टराईका घर उच्च जोखिममा रहेका छन् । साविक छ नम्वर वडामा गल्लीमुनि माइलाको घर जोखिममा रहेको कैलाशले बताए। सिरिजंगा-७ खेवाङ घर भएका कांग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङका अनुसार खेवाङमा पनि वर्षाको प्रभाव छ ।

यहाँका जोखिम प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि अनुरोध गरिएको छ । शनिवार विहानदेखिको बर्षा नरोकिएको स्थानीयले बताएका छन् ।

सदरमुकामबाट सशस्त्र प्रहरीको टोली परिचालन

यो क्षेत्रमा शनिवार बिहानै सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मका गुल्मपति रबिन सिलवालका अनुसार बिहानै पठाइएको टोली सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोकबाट अगाडि बढेको छ ।

जताततै सडक भत्किएको र बनाउँदै जानुपर्दा टोलीलाई पुग्न समस्या भइरहेको सिलवालले बताए । सशस्त्रको टोलीले विपद्‌मा परेकालाई सुरक्षित राख्ने लगायतका काम गर्ने सिलवालले बताए ।

प्रकाशित : असार १, २०८१ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x