कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोशी टप्पुमा घटे आगन्तुक चरा

विनोद भण्डारी

विराटनगर — चराको राजधानी मानिँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासमा यस वर्ष चराको संख्या घटेको छ । यसको मुख्य कारणका रुपमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले अन्यत्र विस्थापित हुँदा चराको संख्या घटेको सरोकारवालाको अनुमान छ ।

कोशी टप्पुमा घटे आगन्तुक चरा

मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशी टप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ५३ प्रजातिका ५ हजार ५ सय २७ को संख्यामा चरा फेला परेका छन् । गत वर्ष ५६ प्रजातिका ७ हजार ५ सय ७३ चरा रहेको आरक्षको तथ्यांक छ । अघिल्लो वर्ष यहाँ ७ हजार ६ सय ६४ चरा थिए । ‘आरक्ष क्षेत्रमा हरेक वर्ष नयाँ प्रजातिका चरा आउने गरेका थिए । तर यस वर्ष त्यस्तो भेटिएन,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गौतमले भने, ‘गत वर्ष ५६ प्रजातिका चरा फेला परेकोमा यस वर्ष यहाँ ५३ प्रजाति मात्र भेटिए ।’ उनका अनुसार गत वर्षको तुलनामा तीन प्रजाति र दुई हजार भन्दा बढी चरा आरक्ष क्षेत्रमा घटेका छन् ।

साइबेरिया, मंगोलिया, रसिया र चीनबाट जाडो छल्न आरक्ष क्षेत्रमा विभिन्न प्रजातिका चरा आउँथे । यसपाली त्यसरी आउने चरा घटेको गौतमले बताए । ‘यसको मुख्य कारण आउँदा आउँदै बाटैमा नयाँ बासस्थान भेटिनु, उपयुक्त तापक्रम फेला पर्नु र चरा उड्ने मार्गमा रहेका विद्युतीय हाइटेन्सन लाइन पनि हुन सक्छ,’ उनले भने । उनको बुझाईमा आरक्ष क्षेत्रमा गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादी प्रयोग र मानवीय क्रियाकलापले पनि चराको संख्या घटेको हुन सक्छ ।

यसबेला कोशीमा सबैभन्दा धेरै ८ सय ४८ वटा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च संख्यामा फेला परेका १० प्रजातिका चरा मध्ये चखेवा ५ सय ६, राज हुटिट्याउ ४ सय ५५, जलेवा ४ सय ४५, वस्तु बकुल्ला ३ सय ७६, सानो जलेवा ३ सय ७१, कर्रा सवारी २ सय ५७, लामाऔँले २ सय २२, आसकोटे बकुल्ला २ सय १० र जलरंग १ सय ८७ रहेको आरक्षको तथ्यांक छ । कोरोनाकालमा यो आरक्ष र आसपासमा चराको संख्या ९ हजार २ सय ८९ पुगेको थियो । त्यस समयमा मनावीय चहलपहल कम भएकाले सिमसार, खोलानालामा चराको संख्या बढेको हुनसक्ने गौतमको अनुमान छ ।

हरेक वर्ष असोजदेखि पुससम्ममा हिँउदे पर्यटक चरा नेपाल आउने गर्छन् । ती चरा चैतको सुरुदेखि आफ्नै गन्तव्य स्थान फर्कने गर्छन् । ‘सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष मुलुकको चराको राजधानी झै हो । तर चरा घट्न चिन्ताको कुरा हो,’ गौतमले भने ।

५० भन्दा बढी प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलंकातिर भौतारिन्छन् । जाडो छल्न नेपाल आउने हिउँदे पर्यटक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष सहित चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् ।


यसरी जाडो याममा नेपालमा बसाइँ आउने चरा मध्ये सबैभन्दा बढी हाँस प्रजातिले ओगटेको छ । त्यसबाहेक अन्य प्रजातिमा सिकारी तथा मांसहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राईलगायत पर्छन् । पानीमा आश्रित चराहरुलाई सिमसार संरक्षणको अभावमा हुनुको साथै आहाराको कमीले चराको संख्या घटेको हुनसक्ने कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाको बुझाइ छ ।

दक्षिणी मुलुक र अफ्रिकाबाट ग्रिष्मकालीन पर्यटक चरा बच्चा कोरल्न नेपालका सिमसार आउने र आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानतिर फर्कने गरेको चराविद्को भनाई छ । त्यसरी आउनेमा कोइली, मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउकेलगायतका प्रजातिका चरा छन् ।

प्रकाशित : फाल्गुन २९, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×