बीपी प्रतिष्ठानका समस्या सल्टाउन माग राखी प्रधानमन्त्रीलाई संघर्ष समितिको पत्र- प्रदेश १ - कान्तिपुर समाचार

बीपी प्रतिष्ठानका समस्या सल्टाउन माग राखी प्रधानमन्त्रीलाई संघर्ष समितिको पत्र

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखी आन्दोलनरत संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवालाई वार्ताका लागि ४८ घण्टे अल्टिमेटम दिएको छ । 

समितिले प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटी गठन गरी माग पूरा नगरिए साउन १ देखि कडा आन्दोलन गर्ने जनाएको छ । प्रधानमन्त्रीलाई लेखिएको पत्रमा भनिएको छ, ‘तोकिएको समयभित्र हाम्रा माग पूरा नगरिए आकस्मिक सेवा, कोभिड उपचार र निर्धारित परीक्षाका कार्यक्रमबाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्न बाध्य हुनेछौं ।’

समितिले आकस्मिक र कोभिड उपचारबाहेकका सेवा बहिष्कार गर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी कुलपति तथा प्रधानमन्त्री स्वयंले लिनुपर्ने जनाएको छ ।

समितिका सहसंयोजक डा. विष्णु पोखरेलले भने, ‘नवनियुक्त प्रधानमन्त्री तथा कुलपतिज्यूलाई बीपी प्रतिष्ठान शुद्धीकरण अभियानले देशकै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम दलीय स्वार्थले चलखेल गर्न नसक्ने, भ्रष्टीकरण हुने प्रवृत्तिमा सुधार हुने स्मरण गराएका छौं ।’

प्रतिष्ठानका गैरजिम्मेवारी पदाधिकारीलाई एक मिनेट पनि उक्त पदमा बस्ने अधिकार नरहेकाले तत्काल नैतिकताका आधारमा राजीनामा दिई मार्ग प्रशस्त गर्न सार्वजनिक रूपमा आह्वान गरिएको बारे प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए । समितिले गत १५ गते उपकुलपति मदिरा सेवन गरेर आएपछि भाँडिएको वार्ता अब प्रतिष्ठानका तिनै पदाधिकारीमार्फत अघि बढ्न नसक्ने भएकाले कुलपतिको हैसियतले हस्तक्षेपकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रकाशित : असार ३०, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्

इटहरीको मायाघरका ३६ जनामा कोरोना पुष्टि

सुनसरी — इटहरीस्थित मायाघरमा आश्रित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले स्वास्थ्य परीक्षण गर्दा मायाघरमा आश्रय लिइरहेका ८५ जनामध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

इटहरी अस्पतालको इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड–१९ होमआइसोलेन सपोर्ट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ संक्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड–१९ का लक्षण देखिएको छ ।

कोरोना संक्रमित देखिएपनि हालसम्म उनीहरुको अवस्था भने सामान्य रहेको छ । उपप्रमुख लक्ष्मी गौतमका अनुसार संक्रमितहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, माक्सलगायत स्वास्थ्य सामाग्री वितरण गरिएको छ । उनका अनुसार सबै संक्रमितलाई इटहरी अस्पतालले स्वास्थ्य निगरानी गरिरहेको छ ।

मायाघरकी सञ्चालक समितिकी सचिव सुभद्रा प्याकुरेलले भनिन्, ‘कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये ३ वर्षीया बालिकादेखि ६० वर्षीया महिलामा कोरोना संक्रमण भएको पुष्टि भयो । मायाघरलाई नै क्वारेन्टिन बनाएर राखेका छौं । संक्रमित नभएकाहरुलाई छुट्टै कोठामा राखेका छौं ।’

निषेधाज्ञा खुकुलो भएपछि मायाघरमा पनि मानिसको आवतजावत बढेपछि कोरोना संक्रमण भएको हुनसक्ने उनले बताइन् । उनका अनुुसार इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पताल र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रतिनिधिले मायाघरको निरीक्षण गरेर जनस्वास्थ्य अवस्था मूल्यांकनसमेत गरेका छन् । कोरोना संक्रमणकै कारण मायाघरमा नयाँ व्यक्तिहरुलाई ल्याउन भने केही समय बन्द गरिएको उनले बताइन् ।

मायाघरले विभिन्न कारणले घरबाट निकालिएका, आमाबाबुविहीन, बेवारिसे, मानसिक सन्तुलत ठीक नभएका महिला र बालबालिकाहरुलाई उद्धार गरेर आश्रय दिँदै आइरहेको छ ।

प्रकाशित : असार २७, २०७८ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×