कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

बीपी प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

सुनसरी — संयुक्त संघर्ष समितिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा बुधबार तालाबन्दी गरेको छ । १६ दिनदेखि आन्दोलनरत चिकित्सक–कर्मचारीले पदाधिकारीसँगको वार्ता भाँडिएपछि तालाबन्दी गरेका हुन् ।  

बीपी प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

मंगलबार वार्ताको तयारी गरिए पनि उपकुलपति ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै समितिका प्रतिनिधिले विरोध जनाएका थिए । उनीहरूले उपकुलपति र अन्य पदाधिकारी समितिप्रति गैरजिम्मेवार बनेको आरोप लगाए । त्यसपछि चिकित्सक, नर्स र कर्मचारीहरूले उपकुलपति गिरीसहित पदाधिकारीलाई अपराह्न साढे ३ देखि बेलुका साढे ९ सम्म वार्तास्थलमा थुनिदिएका थिए । पदाधिकारीलाई प्रहरीका संरक्षणमा राति मात्र घर पुर्‍याइएको थियो ।

समितिले पदाधिकारीले आफ्ना माग नसुनेको भन्दै अब उनीहरूसँग वार्ता नगर्ने जनाएको छ । समितिका संयोजकसमेत रहेका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष राजेन्द्र घिमिरेले भने, ‘प्रतिष्ठानमा जति मेडिकल उपकरण, ल्याब, अप्रेसन थिएटर छन्, अधिकांश कामै नलाग्ने मात्र छन् । तर पदाधिकारी कमिसन पाउने सामान ल्याउन र मेडिकल उपकरण आपूर्ति गर्ने व्यापारीसँग मिलोमतो गर्नमै व्यस्त छन् । शैक्षिक क्यालेन्डर अस्तव्यस्त छ । यस्ता तमाम बेथितिको अन्त्यका लागि वार्ता गर्न चाहेका थियौं तर पदाधिकारीले नसुनेपछि तालाबन्दी गरेका हौं ।’

प्रतिष्ठान बिरामीको अत्यधिक चाप हुने स्वास्थ्य शैक्षिक संस्था भए पनि पदाधिकारीले समस्या समाधान गर्न ध्यान नदिएकाले आन्दोलन गर्न बाध्य भएको समितिले जनाएको छ ।

संयोजक डा घिमिरेले प्रतिष्ठान सुधार्नका लागि अब सम्पूर्ण पदाधिकारीको राजीनामा वा बहिर्गमन हुनुपर्ने, प्रधानमन्त्रीकै पहलमा वार्ताटोली गठन हुनुपर्ने बताएका छन् । अब विशिष्ट विज्ञहरूको समूहले सिफारिस गरेका व्यक्तिलाई नयाँ पदाधिकारी चयन गर्नुपर्ने भन्दै उनले अरूलाई नियुक्त गरिए प्रतिष्ठान प्रवेश गर्न नदिने चेतावनी दिए । संघर्ष समितिले असार २३ गतेसम्मको अल्टिमेटम दिएको छ । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष विष्णु पोखरेलले भने, ‘यो एकसाताभित्र हाम्रा मागको यथोचित सम्बोधन नगरिए सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक, विद्यार्थीले सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्न जाने तयारीमा जुट्नेछौं ।’

संघर्ष समितिले यसअघि नै प्रतिष्ठानभित्रका बेथिति औंल्याउँदै इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

प्रकाशित : असार १६, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?