कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नोटसहित ३ जना पक्राउ

सुनसरी — नेपाली नक्कली नोटसहित सुनसरी प्रहरीले ३ जनालाई इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेपनि बुधबार मात्र सार्वजनिक गरेको छ ।

नक्कली नोटसहित ३ जना पक्राउ

नेपाली जाली नोटको कारोबार गरेको आरोपमा पक्राउ पर्नेहरुमा धरान १९ बस्ने टेकबहादुर तामाङ, हरिनगरा गाउँपालिका–२ बस्ने नजिम साफि र धरान १७ बस्ने महेन्द्र तामाङ रहेका छन् ।

पक्राउ परेकामध्ये महेन्द्र तामाङ नेपाली कांग्रेस धरान नगर उपसभापति हुन् भने टेकबहादुर तामाङ धरानस्थित हरियाली सामुदायिक वन उपभोक्ता समुहका पूर्व अध्यक्ष हुन् । प्रहरीका अनुसार उनीहरुका साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान अर्थात् ४ लाख १५ हजार फेला परेको छ ।

सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने, ‘नेपाली जाली नोटको कारोबार भइरहेको सूचना पाएको आधारमा उनीहरुलाई जाली नोटसहित इनरुवाबाट पक्राउ गरिएको हो । उनीहरुले कागजमा जाली नोट कागजमा पोको पारेर लुकाइरहेको अवस्थामा बरामद गरिएको छ ।’ थापाका अनुसार ती नक्कली नोट कहाँ कसरी तयार पारिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्दा सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । करिब ४ वर्षअघि पनि धरान ७ शान्तिपथबाटै नेपाली जालिनोट सहित तीन जना पक्राउ परेका थिए ।

प्रकाशित : वैशाख ८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?