कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरात राई यायोक्खाले खुवालुङ फुटाउन नदिने 

खुवालुङ फुटाउने कुनै निर्णय भएको छैन, केही फुर्सदिलाले यसमा विवाद झिके : मुख्यमन्त्री राई

सुनसरी — सरकारले सप्तकोसीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसको विवाद केही सातादेखि चर्किएको छ । विवाद चर्किएसँगै खुवालुङ बचाउ अभियान पनि चलेको छ । यसै विवादबीच किरात राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने बताएको छ ।

किरात राई यायोक्खाले खुवालुङ फुटाउन नदिने 

फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ (ढुंगा) क्रेनको प्रयोग गरेर भए पनि फुटाउने उद्घोष गरेपछि यो चर्चा र विवादको विषय बन्न पुगेको हो ।

यसअघि पनि अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङले जेटबोट चलाउन बाधा दिएको भन्दै यसलाई फुटाउन चतरामा रहेका जेटबोट संचालक कम्पनीका पदाधिकारीहरुले प्रयास गर्दै आएका थिए । जेटबोटबाट दुधकोसी नदीको दोलालघाटसम्म पुग्नका लागि बाधा दिने खुवालुङसहित नदीको बीचबीचमा भएका अन्य ढुङ्गाहरु पनि फुटाउनु पर्ने प्रयास जेटबोट संचालकहरुले गर्दै आएका थिए ।

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै खुवालुङ फुटाउने उद्घोष गरेपछि किरात राई समुदाय र संस्कृतिप्रेमीहरुले राज्यले किराती धर्म संस्कृतिमाथि धावा बोलेर कमजोर बनाउन खोजेको आरोप लगाएका छन् । विवाद र बहस चलिरहेको बेला अभियन्ताहरु खुवालुङ स्थल आए । जेटबोट चालकसँग विवाद हुँदा दिनेश राई, साजन राई, सुनिल गोले तामाङ, सन्दिप क्षेत्री, प्रल्हाद खड्कालगायतलाई पक्राउ गरिएपछि खुवालुङ विवाद थप चर्किएको हो ।

बराहक्षेत्र नगरपालिकास्थित महेन्द्रनगर इलाका प्रहरी कार्यालयका सई देवराज शर्माले ती युवाहरुले भाडाको विवादमा जेटबोटका चालक र केही स्टाफलाई कुटपिट गरेपछि जेटबोट संचालकहरुले उजुरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । तर, अभियानले भने खुवालुङ बचाउ अभियानमा लाग्दा पक्राउ गरिएको बताएको छ ।

विवाद चर्किन थालेपछि अरुण र तमोरको संगमस्थलमा सदिऔंदेखि रहेको खुवालुङलाई किरात खुम्बु (राई) समुदायको संस्कृतिसँग प्रत्यक्ष सम्बन्ध रहेको किरात राई यायोक्खाले खुलायो । यायोक्खाले किरातहरुको मिथ, संस्कृति र सभ्यतासँग खुवालुङको सम्बन्ध जोडिएको भन्दै नफुटाउन आग्रहकासाथ चिन्ता व्यक्त गरेको छ । खुवालुङलाई किरात खम्बु समुदायले आफ्नो देउता भएको र सबै संस्कार यही ढुंगाबाट सुरु हुने गरेको जनाएको छ ।

यायोक्खा सुनसरीका अध्यक्षसमेत रहेका खुवालुङ क्षेत्र भेला आयोजक समितिका संयोजक बलराम राईले भने, ‘किरात राई चाम्लिङ भाषामा खु भनेको ठूलो खोला नदी, वा भनेको पानी र लुङ भनेको ढुंगा हुन्छ । नदीको पानीमा रहेको ढुंगालाई खुवालुङ भनिन्छ । यो खुवालुङसँग किरातीहरुको मिथक, इतिहास र मुन्दुम जोडिएकाले फोर्नु हुन्न भन्ने हाम्रो माग हो । हामी यसलाई फुटाउन दिँदैनौं ।’

उनका अनुसार किराती मुन्दुममा दक्षिणको विशाल तराईबाट कोसी नदीलाई पच्छ्याउँदै पुर्खाहरु पहाड लाग्दा खुवालुङ क्षेत्रमा पुगेपछि बाटो बन्द भयो । बाटो बन्द भएपछि पूजा अर्चना गरे । त्यसपछि बाटो खुल्यो र पुर्खाहरु पहाडतिर लागे । बाटो खोलिदिने खुवालुङमा किराती शक्ति रहेको थाह पाएर बर्सेनी भेला भएर पूजा गर्ने गरेको र अहिलेसम्म यसले निरन्तरता पाएको छ ।

राईले भने, ‘हाम्रो आस्था र विश्वासको केन्द्र खुवालुङ भएकाले जेटबोट चलाउन बाधा दियो झन्दैमा त्रेन लगाएर फोर्न पाइँदैन । अन्य विकल्पहरु खोज्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यस विषयमा प्रदेश १ का मुख्यमन्त्रीसँग पनि यायोक्खाको अनौपचारिक छलफल भएको छ । तत्कालका लागि खुवालुङ विवाद रोक्ने कुरा भएको छ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खुवालुङ विवाद अनावश्यक रुपमा निकालिएको बताए । उनले किराती मुन्दुम र संस्कृतिसँग जोडिएको खुवालुङको सम्बन्धमा विवादको विषय नै नभएको बेला केही फुर्सदिलाहरुले अनावश्यक विवाद झिकेको बताए । उनले प्रधानमन्त्री ओलीले खुवालुङलाई क्रेन लगाएर फुटाउनु पर्छ भनेर कतै नभनेको पनि दाबी गरे । अरुण, दुधकोसीमा चल्ने जेटबोटका लागि ‘अब्स्ट्याकल’ हरुलाई कसरी हटाउन सकिन्छ भनेरमात्र कुरा भएको पनि उनले बताए । उनले खुवालुङ फोर्नुपर्छ भनेर कतै कुनै निर्णय नभएको पनि बताए ।

उनले अरुण र दुधकोसीमा जेटबोट चलाउन खुवालुङ नफुटाई अन्य विकल्पमाथि पनि अध्ययन गरिरहेको बताए ।

प्रकाशित : चैत्र ६, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?