कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

माग पूरा नगरिएको भन्दै बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको ताला

सुनसरी — माग पूरा नगरिएको भन्दै चिकित्सकहरूले बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजको अगुवाइमा उनीहरूले अनिश्चितकालीन तालाबन्दी गरेको हो ।

माग पूरा नगरिएको भन्दै बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको ताला

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको, कोरोना उपचारमा संलग्न चिकित्सक नर्स र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको तथा प्रतिष्ठानकै हितमा गरिएका अन्य मागबारे पदाधिकारी चुपचाप बसेकाले तालाबन्दी गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष डा. विष्णु पोखरेलले भने, ‘हाम्रा माग नयाँ होइनन् । यसअघि पटकपटक ज्ञापनपत्र दिँदै आएका छौं । ती मागबारे सुनुवाइ नभएकाले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।’ प्रतिष्ठानको चिकित्सा कल्याण समाजमा २ सय ७० जना चिकित्सक आबद्ध छन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. गुरु खनालको कार्यकक्षमा एक साताअघि नै समाजले तालाबन्दी गरिसकेको छ । दुई साताअघि लगातार धर्ना बसेपछि गत माघ २६ गते समाज र प्रतिष्ठानका पदाधिकारीबीच वार्ता भएको थियो । वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएपछि ६ दिनको अल्टिमेटम दिएर पर्खिए पनि कुनै प्रगति नभएकाले तालाबन्दी गर्नुपरेको पोखरेलले बताए ।

उनका अनुसार समाजले विभागीय प्रमुखहरूको रोटेसन मिलाउनुपर्ने, शिक्षकहरुलाई उन्नत तालिम, रिसर्च तालिमको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानबाट निस्केको फोहोरमैलाको विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वैज्ञानिक व्यवस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने, आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमै खर्च गर्नुपर्ने, फ्याकल्टीहरूलाई आवास उपलव्ध गराउनुपर्नेलगायत माग पनि छन् ।

समाजका महासचिव डा. एसपी रिमालले माग सम्बोधन गर्न पदाधिकारीले आलटाल गरेको र सुस्तता देखिएकाले बुधबारदेखि थप कडा आन्दोलनमा उत्रनुपरेको बताए । उनले भने, ‘उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छौं । अब फेरि एक साता हेछौं । त्यसपछि पनि माग सम्बोधन नभए सम्पूर्ण अतिरिक्त जिम्मेवारीबाट सामूहिक राजीनामा दिनेछौं ।’

प्रतिष्ठानका उपकुलपति गिरीले भने माग चाँडै सम्बोधन गर्न चार दिनदेखि काठमाडौंमा मन्त्रालय र लोकसेवा आयोग धाइरहेको बताए । ‘उहाँहरूका माग जायज छन् । तर हतार गर्नुभयो । म प्रतिष्ठानकै काममा काठमाडौं आएको छु,’ उनले भने, ‘यो साताभित्र उहाँहरूको बढुवा प्रक्रिया अगाडि बढ्छ । बाँकी माग पनि सम्बोधन हुन्छ ।’

प्रकाशित : फाल्गुन ५, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×