कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडको सेवा बहिष्कार

मेडिकल अफिसर र जुनियर वेलफेयर सोसाइटीमा आबद्ध ३ सयभन्दा बढी चिकित्सक आन्दोलनमा

धरान — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसरहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । सरकारले तोकेको मापदण्डअनुसार आठौं तहको तलब सुविधा र कोभिड जोखिम भत्ता पाउनुपर्ने माग पूरा गर्न व्यवस्थापन पक्ष सहमत नभएपछि उनीहरूले बुधबारदेखि थप आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

कोभिडको सेवा बहिष्कार

ड्युटी छाडेर आन्दोलनरत मेडिकल अफिसर (हाउस अफिसर) र प्रतिष्ठानको व्यवस्थापन पक्षबीच मंगलबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । बिहानदेखि दुई चरणमा वार्ता भए पनि सहमति नजुटेको आन्दोलनरत डा. ममता मण्डलले बताइन् ।

उनका अनुसार प्रतिष्ठानको व्यवस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्न एक कार्यदल बनाउने र त्यसले तयार पारेको प्रतिवेदन आउँदो सिनेट बैठकमा पास गर्ने मौखिक आश्वासन मात्र दिएकाले वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

वार्ता भंग भएपछि प्रतिष्ठानको कोभिड अस्पतालदेखि बहिरंग सेवा, आकस्मिक तथा अन्य विभिन्न कक्षमा कार्यरत सबै मेडिकल अफिसरहरूले काम छाड्ने भएका छन् । प्रतिष्ठानमा कार्यरत मेडिकल अफिसरहरूले लामो समयदेखि आन्दोलन गरिराखे पनि माग पूरा गराउन प्रतिष्ठान सकारात्मक देखिएको छैन । ‘सात महिनाअघि पनि यसै विषयमा आन्दोलन हुँदा व्यवस्थापनले सिनेटमा लैजाने भनेर हस्ताक्षर गरेको पत्र दिएका थिए । तर त्यसपछि बसेको ४२ औं सिनेट बैठकमा एजेन्डा नै नराखेपछि फेरि आन्दोलित हुनुपरेको हो,’ डा. मण्डलले बताइन् ।

प्रतिष्ठानमा ३५ जना मेडिकल अफिसर कार्यरत छन् । आन्दोलित चिकित्सकहरूले प्रतिष्ठानले आफूहरूलाई सरकारी स्केल भन्दै ३४ हजार ५ सय रुपैयाँ मात्रै मासिक तलब दिँदै आएको गुनासो गरे । तर महाराजगन्जस्थित शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पतालगायतले ५५ हजारदेखि ६० हजार रुपैयाँसम्म तलब दिने गरेको उनीहरूको भनाइ छ ।

यसैबीच, कोभिड जोखिम भत्ता नदिएको भन्दै अग्रपंक्तिमा खटिएका जुनियर वेलफेयर सोसाइटीमा आबद्ध प्रतिष्ठानका ३ सय चिकित्सकहरूले समेत आन्दोलन जारी रहेको जनाएका छन् । सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले मेडिकल अफिसरहरूलाई वार्तामा बोलाए पनि आफूहरूलाई प्रतिष्ठानले वार्तामा समेत नबोलाएको गुनासो गरे । सरकारले कोभिड जोखिम भत्ताबापतको बजेट निकासा गरिसके पनि प्रतिष्ठानले नदिएपछि गत माघ १ देखि कोभिड अस्पतालको समेत सेवा बहिष्कार गर्दै आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ ।

‘प्रतिष्ठानले १० महिना बितिसक्दा पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिएको छैन । कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएसम्म काममा नफर्किने र प्रतिष्ठानको कोभिड अस्पतालमा नजाने निर्णय गरेका छौं,’ उनले भने ।

प्रकाशित : माघ ७, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?