‘आ–आफ्नै स्थानबाट पाथीभराको आराधना गरिदिनुहोस्’– प्रहरी
ताप्लेजुङ — नौरथको पहिलो दिन पाथीभरा मन्दिरमा पाँच सयको हाराहारिमा तिर्थयात्री पुगेपछि प्रहरीले मन्दिरमा भीड नगरिदिन र आ–आफ्नो स्थानबाट आराधना गरिदिन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार बिहान एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध साथै गृह मन्त्रालयको शक्तिपिठमा नित्य पूजाबाहेक भीडभाड नगर्न, नगराउन स्थानीय प्रशासनलाई दिएको निर्देशनका कारण मन्दिर नजान आग्रह गरेको हो ।
नौरथको समयमा धार्मिक स्थलमा अधिक तिर्थयात्री हुने र कोरोना संक्रमण बड्न सक्ने भएकाले ताप्लेजुङबासी र भक्तजनलाई आग्रह गर्दै प्रहरीले यस्तो सूचना निकालेको हो । सरकारले यातायात खोलेपछि पाथीभरा मन्दिरमा तिर्थयात्री आउने गरेका थिए । तिर्थयात्री दसैंको पहिलो दिन ह्वाक्तै बढेका हुन् । दोश्रो दिन आइतबार भने थोरैको संख्यामा मात्रै मन्दिर गएको पाथीभराका कर्मचारीले बताएका छन् । होटल व्यवसायीका अनुसार सोमबार र मंगलबारका लागि धेरैले होटल बुकिङ गराएका छन् ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न गाडीबाट ओर्लिएर उकालो पैदलयात्रा गर्नुुपर्ने र उच्च लेकाली क्षेत्रमा अक्सिजन लगाएर हिँड्न कठिन भएकाले पाथीभरामा सुरक्षाविधि जोखिमपूर्ण रहेको स्वास्थ्यकर्मी बताउँछन् । २६ सय मिटर उचाइको काफ्लेपाटीदेखि करिब ३८ सय मिटर उचाइको मन्दिरसम्म पाँच किलोमिटर उकालो हिँड्नुपर्छ ।
प्रकाशित : कार्तिक २, २०७७ ११:५३