पाथीभरामा एकै दिन ५ सय तीर्थयात्री

आनन्द गौतम

ताप्लेजुङ — काठमाडौं कीर्तिपुरका मनोज विश्वकर्मा शनिबार पाथीभरा दर्शन गरेर फर्किए । गत वर्ष पहिलो पटक परिवारसहित आएका उनी यस पटक भने एक्लै थिए । कोरोना महामारीका बीच सार्वजनिक यातायातबाट आएका उनले हातमा पन्जा र अनुहारमा मास्क भने लगाएका थिए । गोजीमा सेनिटाइजर बोकेका उनी घरीघरी त्यसलाई निकालेर प्रयोग गर्थे ।

पाथीभरामा एकै दिन ५ सय तीर्थयात्री

नुवाकोटका गणेश अधिकारी नेतृत्वको आठ जनाको टोलीले पनि शनिबारै पाथीभरा दर्शन गर्‍यो । एउटै गाडीमा आएका उनीहरूले पनि स्वास्थ्य मापदण्ड पालना गरेका थिए । तर उच्च लेकाली क्षेत्रको उकालो चढ्दै गर्दा मास्क लगाइरहन कठिन हुने भएकाले लगाउने भन्दा हातमा बोक्ने धरै देखिए । फेदीको उकालो चढ्दा एकले अर्कोलाई साथ दिनुपर्ने भएकाले सामाजिक दूरी पालना गराउन पनि सम्भव देखिएन ।

सरकारले धार्मिक स्थल खुला गर्ने निर्णय लिएको छैन । तर कोरोना संक्रमणको त्रासकै बीच पाथीभरा दर्शन भने खुला भएको छ । दसैंको पहिलो दिन शनिबार ४ सय ६६ जनाले पाथीभरा दर्शन गरेको माथिल्लो फेदी अस्थायी प्रहरी चौकीले जनाएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा दर्शनका लागि शुक्रबार माथिल्लो फेदी, काफ्लेपाटी लगायतका स्थानमा गएर बसेका र सदरमुकाम फुङलिङबाट गएकाहरूले मन्दिर दर्शन गरेर फर्किएका हुन् ।

आइतबार र त्यसपछिका लागि पनि तीर्थयात्री सम्पर्कमा रहेको र होटल बुक गराइरहेको पाथीभरा क्षेत्र विकास समितिका सदस्य तथा माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए । कोरोना संक्रमणका कारण गत चैतदेखि पाथीभरा ठप्पजस्तै थियो । आफ्नै व्यवस्थापनमा फाट्टफुट्टले भने बाटोमा बास नबसीकनै सरासर जाने र पूजा गरेर फर्कने गरेका थिए । दसैंको पहिलो दिन काठमाडौं, नुवाकोट, झापा, मोरङ, सुनसरीदेखिका तीर्थयात्री आएको भट्टराई बताउँछन् ।

माथिल्लो फेदीमा मात्रै शुक्रबार बेलुका २ सय ७५ को हाराहारीमा तीर्थयात्री बास बसेका थिए । एउटा खाटमा एक जनालाई मात्रै सुताउने, प्रत्येक दिन तन्ना र सिरकको खोल सफा गर्ने, मास्क, सेनिटाइजर अनिवार्य गर्ने जस्ता सुरक्षा विधि अपनाइएको होटल व्यवसायी राजेन्द्र महतले बताए । चैतदेखिको लकडाउनका कारण खाद्यान्न तथा पेय पदार्थको मिति गुज्रिँदा फाल्नुपरेकाले यो सिजनमा थोरै सामानको व्यवस्थापन गरिएको उनको भनाइ छ ।

देउरालीदेखि माथिल्ला फेदीसम्म ३८ वटा होटल तथा खाजाघर छन् । धर्मशालामा बस्नेका लागि कम्बल, राडीलगायत सामग्री पनि समितिले जोहो गरेको छ । मास्क नबोक्नेलाई आफूहरूले उपलब्ध गराएको माथिल्लो फेदी प्राथमिक उपचार केन्द्रका अहेब उमनाथ पौडेलले बताए । सदरमुकामबाट २० किमि दूरीमा रहेको काफ्लेपाटीसम्म अहिले राम्रो मोटर बाटो छ । सुकेटारसम्म ८ किलोमिटर कालोपत्रे सडक छ भने त्यहाँबाट उता कच्ची सडक । मन्दिर पुग्न काफ्लेपाटीबाट पाँच किलोमिटर हिँड्नुपर्छ ।

गत वर्षको तथ्यांकअनुसार पाथीभरामा कोजाग्रत पूर्णिमाका दिन करिब ११ हजारले दर्शन गरेका थिए । सबैभन्दा बढी चैते दसैंको समयमा एकैदिन १३ हजारले दर्शन गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिका सचिव लक्ष्मी काफ्लेले जानकारी दिए ।

प्रकाशित : कार्तिक २, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?