कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

लागूपदार्थ कारोबार दिनहुँ

साउनयता प्रदेश १ मा एक किलो ६५१ ग्राम ब्राउन सुगर बरामद

धरान — केही दिनअघि ब्राउन सुगर ओसारपसार र बिक्रीवितरणमा संलग्न भएको आरोपमा धरानबाट चार युवा पक्राउ परे । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू प्रयोगकर्ता र कारोबारी दुवै भएको खुलेको छ । उनीहरूले लागूपदार्थ दिने व्यक्तिको नाम बताए पनि ठेगाना बताउन नसकेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार कतिपयलाई लागूपदार्थ उपलब्ध गराउनेको नाम र ठेगानासँग खासै सरोकार हुन्न ।

एक साताअघि मात्र प्रहरीले धरानबाटै चार जनालाई खैरो हेरोइन बिक्रीवितरण गरेको आरोपमा पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूले आफूहरू श्रीमान्–श्रीमती भएको बताएका थिए । अनुसन्धानमा भने उनीहरू ‘पार्टनरसिप’ मा लागूपदार्थ ओसारपसार र बिक्रीवितरण गर्ने प्रेमी–प्रेमिका भएको पत्ता लाग्यो ।

यसअघि पनि प्रहरीले एकै दिन सात जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो । डीएसपी बस्नेतका अनुसार पछिल्लो समय पूर्वी नेपालका मुख्य सहर ब्राउन सुगरको ‘हटस्पट’ बन्दै गएका छन् । धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोडमा ब्राउन सुगर कारोबार बढेको हो । कलेज पढ्ने उमेरका युवादेखि ४५ वर्षसम्मका व्यक्ति ब्राउन सुगरको प्रयोग र कारोबारमा संलग्न रहेको प्रहरीको तथ्यांक छ ।

पूर्वमा पछिल्लो पाँच वर्षयता लागूपदार्थ प्रयोगकर्ताहरू ब्राउन सुगर सेवन गर्नेतर्फ आकर्षित भएको पाइएको छ । प्रहरीले दैनिक बरामद गरेका ब्राउन सुगरको मात्रा र पक्राउ परेकाहरूको तथ्यांकले यस्तो संकेत गरेको हो । प्रदेश १ प्रहरी कार्यालयका अनुसार गत कात्तिक दोस्रो सातादेखि हालसम्ममा ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा ५० मुद्दा दर्ता भएका छन् । उक्त अवधिमा ब्राउन सुगरको ओसारपसार र कारोबार गरेको आरोपमा प्रहरीले १ सय ६९ जनालाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले प्रदेश १ मा लागूपदार्थ कारोबारमा संलग्न २९ महिलासहित ७ सय ३८ जनालाई पक्राउ गरी कारबाही गरेको थियो । प्रदेश १ मा आत्महत्यापछि लागुऔषधको मुद्दा सबैभन्दा बढी दर्ता भएका छन् । प्रहरीका अनुसार चालु आवमा ब्राउन सुगरसहित ५ सय २० वटा मुद्दा लागूऔषध कारोबारसँग सम्बन्धित छन् ।

गत साउनयता प्रदेश १ मा मात्र प्रहरीले ब्राउन सुगर १ किलो ६५१ ग्राम ६८१ मिलिग्राम बरामद गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीले १ किलो ६६० ग्राम ८३७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो भने आव २०७५/७६ मा २ किलो ६२१ ग्राम ९१७ मिलिग्राम बरामद गरेको थियो । बजारमा ब्राउन सुगरको मूल्य यति नै भनेर नतोकिए पनि प्रतिकिलो ६ करोड रुपैयाँभन्दा बढी पर्ने बताइन्छ । कारोबारीहरूले ९ मिलिग्राम बराबर एक डोज बनाउने गरेका छन् ।

नेपालमा यसको उत्पादन, प्रशोधन नहुने भएकाले भारतीय कारोबारीले खुला नाकाको फाइदा लिँदै भित्र्याउने गरेका छन् । ‘अन्य लागूऔषध कारोबार गर्दा लुकाउन बढी मिहिनेत गर्नुपर्छ ।

डाइजेपाम, डाइजेल्याप, एभिल, फेनारगन, ल्युपिजेसिक, डाइलेक्सजस्ता लागूऔषधि ट्याब्लेट, क्याप्सुल, बोतलको सिसीमा हुने र त्यसलाई लुकाएर ल्याउँदा आकारमा ठूलो देखिने हुन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘तरसानो–सानो प्याकेट बनाएर जहाँ पनि लुकाएर ल्याउन र बिक्री गर्न सकिने भएकाले कारोबारीले ब्राउन सुगर रोजेको हुन सक्छ ।’

प्रकाशित : चैत्र १७, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?