कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किट सकिएपछि प्रदेश १ मा परीक्षण रोकियो

उदयपुर/बिर्तामोड — झापामा कोभिड–१९ का बिरामी बढिरहँदा परीक्षण किट अभाव भएको छ । किट नहुँदा संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

किट सकिएपछि प्रदेश १ मा परीक्षण रोकियो

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार अपराह्नसम्म झापामा कोभिड संक्रमितको संख्या ३५ पुगेको छ । सीमावर्ती कचनकवल गाउँपालिकामा मात्र ३३ जना संक्रमित छन् । दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा संक्रमण पुष्टि भएका दुई जना विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारपछि घर फर्किसकेका छन् ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार बुधबारसम्म जिल्लामा २ हजार ५० जनाको कोभिड परीक्षण गरिएको छ । तिनमा एक हजार ४ सयमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र ६ सय ५० जनाको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए । ‘अब केही थान मात्र किट छ । तत्काल किट प्राप्त नभए थप स्वाब नमुना संकलन गर्न सकिने अवस्था छैन,’ उनले भने ।

किट अभावमा क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य परीक्षण गर्न नपाएको गौरीगन्ज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

गौरीगन्ज–६ स्थित खजुरगाछी प्राथमिक स्वास्थ्य चौकीको भवनमा बनाइएको क्वारेन्टाइनमा ४० जनाभन्दा बढी छन् । चार दिनयता भारतबाट लुकीछिपी आउनेहरूको संख्या बढिरहेको मिश्रले बताए । ‘भारतको मुम्बई, दिल्ली, हरियाणाजस्ता संक्रमित क्षेत्रबाट दैनिक मानिस आइरहेका छन् । उनीहरूलाई क्वारेन्टाइनमा राखिरहेका छौं,’ मिश्रले भने, ‘भारतबाट आएकाहरूलाई तत्काल कोरोना परीक्षण गर्नुपर्ने हो । तर, किट अभावमा परीक्षण गर्न सकिरहेका छैनौं ।’

स्वाब नमुना संकलनका लागि गाउ“पालिकाले ५ सय थान भीटीएम खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । तर, सप्लायर्सले एक साताअघि भीटीएम उपलब्ध गराउन नसक्ने जनाएको मिश्रको भनाइ छ । अर्जुनधारा नगरपालिकाले पनि ५ सय थान भीटीएम खरिद गर्ने निर्णय गरेको छ ।

उदयपुरमा पनि परीक्षण प्रभावित

प्रदेश १ मा पहिलोपटक कोरोना संक्रमण देखिएको उदयपुरमा पनि पीसीआर परीक्षण लागि किट अभाव भएको छ । ५ दिनयता पीसीआर परीक्षणका लागि चाहिने भीटीएमको मौज्दात शून्यमा झरेको हो । भीटीएम नहुँदा तत्काल परीक्षण नगरी नहुने २ सय ५० भन्दा बढीको परीक्षण रोकिएको छ । त्रियुगा नगरपालिका–३ भुल्के र आसपास क्षेत्रमा परीक्षण हुन सकेको छैन । भीटीएम अभावमा परीक्षण कार्य रोकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

‘दुई दिनयता स्वास्थ्य कार्यालयमा भीटीएम किट शून्य छ,’ सुवेदीले भने, ‘स्वाब संकलन कार्य रोकिएको छ । ३ जेठदेखि भीटीएम सकिएको बारे माथिल्लो निकायलाई जानकारी गराइएको उनले बताए ।

माथिल्लो निकायले पठाउने आश्वासन दिए पनि अहिलेसम्म नआएको सुवेदीको भनाइ छ । पछिल्लो पटक कोरोना संक्रमित सञ्चारकर्मीको कन्ट्याक्ट टे«सिङका आधारमा ३८ जनाको नमुना संकलन गरिएसँगै भीटीएम सकिएको हो । प्रदेश सरकारले पठाएको ५ थान भीटीएम काम नलाग्ने भएपछि स्वाब संकलन रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?