कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रमण वर्षको बल्ल सुरसार

जिल्लामा पर्यटक आकर्षणका लागि थुप्रै स्थान र विशेषता भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी प्याकेज बनाइएको छैन

इलाम,धनकुटा — भ्रमण वर्ष सुरु हुन लागे पनि पूर्वमा मुख्य पर्यटकीय स्थलहरूमा खासै तयारी देखिएको छैन । पूर्वाधार निर्माण लगायत काम हुन नसक्दा भ्रमण वर्षको कार्यक्रम प्रभावित हुने हो कि भन्ने अनुमान गरिएको छ । केही स्थानमा बल्ल सरोकारवालाहरू पर्यटकको स्वागत गर्न जुर्मुराएका छन् ।

भ्रमण वर्षको बल्ल सुरसार

भ्रमण वर्षलाई दिगो पर्यटनसँग जोडेर उपलब्धिमूलक बनाउन सरोकारवालाले सुझाव दिएका छन् । प्रदेश १ सरकारले ५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखेको अवस्थामा सोही अनुपातमा इलाममा पनि पर्यटक भित्र्याउन ठोस पहल आवश्यक रहेको उनीहरूको भनाइ छ । पर्यटनसम्बन्धी विभिन्न क्रियाकलापलाई भ्रमण वर्ष लक्षित भनेर प्रचार गरिएको छ । तर, पर्यटक भित्र्याउने वास्तविक योजना नहुँदा भ्रमण वर्षले पनि यहाँको पर्यटनलाई उल्लेख्य टेवा दिन सक्नेमा आशंका देखिएको छ ।


पर्यटन विकासका लागि बहस सुरु भएको लामो समय बित्दा पनि जीविकोपार्जनमुखी पर्यटन गतिविधि हुन नसकेको गुनासो आइरहँदा भ्रमण वर्षले त्यसलाई सम्बोधन गर्ने अपेक्षा छ । तर, यहाँका पर्यटन गतिविधिबीच एकआपसमा तालमेल नहुनाले ठोस उपलब्धि हासिल नभएको धेरैको बुझाइ छ । ‘राज्यदेखि निजी क्षेत्रसम्मले पर्यटनमैत्री व्यवहार सिक्न आवश्यक छ,’ खोजकर्ता युद्ध वैद्यले भने, ‘अथाहा सम्भावना भए पनि पर्यटक आर्कषण गर्न नसक्नुले हाम्रो काम गराइमा त्रुटि देखाउँछ ।’


पूर्वमा पर्यटक आकर्षणका लागि थुप्रै स्थान भए पनि भ्रमण वर्षलाई लक्षित गरी प्याकेज बनाइएको छैन, जसका कारण अझै पनि पर्यटकलाई इलाम गएर कहाँ घुम्ने भन्ने अन्योल छ । यहाँको पर्यटन गतिविधि नफस्टाउनुमा होटल व्यवस्थापन र यातायात व्यवस्थाले पनि दोष पाउने गरेको छ ।


‘सम्बन्धित निकायबीच पर्याप्त सहकार्यको अभाव छ,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भने, ‘पर्यटक पहिलो पटक ठोकिने होटल र यातायात भएकाले यसलाई जिम्मेवार बनाउन सबैको सहयोग चाहिन्छ ।’

रोङ गाउँपालिकास्थित पर्यटन सूचना केन्द्रको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा इलाम घुम्न आउने पर्यटक १ लाख ३४ हजार थिए । त्यसमध्ये ५ सय मात्र विदेशी पर्यटक रहेको केन्द्रका सूचना अधिकारी गगन घिमिरेको भनाइ छ । भ्रमण वर्षमा सरकारले लक्षित गरे बमोजिमका कति पर्यटक इलाम भित्र्याउने भन्ने यकिन हुन सकेको छैन ।


सबै स्थानीय तहले साझारुपमा भ्रमण वर्षलाई सफल बनाउन सक्रिय हुनुपर्ने, होटल र यातायात व्यवस्थालाई चुस्त बनाउनु पर्ने, अर्गानिक कृषि परिकारको स्वाद चखाउनु पर्ने, यहाँको रैथाने संस्कृतिलाई प्रवर्द्धन र प्रचार गरिनु पर्ने, सुरक्षा व्यवस्थालाई बलियो बनाउनु पर्ने र धेरै पर्यटक आउने पोखरा, काठमाडौं, लुम्बिनीलगायत स्थानमा इलामको महत्व झल्काउने प्रचार सामग्रीसहित डेस्क स्थापना गर्नुपर्ने लगायतका सुझाव सरोकारवालाले दिएका छन् । ‘जिल्ला तहमा बनेको कार्यतालिका गाउँपालिकाले पनि कार्यान्वयन गर्नेछ,’ माङसेवुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने ।


दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, चियाले भरिएको कन्याम, हिमाल दृश्यावलोकनका लागि अब्बल सन्दकपुर, मुलुकमै पहिलोपटक चिया खेती भएको इलामलगायत प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक महत्वका थुप्रै स्थान इलाममा छन् । तर, व्यवस्थित पर्यटन विकासको अवधारणा नहुँदा वर्षौंदेखि यहाँको पर्यटन प्रचार केन्द्रित बन्दै आएको छ । सडकसहितका पूर्वाधार अभाव, व्यावसायिक टुर प्याकेजको अभाव जस्ता कारणले पनि पर्यटन गतिविधि खास फस्टाउन सकेको छैन । राजनीतिकरुपमा पनि पर्यटकीय क्षेत्रलाई भेदभाव हुने गरेको गुनासो छ ।


धनकुटा–१ को ओक्मालुङस्थित सात तले गुफा । तस्बिर: रमेशचन्द्र/कान्तिपुर


‘भ्रमण वर्षलाई अवसरको रुपमा लिएर पर्यटन गतिविधि बढाउँदै आयआर्जनको प्रमुख माध्यम बनाउने खालका गतिविधि हुनेछन्,’ भ्रमण वर्ष मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले भने, ‘यसका लागि सबै पक्ष जिम्मेवार भएर तयारीमा जुटेका छौं ।’ भ्रमण वर्षको पहिलो दिन रोङस्थित पाथिभरा मन्दिरसम्मको ३ किलोमिटर पदयात्रा सहित विभिन्न कार्यक्रमको आयोजना गरी औपचारिक सुरुवात गर्ने समितिको कार्यक्रम छ ।


सामान्य तयारी

धनकुटामा पर्यटक आकर्षणका लागि भ्रमण वर्ष आउने बेलामा बल्ल सुरसार थालिएको छ । भेडेटार, हिले, पाख्रिबास, नाम्जे, राजारानी लगायत स्थानमा भ्रमण वर्षलाई लक्षित गतिविधि सुरु भएको पर्यटन व्यवसायी विष्णुराज श्रेष्ठले बताए । ‘अधिकतम पर्यटक भित्र्याउने लक्ष्यका साथ योजनाबद्ध रुपमा जुटेका छौं,’ उनले भने । भेडेटार क्षेत्रमा सदावहार पर्यटक भित्रिने गरे पनि अझै धेरै भित्र्याउन विशेष तयारी रहेको उनको दाबी छ ।


होटल एसोसिएसन भेडेटारको अगुवाइमा पर्यटक आकर्षणका थप अभियान थालिएको संस्थाका निवर्तमान अध्यक्ष लीलाराज लावतीले बताए । भ्रमण वर्षमा भेडेटार भएर समग्र जिल्लामा ५ लाख बढी पर्यटक भित्र्याइने लक्ष्य रहेको उनले बताए । भेडेटारमा सांस्कृतिक संस्था खोलिएको छ, जसमा विभिन्न सात जातजातिको भेषभूषा र गहना समावेश गरिएको छ ।


भेडेटार पुग्ने पर्यटकले ती पहिरन र गहना लगाएर तस्बिर खिच्ने व्यवस्था गरिएको छ । धरान उपमहानगरको सहयोगमा संस्था खोलिएको लावतीले बताए । पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले पर्यटन वर्षमा अधिकतम पर्यटक भित्र्याउन जुटेको बताए । ‘पर्यटकको आकर्षण बोकेका स्थानमा सरसफाइदेखि बासस्थानमा जोड दिएका छौं,’ उनले भने । पर्यटकीयस्थल नाम्जेमा पनि तयारी थालिएको छ । होमस्टे एसोसिएसन नाम्जेका अध्यक्ष तथा केन्द्रीय सदस्य अनिलकुमार रानाका अनुसार पर्यटन वर्षमा नाम्जेमा कम्तीमा ५ लाख भित्र्याउने योजना छ ।


भेडेटारमा महोत्सव

भेडेटारमा आगामी साता पुस १६ देखि १८ गतेसम्म स्थानीय जातजातिको मौलिक संस्कृति, परिकार लगायत झाकी समावेश गरिएको महोत्सव आयोजना हुने भएको छ । भेडेटारमा माउण्टेन फ्लाइट तथा हेलिकप्टरबाटै पाथिभरा दर्शन गर्ने व्यवस्था, प्याराग्लाइडिङ र हाइकिङ लगायत गतिविधिको तयारी थालिएको छ । यसैगरी, साँगुरीगढी गाउँपालिका ६ काम्फेकको खर्कडाँडामा जीफ फ्लाइङ सुरु गरिएको सञ्चालन समितिका संयोजक आशिष राईले जनाए ।


सात तले गुफाको चर्चा

सय मिटर उचाइको अजंगको ढुंगाभित्र रहेको सात तले गुफाको चर्चाले पर्यटकको आकर्षण बढेको छ । धनकुटा नगरपालिका–१ को ओक्मालुङको जंगलमा रहेको अनौठो गुफा स्थानीय केही युवाले फेला पारेका थिए । लुङ्धाङ सामुदायिक वनभित्र रहेको उक्त गुफा करिब एक सय मिटर लामो रहेको छ । गुफा प्रवेश गर्ने साँघुरो ठाउँ पार गरेर भित्र पुग्दा फराकिलो भाग देख्न सकिन्छ ।


स्थानीयले लुङ्धाङ गुफा पर्यटन विकास समिति नामको संस्था गठन गरेर अनुसन्धान र पूर्वाधारको काम थालेका छन् । स्थानीय राई भाषामा लुङ्धाङको अर्थ प्वाल परेको ढुंगा हुने छाराहाङले बताए । प्रवेशद्वारबाट करिब १६ मिनेटमा दक्षिणी द्वारबाट बाहिरिन सकिन्छ । करिब सय मिटर लम्बाइ रहेको गुफाभित्र विभिन्न तला र ढुंगामा देखिने प्राकृतिक दृश्य नियाल्न सकिने गुफा पर्यटन विकास समितिका अध्यक्ष शुक्रबहादुर राईले जनाए ।


धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ परेवादिन चुम्लुङ चोकमा स्थानीय दुई युवा प्रेम लिम्बू र हेम लिम्बूले पर्यटक आकर्षण गर्न ट्रि हाउस समेत खोलेका छन् । वरको रुखमा बनाएको अनौठो घरले यतिबेला पर्यटकको ध्यान तानेको छ । सहिदभूमि गाउँपालिकास्थित त्रिवेणी गाउँमा होमस्टे सञ्चालन गरिएको छ ।

प्रकाशित : पुस ८, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?