१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बाटैभरि पार्किङ, बसपार्क रित्तै

डम्बरसिं राई

(खोटाङ) — पहाडी साँघुरा सडक । त्यसैमा बस अड्याइँदा अरू सवारी आउजाउमा गाह्रो पर्छ । दुईवटा बसपार्क हुँदा पनि खोटाङमा गाडी भने सडक किनारामै पार्किङ हुने गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक केन्द्र दिक्तेलमा यस्तो भइरहेको हो ।

बाटैभरि पार्किङ, बसपार्क रित्तै

वडा १ को आचार्यगाउँ र २ को सोल्मा डाडाँगाउँमा बसपार्क छन् । नगरपालिकाले पटक–पटक बसपार्कमा गाडी लैजान अनुरोध गर्दा समेत चालक र व्यवसायीले अटेर गर्ने गरेका छन् । ‘नगरपालिकाले अनुरोध गरे पनि मानेका छैनन्,’ नगरपालिकाका राजनीतिक सल्लाहकार कमल ढकालले भन्छन्, ‘ट्राफिक प्रहरीले पनि कडाइ गर्नुपर्ने हो । हेलचेक्र्याइँ भएको छ ।’ दिक्तेल आसपासका सडक किनारमा बस पार्किङ गरेपछि बटुवालाई आउजाउ गर्नै गाह्रो छ । दिक्तेलबाट लामो दूरीमा काठमाडौं, विराटनगर, धरान र काँकडभिट्टाका लागि बस चल्छन् । छोटो दुरीमा पनि १० वटै स्थानीय तहमा सडक पुगेपछि गाडी चल्न थालेका छन् । हिक्तेलमा बसहरूको टिकट काउन्टर इञ्चार्ज धनिराम राइका अनुसार सयवटा हाराहारी बस छन् । ‘बसपार्क भए पनि अपायक भएकाले बाटैमा गाडी राख्नुपर्छ,’ उनले भने, ‘बसपार्कमा न सुरक्षाको व्यवस्था छ न त खानपान सजिलो ।’ बाटामा गाडी राख्दा यात्रु सजिलै पाइने उनले बताए ।

प्रहरीले हटाउन प्रयास गरे पनि स्थानीय तहको सक्रियता नभएकाले असजिलो रहेको डीएसपी वामदेव गौतमले बताए । नगरपालिकाले नै पार्किङको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । ‘स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्नु पर्‍यो,’ उनले भने, ‘सबै अधिकार छ भन्ने अनि काम गर्न चाहिँ हिच्किचाउने ? उहाँहरूले गरेको प्रयासमा सघाउने काम हामीले गर्ने हो ।’ जनप्रतिनिधिकै अग्रसरता नहुँदा बस व्यवसायीले प्रहरीलाई नटेर्ने उनले बताए ।

आचार्यगाउँ र डाँडागाउँ बसपार्कका लागि स्थानीयले निःशुल्क जग्गा दिएका हुन् । बसपार्कको उपयोग नभएको प्रति जग्गादाताहरूले गुनासो गरेका छन् । ‘गाउँको विकास हुन्छ भनेर जग्गा दियौं तर बेकार भएछ,’ जग्गादाता देवीप्रसाद आचार्यले भने । ठूलो लगानीमा बसपार्क निर्माण भए पनि उपयोग नहुनु दुःखदायी विषय भएको डाँडागाउँ बसपार्कका जग्गादाता सूर्यबहादुर राईले बताए ।

त्यसो त आचार्यगाउँस्थित बसपार्क गुणस्तरहीन बनेको स्थानीयले गुनासो गरेका छन् । उक्त बसपार्कमा झण्डै दुई करोड हाराहारीमा बजेट खर्च भइसकेको छ । सहरी विकास तथा नगरपालिकाको गरी झन्डै दुई करोड हाराहारीमा खर्च भएको बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम आचार्यले बताए ।

यो वर्ष सहरी विकास तथा भवन कार्यालय मार्फत प्रदेश सरकारको ५० लाख रुपैयाँको योजना सञ्चालन भएको छ । यसले ९१ मिटर टेवा पर्खाल, ढल एक सय ५०, आठ मिटर चौडाई भएको दुई वटा खोल्सीमा पुल, दुई सय मिटरको गार्डेन, एउटा खानेपानीको कुवा मर्मत लगायतको काम गर्ने पर्ने अध्यक्ष आचार्यले बताए । उक्त बजेटमध्ये तीस प्रतिशत जनश्रमदानबाट काम गर्नुपर्ने र जनश्रमदान नजुटेकाले समस्या भएको आचार्यले सुनाए ।

निर्माणाधीन काम गुणस्तरहीन बनेको स्थानीयको गुनासो छ । कमसल बालुवा, सिमेन्टको मात्रा कम र प्राविधिकविहीन काम भएकाले गुणस्तरहीन भएको स्थानीय राधिका आचार्यले बताइन् । बनाइएका मेसिनरी ढल तथा टेवा पर्खाल पनि क्युरिङ नगरिएकाले झन् गुणस्तर नभएको आचार्यले सुनाइन् । ‘बसपार्कको काम गुणस्तरहीन भएपछि नगरपालिका, प्रमुख जिल्ला अधिकारी र अख्तियारमा उजुरी गरे पनि बेवास्ता गरिएको छ ।’ आचार्यले भनिन्, ‘यत्तिको सम्बन्धित निकायले समेत बेवास्ता गरेपछि हामीजस्तो सचेत नागरिक पनि निमुखाजस्तै हुने रैछ ।’

त्यसो त यो बसपार्क निर्माणका लागि पाँचवटा उपभोक्ता समिति बनिसकेको छ । सुरुको चोटी दुर्गाप्रसाद घिमिरेको अध्यक्षतामा बनेको उपभोक्ता समितिले बसपार्क सम्याएको थियो । दोस्रोचोटि प्रेमप्रसाद आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले शौचालय, यात्रु प्रतीक्षालय र केही भाग सोलिङ गरेको थियो ।

त्यसपछि तेस्रोपटक परशुराम आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले पनि सोलिङ नै गरेको थियो । चौथोपटक गत वर्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा बनेको उपभोक्ता समितिले जाली र सोलिङ भरेको थियो । गत वर्ष सहरी विकासकै ३० लाख बजेटले उक्त काम भएको हो । आचार्यगाउँको बसपार्कका लागि स्थानीयले सितैं जग्गा दिएका हुन् । स्थानीय परशुराम आचार्यले चार रोपनी, अभिनारायण आचार्यले तीन रोपनी, गणेश आचार्यले तीन रोपनी, पर्शुराम आचार्यले दुई रोपनी, देवीप्रसाद आचार्यले डेढ रोपनी, गोमा विश्वकर्माले आधा रोपनी, भवनाथ आचार्यले आधा रोपनीलगायत गरी १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

प्रकाशित : माघ २, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?