२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिए पनि शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै छैन । 
अर्जुन राजवंशी

(बिर्तामोड) — आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् ।

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत विद्यालयका विद्यार्थी कम्प्युटर खोल्न र बन्द गर्नबाहेक केही जान्दैनन् । यहाँ कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन् । विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने कम्प्युटर पनि छैन । कार्यालय प्रयोजनका लागि नगरपालिकाले गत भदौमा दिएको एक थान कम्प्युटरमा मौका पारेर सिकाउने गरिएको प्रधानाध्यापक नारद प्याकुरेलले जानकारी दिए ।


झापाका अधिकांश सामुदायिक विद्यालयले ‘स्थानीय विषय’का रूपमा कक्षा ३ देखि नै कम्प्युटर पढाइरहेका छन् । प्राविधिक ज्ञानसहितको शिक्षा दिने उद्देश्यले सुरु गरिएको पढाइको अवस्था भने बेहाल छ । माविमा कम्प्युटर पढाइ ठीकठीकै भए पनि प्राथमिक र आधारभूत विद्यालयमा दयनीय छ । सय पूर्णांकको विषय पढाउन कुनै पनि विद्यालयमा विषयगत शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटरसमेत छैन ।


‘विषयगत शिक्षकको दरबन्दी छैन । लेखा कर्मचारीमार्फत विद्यार्थीलाई कम्प्युटर सिकाइरहेका छौं,’ भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा माविका प्रधानाध्यापक भक्त भट्टराईले भने । कम्प्युटर नै नसिकेका शिक्षकले उक्त विषय पढाइरहेका छन् । ‘हामीलाई नै कम्प्युटर चलाउन आउँदैन । विद्यार्थीलाई कसरी सिकाउनु ?,’ महेशपुर आधारभूत विद्यालयका प्रधानाध्यापक प्याकुरेलले भने, ‘विद्यालयमा भएका शिक्षकलाई कम्प्युटर खोल्न र बन्द गर्न मात्र आउँछ । विद्यार्थीलाई पनि त्यति मात्र सिकाएका छौं ।’ विषयगत ज्ञान नभए पनि पाठ्यपुस्तक पढाउनैपर्ने बाध्यता रहेको शिक्षक कुल्दीपकुमारसिंह राजवंशीले बताए ।


प्रयोगविहीन छन् कम्प्युटर

भद्रपुर–१ स्थित दीपक प्राथमिक विद्यालयमा तीनवटा नयाँ र एउटा पुरानो गरी चार कम्प्युटर छन् । तर सिकाउने शिक्षक छैनन् । बालशिक्षिका सविता पोखरेललाई कम्प्युटरको सामान्य ज्ञान छ । तर उनी पनि अहिले सुत्केरी बिदामा छिन् । त्यसैले कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर छोपेर राखिएका छन् । वडा नं. २ मा सिंहदेवी आधारभूत विद्यालय छ । ४ र ५ कक्षाका विद्यार्थीलाई कम्प्युटर विषय पढाउने गरेको प्रधानाध्यापक घनश्याम खनालले बताए ।

कार्यालय प्रयोजनका लागि नगरपालिकाले विद्यालयलाई एउटा कम्प्युटर दिएको छ । त्यसैमा कहिलेकाहीं विद्यार्थीलाई सिकाउने गरिएको खनालले बताए । भद्रपुर नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा कम्तीमा एउटा कम्प्युटर वितरण गरेको नगरपालिका शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । ‘तर विषयगत शिक्षक नहुँदा ती प्रयोगविहीन बनेका छन्,’ उनले भने ।


बाह्रदशी गाउँपालिका–१ भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयमा एउटा ल्यापटप र ३० वटा कम्प्युटर छन् । तर शिक्षक नहुँदा विद्यार्थीले प्रयोगात्मक ज्ञान लिन पाएका छैनन् । विद्यालयले वडा कार्यालय, गाउँपालिका कार्यालय तथा प्रदेश सरकारको आईसीटी कार्यक्रमअन्तर्गत ल्यापटप र कम्प्युटर पाएको हो । ती सबै ताल्चा लगाएर दुइटा कोठामा बन्द गरिएका छन् । कम्प्युटर पढाउन गाउँपालिकाले घुम्ती शिक्षक खोजेको छ । ती शिक्षक कहिले साता त कहिले १५ दिनमा एकपटक आउने गरेको प्रधानाध्यापक रामबहादुर बुढाथोकीले बताए ।'


हचुवाको भरमा पढाइ

स्थानीय विषय भएकाले कम्प्युटरको स्थायी दरबन्दी छैन । नगर/गाउँपालिकाले पर्याप्त अध्ययनबिनै पढाइ सुरु गराए । कति कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर पढाउँदा उचित हुन्छ भन्ने कुनै अध्ययन छैन । आवश्यक जनशक्तिको लेखाजोखा पनि छैन ।


यसै कारण कतिपय पालिकाले अब उक्त विषय हटाउने तयारी थालेका छन् । कनकाई नगरपालिकाभित्रका विद्यालयबाट कम्प्युटर विषय हटाउन छलफल भइरहेको शिक्षा शाखाका मेदनी पाठकले बताए ।

‘प्राविधिक पढाइ हो भने कम्प्युटर विषय लागू गरौं तर विषयगत शिक्षक नहुँदा गुणस्तरीय शिक्षा दिन गाह्रो भइरहेको छ,’ उनले भने ।


सबै विद्यालयमा कम्प्युटर शिक्षक नियुक्त गर्न गाउँपालिकाको आर्थिक हैसियत नरहेको बाह्रदशीका शिक्षा शाखाप्रमुख ज्ञानबहादुर पौडेलले बताए । ‘कम्प्युटर पढाउनकै लागि तीन जना घुम्ती शिक्षक नियुक्त गरेका छौं । उनीहरूलाई सबै विद्यालय पुगेर नियमित पढाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘स्कुलपिच्छे शिक्षक राख्न गाउँपालिकाले सक्ने अवस्था छैन ।’ मावि तहमा अंग्रेजी, गणित र विज्ञान पढाउने शिक्षककै कमी रहेकोमा कम्प्युटर शिक्षक नियुक्त गर्न सक्ने अवस्था नरहेको उनले बताए ।


बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कम्प्युटर शिक्षा प्रदान गर्न गाह्रो रहेको बताए । उनले कम्प्युटरको माध्यमबाट शिक्षा प्रदान गर्नुपर्नेमा कम्प्युटर विषय नै पढाउन थाल्नु गलत भएको तर्क गरे ।

शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत भोलानाथ दाहालले कम्प्युटर विषयकै लागि छुट्टै दरबन्दी कायम गर्न असम्भव रहेको बताए । स्थानीय विषयअन्तर्गत कम्प्युटर पढाइ हुने भएकाले पालिकाहरूले पर्याप्त अध्ययन–अनुसन्धान गरेर लागू गर्नुपर्नेमा उनले जोड दिए । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले शिक्षक अभावमा कम्प्युटर पढाइ प्रभावित भइरहेकोप्रति आफूहरू गम्भीर रहेको बताए ।


‘विद्यार्थीलाई प्राविधिक शिक्षा जरुरी छ । त्यसैले हामीले कम्प्युटर विषय लागू गरेका हौं,’ उनले भने, ‘कम्प्युटर पनि वितरण गरेका छौं । तर, विद्यार्थीले अझै कम्प्युटर सिक्न नपाइरहेको रिपोर्टिङ आइरहेका छन् ।’ उनले विषयगत शिक्षक नियुक्त गर्न नगरपालिका मात्रले सम्भव नरहेकाले प्रदेश तथा संघीय सरकारले पनि चासो दिनुपर्ने बताए ।

प्रकाशित : माघ ३, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?