कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जनताका खास नेता

‘श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँदैन, मोहीको राजनीति तल्सिङले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन’ भन्थे रूपचन्द्र विष्ट (थाहा) ।
‘गरिबी थाहा पाउन गरिबसँग प्रेम गर्नुपर्छ’ भन्थे  विष्ट। तर आज अवस्था त्यस्तो छैन, नेताहरू दुर्गम बस्तीमा पुग्दैनन् । पुगे पनि सुविधासम्पन्न होटल वा कुनै कार्यकर्ताकहाँ बस्छन् ।

मकवानपुरको अतिदुर्गम राक्सिराङ गाउँपालिका–४ चैनपुरमा २०४२ सालमा रूपचन्द्र विष्ट (थाहा) ले एउटा सभा आयोजना गरे । सभामा उपस्थित भीडलाई नमस्ते गर्दै एक जनालाई अगाडि बोलाए । चारऔंले लगौंटी मात्र लगाएका, जाबी झोला भिरेका एक पुरुष संकोच मान्दै उनी अघिल्तिर पुगे । जब विष्टले उनलाई सभापतित्व गराए, त्यसबेला उनी आत्तिएजस्ता देखिएका थिए ।

जनताका खास नेता

करिब साढे एक घण्टा सञ्चालन भएको सभा सकियो भनेर उनैले विसर्जन गरे । उनी थिए— मैते चेपाङ । त्यही दिनपछि उनी गाउँको थाहा अभियानका प्रचारक मात्र बनेनन्, अन्याय र अत्याचारविरुद्ध बोल्न थाले । चेपाङ अहिले जीवित छैनन्, तर उक्त क्षेत्रका चेपाङमा जागरण भर्न उनले पुर्‍याएको योगदानको अझै पनि चर्चा हुने गर्छ । विष्ट २०३८ सालको चुनावमा गाउँ घुम्ने क्रममा साबिक सरिखेत गाविसको भावरमा पुगेका थिए । त्यहाँ एक तामाङनी दिदीलाई मल बोक्न सघाए । दिदीले मकै भुटेर खुवाइन्, उनले २० डोका मल बोके । विष्टले त्यतिबेला भावरमा जम्मा भएका स्थानीयलाई भनेका थिए, ‘उनले मलाई मकै भुटेर खुवाइन्, मैले मल बोकिदिएँ बराबरी भयो ।’ जनप्रतिनिधि भएर विष्टले जनतासँग गरेका सद्व्यवहारका यी केही प्रतिनिधि घटना हुन् ।

मकवानपुरका चेपाङ बस्तीका अगुवाको मनमा विष्टको सम्झना ताजै छ । नयाँ मान्छे भेटेपछि उनीहरू विष्टको कुरा गर्छन्, उनीबाट अत्यन्त प्रभावित भएको सुनाउँछन् । संविधानसभा सदस्यसमेत बनेका गोविन्दराम चेपाङका भाषामा ‘लोभ, पाप नभएको र फटाहा कुरा नगर्ने हक्की नेता हुन् विष्ट’ । उनी विष्टबाटै प्रशिक्षित हुन् । चेपाङ गाउँ घुम्दा विष्ट बस्तीको सबैभन्दा गरिबकहाँ बस्थे । ‘गरिबी थाहा पाउन गरिबसँग प्रेम गर्नुपर्छ’ भन्थे । तर आज अवस्था त्यस्तो छैन, नेताहरू दुर्गम बस्तीमा पुग्दैनन् । पुगे पनि सुविधासम्पन्न होटल वा कुनै कार्यकर्ताकहाँ बस्छन् । हेटौंडाका बुद्धिजीवी देवप्रसाद श्रेष्ठका विचारमा उनी कथनी र करनी एउटै भएका व्यक्ति हुन् । उनी जे बोल्थे, त्यही गर्थे । यस क्षेत्रका बासिन्दालाई विष्ट जस्तो उम्दा नेता कोही पनि लाग्दैन । उनलाई चिनेका, सुनेका, पढेका र सँगै हिँडेकाहरूले उनीजस्तो आमूल परिवर्तनकारी नेता अहिलेसम्म मुलुकले पाउन नसकेको बताउँछन् । विचार, चिन्तन र कार्यशैलीका आधारमा विष्ट मुलुकलाई नयाँ सन्देश दिन सफल भएका थिए । आफ्नो जिल्लामा उनले विचारलाई खरो रूपमा व्यवहारमा उतारेका थिए ।

विष्टकै चिन्तन र सोचको विकसित रूप हो, अहिलेको थाहा नगरपालिका । यहाँका बासिन्दालाई उनी विचारले खँदिलो, शारीरिक रूपमा स्वस्थ मात्र होइन, आर्थिक तथा शैक्षिक रूपले सबल बनाउन चाहन्थे । यस क्षेत्रमा तास–जुवा खेल्नेलाई कठोर सजाय दिन्थे । विष्ट आएपछि जुवाडेहरूको भागभाग हुन्थ्यो । गाउँका जाली फटाहा र समाज विरोधीहरू उनका सामु एकछिन टिक्न सक्दैनथे । उनी अन्याय र अत्याचारका विरुद्ध जीवनपर्यन्त जुधिरहेका योद्धामात्र होइनन्, सामाजिक परिवर्तनका संवाहक पनि हुन् । उनका सहयात्री अक्कलबहादुर केसी विष्टलाई ‘अर्गानिक नेता’ भन्न रुचाउँछन् ।

निर्वाचनमा पर्चा बिक्री गर्ने, पोस्टर ननिकाल्ने र जनताकै बलमा चुनाव लड्ने गरेको उनी स्मरण गर्छन् । सिद्धान्तलाई जनताको बोली, व्यवहार, विचारको कसीमा तौलेर जनहितका खातिर क्रान्तिको आगोमा जल्नेहरू विरलै जन्मिन्छन् । केही यस्ता महान् हुन्छन्, ती व्यक्तिको इतिहास षड्यन्त्रस्वरूप वा आफैं पनि मेटिन सक्दैन । त्यस्तै, एक क्रान्तिकारी युगपुरुष हुन् विष्ट । विष्टको निधन भएको साढे दुई दशक पुग्यो । २०५६ असार ७ गते काठमाडौंको वीर अस्पतालमा उनको निधन भएको थियो । उनकै स्मरणमा साबिक ६ वटा गाविस मिलाएर थाहा नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाले उनको जन्मजयन्तीका अवसरमा असार ७ मा सार्वजनिक बिदा दिएको छ ।

भोका, नांगा र समाजमा दबाइएकालाई जागृत गराउन मकवानपुरवासीका घरघर पुगेर आफ्ना लागि आफैं उठ्नुपर्ने सन्देश भर्दै हिँड्ने विष्ट सबैको सम्झनामा छन् । उनले छरेका चेतनाका बीउ अहिले मौलाइरहेका छन् । यो परिवर्तित अवस्थामा सिंगो मुलुक अर्को रूपचन्द्र विष्टको प्रतीक्षामा छ । शारीरिक रूपमा बलिष्ठ हातपाखुरा र अग्लो कदका उनी इमान र निष्ठामा उत्तिकै बलिया थिए । उनका आदर्श, जीवनशैली र व्यवहार अहिलेका किशोरकिशोरी र युवालाई मिथक जस्तो लाग्न सक्छ । किनकि नेता र समाजका अगुवा पनि यस्ता हुन्छन् र भन्ने उनीहरूको दिमागमा छ । श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रोको राजनीति दरबारले गरेर हुँदैन, मोहीको राजनीति तल्सिङले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन’ भन्थे उनी । मार्क्सवादका शब्दहरूलाई जनबोलीमा उतारेर गाउँलेलाई बुझाउँदै हिँड्थे । ‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा’ भन्ने अवधारणा बोकेका विष्टले जनताका शत्रुहरूसँग कहिल्यै शिर निहुर्‍याएनन् । पैसा, पद र जातलाई मरिहत्ते गर्नेहरूको विरुद्धमा उनी कटाक्ष गर्दै भन्थे, ‘पैसाबाट सत्यता, पदबाट इन्साफ र जातबाट जनहित हुँदैन ।’

तीसको दशकको सुरुमा उनले चलाएको ‘थाहा’ आन्दोलनको मुख्य सार नै थियो— निष्पक्ष सक्रियताको अभ्यास । निष्पक्ष भएपछि सक्रिय रहन कठिन रहने उनको तर्क थियो । पक्ष भएर काम गर्न सजिलो र सरल हुन्छ तर त्यसले विवेक गुमाउँछ भन्थे उनी । कुनै दलसँग आबद्ध नरहेका विष्ट आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष ढंगले व्यवहार गर्थे । सबैसँग एकनासको व्यवहार गर्ने उनी राजनीतिज्ञभन्दा पनि दार्शनिक, चिन्तक र समाज सुधारक हुन् । उनले सार्वजनिक गरेका पर्चा यसकै उदाहरण हुन् । २०३८ र ०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका उनले निर्वाचनमा पर्चा बिक्री गरेका थिए । मकवानपुरको माटोलाई प्रगतिशील राजनीतिको उर्वराभूमि बनाउने र निष्ठाको राजनीति गर्ने विष्टप्रति २०४६ सालको आन्दोलनकारी शक्तिहरूले न्याय गर्न सकेनन् । जसले गर्दा उनको जागरण अभियानमा ठेस पुग्यो ।

तत्कालीन शिखरकोट गाविसको घर्तीखोला (हालः थाहा नगरपालिका–३) मा १९९० पुस २६ गते जन्मेका विष्टले समाज सुधारको अभियान दामन–पालुङबाट प्रारम्भ गरेका हुन् । उनको विचार, चिन्तन र आदर्श व्यवहारलाई कुनै पनि राजनीतिक दर्शनको घेरामा कैद गर्नु हुँदैन । उनी बाँचुन्जेल सत्य र न्यायका लागि लडे । उनका आदर्श चरित्र मुलुकका नेताहरूले थोरै प्रतिशतमात्र अवलम्बन गर्न सके जनताले परिवर्तनको अनुभूति गर्न पाउने थिए ।

प्रकाशित : असार ७, २०८१ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×