कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता

धर्मनिरपेक्ष हुनु भनेको आफ्नो धर्म मान्नु हो; धर्मका नाममा घृणा फैलाउनु, मारकाट गर्नु, अरूलाई दुःख दिनु, सताउनु, अपमानित गर्नु कदापि होइन ।

नेपाल धार्मिक र धर्मनिरपेक्ष दुई किसिमको अतिवादमा फस्दै गएको देखिन्छ । र, यी दुवै अतिवादले मधेशका बहुसंख्यक हिन्दुलाई हिन्दुराष्ट्रवाद — जो धार्मिक अतिवादकै एउटा रूप हो — को दलदलमा फसाउने प्रयास गरिराखेको भान हुन्छ, ताकि केही खास वर्ग र प्रवृत्तिका मानिसको स्वार्थसिद्धि होस् ।

धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता

धरानमा गाईगोरु काट्ने घटना र त्यसलाई अमुक समुदायको अधिकारको भाष्यका रूपमा खडा गर्ने प्रयास एवं जनकपुर, वीरगन्ज, मलंगवा अनि नेपालगन्जमा चाडपर्वका नाममा वा व्यक्तिगत रिसइबीलाई साम्प्रदायिक रंग दिने र अफवाह फैलाएर एक समुदायलाई अर्कोसँग जुधाउने प्रयत्न मधेशलाई हिन्दु घृणाको रंगले पोतेर हिन्दु अतिवादसँगै भारतमा जस्तै नेपालमा हिन्दु राष्ट्रवादलाई आगाडि बढाउने धृष्टता हो । यी दुवै अतिवादबाट नेपाललाई कसरी जोगाउने, अहिलेको मुख्य प्रश्न यही हो ।

पृथ्वीनारायण शाहको ‘असिल् हिन्दुस्ताना’ लाई जतिसुकै गाली गरे पनि, जङ्गबहादुरको हिन्दु जात–आधारित विभेदकारी सामाजिक व्यवस्थालाई जतिसुकै सरापे पनि र त्यसपछिको शाहवंशीय शासन व्यवस्थाको जतिसुकै खेदो खने पनि ती सबै अहिले संवैधानिक रूपमा विगत भइसकेका छन् । तर हिन्दुहरूको गाईगोरुप्रतिको श्रद्धा वा बन्देज नेपालको बहुसंख्यक हिन्दु समाजमा व्यापक रूपमा फैलिएर अन्तस्करणमा पसिसकेको छ । त्यसैले गाईगोरु काट्न–मार्न पाउनु नेपालजस्तो समाजमा धर्मनिरपेक्ष राज्यभित्रको अधिकार हुन सक्दैन किनभने धर्मनिरपेक्ष भनेको एक धर्म–समुदाय वा व्यक्तिले अर्को धर्म–समुदायको मौलिक आस्थामाथि प्रहार गर्नु होइन, सम्मान गर्नु हो; खास गरी त्यस्तो राज्य वा समुदायमा जहाँ सदियौंदेखि त्यो आस्था मौलिक रूपमा बसिसकेको छ । यसले धर्म मान्ने समुदायको मौलिक श्रद्धा र आस्थामाथि प्रहार गर्दछ; त्यसले गर्दा हिंसा भड्किन्छ र सामुदायिक घृणा फैलिन्छ । त्यस्तै, अरू धर्मप्रति घृणा फैलाउनेहरूलाई र अरू धर्मावलम्बीलाई अधर्मी–कुधर्मी वा नर्क जाने ठान्नु अनि धर्म भनेको एउटै हो, आध्यात्मिक बाटो एउटै हो, अरू धर्मै होइनन् भन्नु र त्यस्ता हानिकारक विचार फैलाएर पैसा वा अरू नै कुनै प्रलोभनका बलमा अरूको धर्म परिवर्तन गर्न खोज्नु पनि नेपालजस्तो विविधताले भरिएको मुलुकमा धर्मनिरपेक्षता हुन सक्दैन । व्यक्तिगत आस्थाका भरमा कसैले कुनै धर्म मान्छ भने त्यो अर्कै कुरा हो ।

राज्यबाट धर्मलाई अलग गर्ने क्रममा हामीले न धार्मिक हुन जानिरहेका छौं न त धर्मनिरपेक्ष । र, यो धर्मसम्बन्धी अँध्यारो गल्लीको यात्रामा हाम्रा छरछिमेकी अब हिन्दीमा ‘मान न मान मैं तेरा मेहमान’ भने जस्तै जबरजस्ती सघाउन उद्यत छन् ।

धरानमा गाईगोरु काटेको प्रकरण र त्यसप्रति पक्ष–विपक्षबाट सामाजिक सञ्जालमा भएको प्रतिक्रिया अनि मलंगवा, वीरगन्ज र रामनवमीका अवसरमा जनकपुरमा भएका धार्मिक असहिष्णुताका घटनाहरूले यसबारे हाम्रो अन्योललाई उजागर गरेका छन् ।

धार्मिक हुनु भनेको के हो ? धार्मिक हुनु भनेको एक त आफ्नो आस्थाअनुसार आफ्ना आराध्य देवप्रतिको भक्तिभाव व्यक्तिगत रूपमा घरैमा वा मन्दिर, मस्जिद, गिर्जाघर आदिमा गएर व्यक्त गर्नु हो; सो आस्थाअनुसार आफ्नो परिवार र धार्मिक समुदायलाई व्यवस्थित पार्नु हो । तर धार्मिक हुने यस प्रकियामा अनेक सामाजिक, राजनीतिक र धार्मिक दर्शन एवं समाजलाई व्यवस्थित पार्ने नियमकानुनका कारण सदियौंसम्म युरोपमा द्वन्द्वहरू भइरहे । राष्ट्र–राज्य एकअर्कासँग जुधे र राज्यलाई धर्मबाट बाहिर वा भित्रै भिन्न आस्था मान्नेविरुद्ध प्रयोग गरेर हत्याहिंसा गरेर दुःख दिए । क्याथोलिक फ्रान्स, स्पेन, रोम एकातिर एवं प्रोटेस्टेन्ट बेलायत र जर्मनी अर्कातिर एकअर्कासँग लडिरहे । धर्मभित्रैको एक वा अर्को शाखा मान्ने नाममा युद्धमा देशभित्र लाखौं मनिस काटिए, जलाइए र देशबाहिर अर्को देशको युद्धमैदानमा सैनिकहरू मारिए । सन् १६४८ को वेस्टफालिया को सन्धि — जहाँ राजनीतिक र धार्मिक सार्वभौमिकता भिन्नै हो भन्ने स्वीकार गरियो — पछि पनि यो क्रम रोकिएन । तसर्थ धर्मसम्बन्धी हिंसात्मक कलह विश्वका लागि नौलो हैन । अहिले पनि धर्मलाई राज्य धर्म मान्ने राज्यहरू — पाकिस्तानदेखि मध्यपूर्वका कैयौं राज्य — ले आफ्ना अल्पसंख्यकलाई न्याय गर्न नसकेको मात्र होइन कि त्यहाँ लोकतन्त्र स्थापित हुन सकेको छैन र त्यहाँ निरंकुश शासनले मात्र शान्ति कायम गर्न सकेको छ । श्रीलंका र म्यान्मार राज्यलाई शान्तिप्रिय बुद्ध धर्मतिर ढल्काएकाले नै हिंसाको सिकार भए । राष्ट्रधर्म मान्ने राज्यमा लोकतन्त्र फस्टाउन गाह्रो हुन्छ । कथंकदाचित् लोकतन्त्र आयो भने पनि शान्ति हुँदैन । आज भारत यसको उदाहरण बन्दै गएको छ ।

शताब्दियौंसम्म देशभित्र र बाहिर धर्मका नाममा मारकाटपछि युरोप र उत्तरी अमेरिकामा सत्रौं शताब्दीदेखि धार्मिक सहिष्णुताको सिद्धान्त अनुसरण गर्न सुरु गरियो । अठारौं शताब्दीमा इन्लाइटेन्मेन्ट (प्रबुद्धता) आन्दोलनबाट प्रेरित भएर चर्च र राज्यलाई पृथक् तुल्याइयो, पश्चिमी युरोप र बेलायती प्युरिटनहरूको उत्तरी अमेरिकी समुदायमा । आफू पनि प्युरिटन हुँदाहुँदै रोजर विलियम्स प्युरिटनहरूको उपनिवेश मासाचुसेट बे कोलोनीबाट प्युरिटन इसाई समुदायबाटै खेदिए । उनले भिन्नै राज्य रोड आइल्यान्ड खडा गरी आफ्ना रचनाका माध्यमले प्युरिटन क्रिस्चियन अतिवाद र एकल कट्टरताको तर्कपूर्ण प्रतिवाद गरे, धर्मभित्र र बाहिर सहिष्णुताको सिद्धान्त प्रतिपादन गरे । पछि यिनै सांसारिक र व्यावहारिक दर्शन र सिद्धान्तका साथै युरोपियन इन्लाइटेन्मेन्टको विचारधाराबाट प्रभावित भएर बेलायती उपनिवेशविरुद्ध संघर्ष गर्दै संयुक्त राज्य अमेरिकाका संस्थापक पिताहरू (जेफर्सन, वासिङ्टन, फ्रेंकलिन, आडम्स, मेडिसन, हेमिल्टन आदि) ले राज्य र चर्चबीच पर्खाल खडा गर्ने सेपरेसन अफ चर्च एन्ड स्टेटको सिद्धान्त अँगाले; संयुक्त राज्य अमेरिकामा संविधानका साथै बिल अफ राइट्स ल्याए । फलस्वरूप अहिले अमेरिकामा अरूलाई हानि नपुर्‍याई आ–आफ्ना धर्म मान्ने पूर्ण स्वतन्त्रता छ । तर यो उपलब्धि अमेरिका र युरोपका विभिन्न राज्यलाई शताब्दियौंको संघर्षपछि मात्र प्राप्त भयो, ज्ञानचक्षुका रूपमा । यसरी हेर्दा सत्रौं शताब्दीको अन्ततिर लोकतन्त्र र धार्मिक सहिष्णुता वा धर्मनिरपेक्षताको सिद्धान्त सँगसँगै प्रतिपादित भए, जसका प्रणेता थिए— जान लाक ।

यति हुँदाहुँदै पनि युरोपमा धर्मनिरपेक्षता समान किसिमले अँगालिएको छैन ।

पश्चिमी युरोपेली मुलुकहरू विभिन्न प्रकारका छन्, यस मामिलामा । नागरिक स्वतन्त्रता, लोकतन्त्र र विभिन्न लेभलका पुँजीवादी व्यवस्था र औपनिवेशिक इतिहासबाट लाभ लिएर सम्पन्न भएका युरोपेली मुलुकहरूले धार्मिक असहिष्णुताको पराकाष्ठा भोग्दै आएका हुन् । वर्तमान समयमा तिनमा राज्य र धर्मबीचको सम्बन्ध विभिन्न किसिमको छ । बेलायत र नेदरल्यान्ड वा यी दुवैलाई फ्रान्ससँग तुलना गर्न मिल्दैन, यस मामिलामा । बेलायत र नेदरल्यान्डमा संवैधानिक राजतन्त्र भए पनि नेदरल्यान्डमा धार्मिक सहिष्णुताको इतिहास छ भने बेलायतले चर्च अफ इंग्ल्यान्ड (एङ लिकन चर्च) लाई राज्य धर्म बनायो र यसका लागि निकै हत्याहिंसा गर्‍यो । फ्रान्स धर्मनिरपेक्ष गणतन्त्र हो तर त्यहाँ धर्मनिरपेक्षता अमेरिकामा भन्दा भिन्न रूपमा लागू छ । आफ्नै किसिमको इतिहास भएको फ्रान्सलाई कट्टर धर्मनिरपेक्ष राज्य भन्न सकिन्छ । किनभने त्यहाँ धर्मनिरपेक्षता वा राज्यबाट धर्मको पृथकता फ्रान्सेली क्रान्तिबाट सुरु भयो, क्रिस्चियन धर्मको ज्यादती र इन्लाइटेन्मेन्ट सेक्युलरिजम (धर्मनिरपेक्ष) दर्शनले गर्दा । त्यहाँ सरकारको लगानी भएको संस्थामा देखिने गरी धार्मिक पहिरन निषेध गरिएको छ । तर अमेरिकाको धर्मनिरपेक्षतामा आ–आफ्ना धर्म मान्ने स्वतन्त्रता र अधिकारको जगबाट राज्यको परिकल्पना गरियो । पदाधिकारीहरू आ–आफ्ना धर्मग्रन्थलाई छोएर शपथ लिन्छन् र कार्यकारी राष्ट्रपति पनि गिर्जाघर गएर आशीर्वाद लिन्छन् । भोलि कोही हिन्दु राष्ट्रपति भयो भने उसले पनि मन्दिर गएर आशीर्वाद लिन सक्छ ।

प्रश्न उठ्छ, नेपालको धार्मिकता वा धर्मनिरपेक्षता कस्तो हुनुपर्छ ? अनि, धार्मिक हुनु र धर्मनिरपेक्ष हुनुका केके फाइदा–बेफाइदा वा बाधा–सुविधा छन् ? नेपालको संविधानले धर्मनिरपेक्षता अँगालेको छ जो दसवर्षे माओवादी जनयुद्धपछिको संविधानसभाबाट नयाँ राज्यको परिकल्पनासँगै जन्मेको हो जसको उपज अहिलेको संविधान हो ।

तर संविधान बनेको सात–आठ वर्ष भइसक्दा पनि हामी नयाँ परिप्रेक्ष्यमा धार्मिक र धर्मनिरपेक्ष हुन सिक्ने क्रममा छौं, सिकिसकेका छैनौं । हामीमा सिभिक सेन्स (नागरिक बोध) र पब्लिक गुड (सार्वजनिक हित) पलाउने क्रममै छ, पलाइसकेको छैन । अलिक पैसा भयो कि हामी सार्वजनिक हितका लागि पाटीपौवा, सार्वजनिक छलफल भवन, पुस्तकालय हैन, मठमन्दिर वा मस्जिद बनाउन थाल्छौं । त्यो पनि नराम्रो कुरा होइन, प्राथमिकता केलाई दिने भन्ने मात्रै हो ।

नेपालका गाउँगाउँलाई अहिले मठमन्दिर, मस्जिद, गिर्जाघर चाहिएको छ कि पुस्तकालय र सार्वजनिक सूचना केन्द्र ? तर यो र यस्ता प्रश्नलाई बिर्सेर नेपाल अहिले मन्दिर, मस्जिद, गिर्जाघरबीचको लडाइँ गर्न लागेको छ, आन्तरिक र बाह्य उक्साहटमा । त्यस्ता उक्साहटहरू कुनकुन हुन्, तिनको पहिचान गर्न र त्यसतर्फ सार्वजनिक रूपमै औंल्याउन जरुरी छ ।

सर्वप्रथम त भुइँतहमै यस सन्दर्भमा मानिस दुई किसिमका हुन्छन् । एक, अज्ञानी जो आफ्नो परिचित र पहिचान मिल्ने अवस्थाबाहेक अरूलाई पराई/बिरानो ठान्छन् मात्रै हैन, आफ्नो सामूहिक वा व्यक्तिगत कामका आधारमा पूर्वाग्रह पाल्छन् र मौका परे त्यस पूर्वाग्रहअनुसार बिरानो ठान्नेलाई व्यक्तिगत वा सामूहिक रूपमा क्षति पुर्‍याउन खोज्छन् । तर भुइँतहमा यस्ता अरू पनि हुन्छन् जसको आफ्नो पहिचानभन्दा भिन्न व्यक्ति वा समुदायसँग दुःखसुख बाँड्ने वर्षौंको अनुभव हुन्छ, बिरानो (फरक) सामुदायिक पहिचान हुँदाहुँदै पनि पूर्वाग्रह वा नकारात्मकता पालेका हुँदैनन् र अर्को समुदायलाई केही आइपर्दा मद्दत/सहयोग गर्न तत्पर हुन्छन् । दोस्रो, ती मानिस हुन्छन् जसको राज्यसँग हिमचिम हुन्छ, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा । तिनीहरूको एक त आफ्नोभन्दा फरक पहिचान बोकेको समुदायसँग उठबस हुँदैन, अर्को राज्यसँगको सामीप्यले गर्दा अरु समुदायसँग राजनीतिक लाभ–हानि हेरेर व्यवहार गर्छन् । यस्ता व्यक्ति बाहिरका पनि हुन्छन् जो भित्र पसेर भिन्न समुदायप्रति घृणा र पूर्वाग्रह फैलाएर राजनीतिक लाभ उठाउन चाहन्छन् । यस्ता व्यक्ति वा समूहभित्रका पनि हुन्छन् जो सङ्लो पानीलाई धमिलो पारेर आफ्नो नीहित राजनीतिक स्वार्थ साध्नतिर लाग्छन् । मधेशमा अहिले यही चलिरहेको छ ।

मधेशमा अहिले हिन्दु धर्मको रक्षाका नाममा जस्तो खालका गतिविधि र मानिसहरूको अग्रसरता देखिन्छ, त्यसले सन् २००५–६ देखि २००९–१० सम्म मधेश मुक्तिका नाममा बग्रेल्ती खुलेका सशस्त्र समूहरूको गतिविधिको झल्को दिन्छ ।

सुरुमा माओवादी जनयुद्धबाट मधेशीका नाममा सशस्त्र समूहहरूको उदय भएको थियो जसको राजनीतिक आवरण मधेशीको मुक्ति थियो भने आम्दानीको स्रोत चन्दा आतंक र अपहरण । प्रारम्भमा तिनलाई सीमा वारिपारिका सुरक्षा निकायहरूले माओवादीविरुद्धको समूहका रूपमा देखेका थिए । खुला सिमानाले तिनलाई लुक्न सघाएको थियो ।

मधेशका नाममा आन्दोलन चल्न थालेपछि फेरि कतिपयले तिनलाई मधेशमा रहेका पहाडियालाई मात्र दुःख दिने ठाने । तर अवस्था त्यस्तो मात्र रहेन । सन् २००६ देखि २००९ बीच त्यस्ता सशस्त्र समूहहरूले सबैभन्दा बढी मधेशी व्यापारी, शिक्षक, तत्कालीन गाविसका सचिवहरूलाई र सर्वसाधारणलाई पिरोलेको थियो । मधेशका गाउँदेहात पूरै आक्रान्त भएका थिए । सयौं सर्वसाधारण मधेशी अपहरणमा परेका थिए । चन्दा आतंक मच्चिएको थियो । धेरैको हत्या पनि भएको थियो ।

आज धार्मिक कट्टरताका नाममा अर्धशिक्षित र अर्ध बेरोजगार युवाहरूमा फेरि त्यस्तै अतिवादी शैली बढेको पाइन्छ । अहिले कतिपयलाई लाग्न सक्छ, यो गैरहिन्दुका लागि मात्र समस्याको विषय हो तर ढिलोछिटो यसले पूरै समाजलाई आक्रान्त बनाउने निश्चित छ । बेला छँदै सबैको ध्यान पुगोस् ।

नेपालभित्रकै पनि हिन्दु राष्ट्रवादीहरू पनि छन् जो मधेशलाई हिन्दु राष्ट्रवादको रंगले पोत्न सकियो भने आफ्नो राजनीतिक अभीष्ट पूरा हुन सक्ने ठान्छन् किनभने तिनले सत्ता र राज्यशक्ति अहिले गुमाएका छन् ।

यसको बाहिरी पक्ष पनि छ ।

२०१९ को डिसेम्बरमा हामी मधेश घुम्दा जनकपुरमा धार्मिक कट्टरता बढ्न थालेको अनुभव गरेका थियौं । जनकपुको मूल सडकलाई फराकिलो बनाएपछि सबै घर गेरु रंगले रंगिएको हामीले देखेका थियौं । त्यसो गर्नलाई जनकपुर उपमहानगरपालिकाले उर्दी जारी गरेको थियो । हामीले त्यति बेलाका आफ्ना लेखहरूमा त्यस कुराको उल्लेख गर्दै भविष्यमा आउन सक्ने समस्याको आशंका गरेका थियौं ।

तेस्रो क्याटगोरीमा यी सबै समुदायबाट आएका बौद्धिक हुन्छन् जसले अध्ययन, अनुभव र करुणाका कारण आफ्नो चेतनास्तरलाई उचालेका हुन्छन्; भिन्न समुदायप्रति विरासत (जन्म र पालनपोषण) बाट प्राप्त पूर्वाग्रह त्यागी बौद्धिकताका बलमा माथि उठ्न सफल हुन्छन्; आफ्नो र भिन्न समुदायलाई सम्मान पनि गर्छन् र कुनै सन्दर्भमा आवश्यक परे आलोचना गर्न पनि पछि हट्दैनन् । यस्तो दृष्टिलाई समालोचनात्मक चस्माबाट हेर्नु भनिन्छ जहाँ पूर्वाग्रह र घृणाको सट्टा सद्भावना र समभावना हुन्छ ।

नेपालको धर्मनिरपेक्षता कस्तो हुनुपर्छ र नेपालमा धार्मिक हुने स्वतन्त्रता र यसका परिधिहरू के–कस्ता हुनुपर्छ, जनमानसमा बेलैमा परिभाषित हुन जरुरी छ । लोकतन्त्रमा आम नागरिकले सेक्युलर हुन र धार्मिक हुन नयाँ किसिमले सिक्न जरुरी छ किनभने धर्मनिरपेक्ष हुनु भनेको आफ्नो धर्म मान्नु हो; धर्मका नाममा घृणा फैलाउनु, मारकाट गर्नु, अरूलाई दुःख दिनु, सताउनु, अपमानित गर्नु कदापि होइन ।

मिश्र अमेरिकास्थित लुइस विश्वविद्यालयमा प्राध्यापक हुन् भने साह मधेश फाउन्डेसनमा आबद्ध छन् ।

प्रकाशित : कार्तिक ३, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x