मधेसी समाजमा पितृसत्ता र पिता- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसी समाजमा पितृसत्ता र पिता

पिताले छोरीको भलो चिताउनु मात्र पर्याप्त हुने रहेनछ । यससँगै पितृसत्ताको जालबाट ऊ कति मुक्त छ भन्नेमा भर पर्छ, ऊ वास्तवमा छोरीको व्यक्तित्व विकासमा कति सहयोगी हुन सक्छ भनेर ।
प्रमोद मिश्र, तुलानारायण साह

डिसेम्बर २०१९ को मधेस यात्रामा हामीले नेपालको मधेसी समाजमा पितृसत्ता विराजमान रहेको त देख्यौं नै, यस पितृसत्ताभित्र पिताको भूमिका पनि उत्तिकै चाखलाग्दो र जटिल पायौं । झापादेखि कैलालीसम्मको यात्रा गर्दा हामीले महिलासम्बन्धी हरेक सन्दर्भमा पिता उभिएको पायौं ।

हुन त ‘पितृसत्ता’ शब्द ‘पिता’ बाट निःसृत हुन्छ तर पितृसत्ता भन्नाले पिता मात्र हैन, पितालगायत पुरुष सम्बन्धमा अटाउने सबै — पिता र पितासमान परिवारका सदस्य, जस्तै : काका, मामा, पितामह, दाजु, आफूभन्दा नातामा भाइ, छोरा — त आउँछन् नै, पितृसत्ताले जन्माएका वैचारिक संरचनागत ढाँचा, व्यवस्था र सामाजिकता पनि यसअन्तर्गत पर्छन् । त्यस ढाँचाको पक्षपोषण गर्ने र लागू गर्ने जोकोही यसभित्र पर्छन् । तर मधेस यात्राका दौरान महिलाका विषयमा छोरी पुस्तासँग विभिन्न ठाउँमा संवाद गर्दा पिताको भूमिका निर्णायक पायौं ।

हुन त नारीवादी आन्दोलन र दर्शनमा महिला स्वतन्त्रताको परिकल्पना प्रायः निरपेक्ष रूपमा गरिएको हुन्छ तर हाम्रो मधेस यात्राको अनुभवमा नारीको स्वतन्त्रता र परतन्त्रताको थालनी पिताको देखरेखमा पिताकै घरपरिवारबाट पिताको दृष्टिकोण, दर्शन, सामाजिक र आर्थिक अवस्था अनि जात–समाज, नाताकुटुम्बका वाद–विचार अनि तीप्रति पिताको प्रतिबद्धता वा प्रतिरोधबाट सुरु भएको पायौं । हामीले चार–पाँच जना महिलाका चार–पाँचै थरी पिता पायौं, सोचका हिसाबले । दुई पितासँग त हाम्रो लामो संवाद नै भयो र बाँकी शारीरिक रूपले अनुपस्थित भए पनि छोरीको जीवन निर्माणमा तिनको दह्रो भूमिका रहेको पायौं ।

सर्वप्रथम सप्तरीमा राजमार्ग र नेपाल–भारत सीमाबीच रहेको गाउँका भैंसी व्यापारी एक किसान पिताको कुरा गरौं । ती चार छोरी र एक छोराका पिता थिए । हामीसँग आफ्ना कुरा ठेट मैथिलीमा बेहिचक राखेका तिनले खेतीकिसानीबाहेक दशकौंदेखि आफ्नो क्षेत्रबाट धरान लगी भैंसी बेचबिखन (पैकारी) गरेर चारै छोरीको विवाह दहेजका साथ गर्न सफल भएकामा गौरव महसुस गरिरहेका थिए । जेठी छोरीको विवाह उनले २०४५–४६ सालमा २२ हजार नगद र ब्याउन लागेको (लदबद) भैंसी दहेज दिएर गरेका थिए । छोरीको उमेर विवाहका बेला यही चौध–पन्ध्र वर्षको थियो । उनले दुई–अढाई वर्षको अन्तरालमा त्यस्तै उमेरमा अरू दुई छोरीको विवाह क्रमशः ३५ हजार र ६० हजार दहेज दिएर गरे । तर कान्छी छोरीको विवाह सन् २०१८ तिर गर्दा ऊ बाह्रमा पढ्दै थिई र उमेर पनि १८ वर्ष पुगिसकेको थियो । उसका लागि राम्रो केटा दुई–तीन लाखमा त भेट्दै नभेटिने । पछि आफूले मन परेको एउटा केटा भेट्दा ६ लाख दहेज दिनुपरेको ती पिताले सुनाए । त्यतिखेर पैसा हातमा भएकाले सजिलो भयो ।

‘कति दिने कति लिने भन्ने मोलतोल त भैंसी किनबेच गर्दाजस्तै हुन्छ । केटाका पक्षबाट तेस्रो पार्टी (लमही) ले मोलमोलाइ गर्‍यो तर मेरोतर्फबाट अरू कसले गर्ने मोलमोलाइ ? जिन्दगीभरि भैंसी किनबेच गर्ने म, मेरोतर्फबाट मोलमोलाइ कसले गर्ने ? मैले नै गरें ।’ तिनले सुनाए, ‘ढेडुवा (भरखरकी किशोरी) जवान हुन लागेपछि बिहा गरिदिने हो । अलि बढी पढ्यो भने बढी दहेज दिनुपर्ने हुन्छ । त्यसैले विचार गरें, अलिअलि पढेको पनि हुने र उमेर पनि ठीक हुने । बिहा भएपछि घरमा कमाउँछे, खान्छे । बढी पढ्यो भने दहेज बढी दिनुपर्ने हुन्छ किनभने केटा पक्षले आफ्नो पढाइको खर्च उकास्ने सोच बनाउँछ । त्यति मात्र कहाँ हो र, छोरा जन्मिनेबित्तिकै धनी हुने सपना देख्न थाल्छ केटाको बाउले र त्यसको परिवारले ! कति दहेज लिएर धनी भएका पनि छन् । छोरा जहिले जन्मियो, मेरो धन कमाउने बाटो खुल्यो भन्ने सोच्छन् छोराका बाउहरूले । कोहीकोही मात्र यस्ता हुन्छन् जो दहेजबिना आफ्नो छोराको बिहा गर्छन् ।’

‘छोरीले पढी भने, आफैं कमाउँछे, होइन र ?’ भन्ने प्रश्नको उत्तरमा तिनले भने, ‘हो, पढेर छोरीले कमाउन सक्छे तर त्यो त पछिको कुरा भयो । बिहा त अहिले नै गर्नुपर्‍यो । छोरीलाई बढी पढाएर के खेत बेचेर दहेज दिनु ? त्यसैले छोरीलाई बढी पढाउने मेरो उद्देश्य नै थिएन । सोचेर ल्याउँदा यो आफैं एउटा दोषजस्तो लाग्छ अहिले । तर के गर्नु ? जे होस्, मैले घटिया मालसँग छोरीको बिहा गरिनँ । आफ्नो हिसाबले त मैले राम्रै गरें ।’

यी पिता निकै स्पष्टवक्ता थिए । आफ्नो सोचाइअनुसार तिनले राम्रै गरे । जात, समाजमा आफ्नो इज्जत–प्रतिष्ठा कायम राखे । छोरीका लागि राम्रो घर–वर खोजे । कम पढाउनु र कम उमेरमा छोरीको विवाह गर्नु भनेको कम पढे–लेखेको वर कम दहेजमा खोज्नु त हुँदै हो, यसको अर्को पाटो पनि जोडिएको हुन्छ । चौध–पन्ध्र वर्ष नाघ्दा एउटी किशोरी जवान हुन थाल्छे र स्त्रीगत शारीरिक हार्मोन पनि बढ्न थाल्दा पढाइका साथ विवाह र यौनसम्बन्धी स्वतन्त्रता पनि रुचाउने सम्भावना बढ्न थाल्छ, जुन सामाजिक मान्यताविपरीत हुन्छ र यसले परिवारको बदनामी पनि गराउन सक्छ । फेरि, बढ्दो

उमेरकी छोरीले स्वरुचिले केटा रोजी भने विजातीय पनि पर्न सक्छ । यो त जात, समाज र कुटुम्बमाझ अत्यन्तै ‘नाक कटाउने’ कुरा हुन जान्छ । ती पिताले यौन र जातपक्षीय कुरा त गरेनन् तर मधेसी समाजमा अन्तर्निहित यो आशय बुझ्न धेरै परिश्रम गर्नु नपर्ने रहेछ । जात र धनको यो जोखिमबाट बच्न भैंसी व्यापारी, मिहिनेती, छोरीका शुभचिन्तक पिताले जे गरे, त्यो तिनको बाध्यता थियो ।

यस्तो सामाजिक वैचारिकीमा छोरी जन्माउनु हार र छोरा जन्माउनु जित हुन जान्छ । त्यसले गर्दा अनेकौं पिता, खासगरी न्यून आयस्रोत भएकाहरूले, छोरीलाई जस्तो भेट्यो त्यस्तै, यहाँसम्म कि मानसिक रूपले डिसेबल, वर खोजी जिम्मा लगाइदिने गर्छन् । मात्र स्वजातीय भए पुग्छ । यसमा छोरीको राजीखुसीको वास्ता हुँदैन । छोरीलाई उसको इच्छा–आकांक्षाबारे सोध्ने त कुरै भएन । उसलाई सोधिँदैन पनि । महोत्तरीमा हालैको सुजिता हत्या प्रकरणमा, सुजितामा पनि पति मानसिक रूपमा डिसेबल भएका कारण असन्तोष र आक्रोश जन्मेको अनुमान गर्न गाह्रो छैन । तर छोरीले यदाकदा विद्रोह नै गरेको खण्डमा तिनले हत्याहिंसा भोग्नुपर्ने हुन्छ । नभए कम से कम पिता नेतृत्वको परिवार तिनलाई परित्याग गर्न बाध्य हुन्छ । जस्तो कि, कैलालीकी महिला पत्रकारको मामिलामा भयो । घरबार छाडेर आफ्नो सहिद दाजुको पदचिह्न पछ्याउँदै माओवादीमा लागेकाले गर्दा तिनलाई परिवारले परिवारको ‘नाक काटेको’ र आफूलाई ‘गिराएको’ आरोप लगाइराख्यो । घर फर्किन भनिरह्यो ।

यसको कारण के हो भने, तराईको जनजातिमा पनि अपेक्षाकृत बढी नारी स्वतन्त्रता भए पनि पितृसत्तामा छोरीको स्वतन्त्र व्यक्तित्व हुँदैन । र, अहिलेको तथाकथित धर्मनिरपेक्ष संविधानले पनि भनिसकेको छ, पहाडे होस् वा मधेसी, कानुनको नजरमा नारीको स्वतन्त्र व्यक्तित्व र अस्तित्व हुँदैन । यसको के पनि अर्थ हो भने, अहिलेको गाउँसमाजको कुरा त छाडौं, संविधानले पनि नारीलाई अबला ठानी पिता र पतिको परिवारभित्रै, मनुस्मृतिमा भनेझैं आफ्नो अस्तित्व र पहिचान खोज्न बाध्य पारेको छ ।

तर उपर्युक्त कुरा मात्र भन्यौं भने तस्बिर अधुरो रहन जान्छ । मधेस यात्राका क्रममा हामीले यस्ता पिता पनि भेट्यौं जसको शिक्षादीक्षा, भौगोलिक अवस्थिति र सोअनुसारको छोरीको भविष्यप्रतिको दृष्टिकोणले गर्दा छोरीले आफ्नो व्यक्तित्व विकासको बाटो अँगालेको पायौं । सिरहामा राजमार्गछेउको एउटा सहरको एउटा यादव परिवारमा बास बस्दा त्यस घरका पिता र किशोरी छोरीसँग कुराकानी गर्ने अवसर मिल्यो । चौध–पन्ध्रवर्षे तिनी ‘किशोरी समूह’ की सचिव रहिछन् । आफ्नो समूहको नेतृत्व गर्दै समाजमा बाल विवाहजस्ता सामाजिक कुरीतिहरूबारे चेतना फैलाउने काम गर्ने तिनले सुनाइन् । भनिन्, ‘बालविवाह भइराखेको थाहा पाए त्यहाँ गएर रोक्ने काम पनि गर्छु ।’ ‘भविष्यमा के बन्ने विचार छ ?’ भनी सोध्दा तिनले ‘कानुन पढ्छु, वकिल बन्छु’ भनिन् । ‘छोरीको विवाह कहिले गर्ने ?’ भनेर प्रश्न गर्दा तिनका पिताले भने, ‘पहिला छोरीले पढ्छिन्, जति पढ्न चाहे पनि पढाउँछु अनि मात्र बिहेसिहेको कुरा हुन्छ ।’

छेउछाउकै जिल्लाका यी दुई पिताहरूको विचार कसरी यति फरक भयो भन्ने मनमा लागेर, ‘छोरीका बारे यस्तो विचार कहाँबाट पाउनुभो ?’ भनेर सोध्दा तिनले भने, ‘म पहिला छोरीलाई चाँडै बिहे गरिदिनुपर्छ सोच्थें अरूजस्तै, तर जब म एउटा मानव अधिकारवादी संस्थामा काम गर्न थालें र तालिमहरूमा जान थालें, मेरो विचार बदलिन थाल्यो; मानिस भनेको के हो भनेर बुझ्न थालें ।’ तर उनको घर राजमार्गछेउ भएकाले अनि बहुसांस्कृतिक र बहुभाषी समाजमा बसोबासले गर्दा पनि उनलाई यी अग्रगामी विचार अँगाल्न सजिलो भयो होला किनभने यहाँ समाजले उनको खिसी गर्दैन, बहिष्करणमा पार्दैन । विचार प्रवाह निकै महत्त्वपूर्ण कुरो रहेछ भन्ने पनि हामीले बुझ्यौं । जहाँ नयाँ विचारहरूको प्रवाह हुँदैन या कम हुन्छ र पुरानै विचारहरूको वर्चस्व रहिराख्छ, त्यहाँ समाज परिवर्तन सजिलो हुँदैन ।

मोरङमा जब हामीले बैंकमा काम गर्ने बीस–पच्चीसवर्षे महिलाबाट उनको वैवाहिक अतीतका नमीठा कुरा सुनेका थियौं, तिनले सम्बन्धविच्छेद गर्नेतर्फ कदम चालिसकेकी थिइन् । तिनका पिताले यो निर्णयलाई सहजै स्वीकार गरेका थिए र छोरीको विचारअनुसार सहयोग गरिरहेका थिए । पछि सोध्दा थाहा भयो— ती पिता विराटनगरमा बस्दा रहेछन्, पढालेखा ती एउटा उद्योगका सञ्चालक रहेछन् र छोरीलाई अंग्रेजी माध्यमको विद्यालयमा पढाएका रहेछन् ।

यस यात्राका दौरान पितृसत्तामा पिताबारे अध्ययन–चिन्तन गर्दा हामी के निष्कर्षमा पुग्यौं भने, पिताले छोरीको भलो चिताउनु मात्र पर्याप्त हुने रहेनछ । यससँगै पितृसत्ताको जालबाट ऊ कति मुक्त छ भन्नेमा भर पर्छ, ऊ वास्तवमा छोरीको व्यक्तित्व विकासमा कति सहयोगी हुन सक्छ भनेर । यदि पिता पितृसत्ताको वैचारिकी, संरचना र चालचलन — जसलाई पारम्परिक रूपमा समाज भन्ने चलन छ, जो वास्तवमा जात र नाताकुटुम्बको जालो नै हो— भित्र बाँचेको छ र त्यहीअनुरूप सोच्छ, जानीजानी हिमायती बनेर या अनजानमा, उसले पितृसत्तात्मक सोच नै राख्छ र छोरीको सर्वांगीण विकासमा लाग्नुको सट्टा छोरी पितृसत्तामा कसरी अटाउँछे भन्नेतिर लाग्छ किनभने पारम्परिक गाउँसमाजले पनि त्यही भनिराखेको हुन्छ र अपेक्षा पनि त्यही गरेको हुन्छ ।

एक पुस्ताअघिको खानदानी कहलिने खस–आर्य समाज र परिवारमा पनि यस्तै चलन थियो । छोरीले सारीबाहेक अरू लुगा लाउँदा, साइकल चढ्दा, स्कुलमा खेलकुदमा भाग लिँदा उत्ताउली भनेर बन्देजमा पर्थी; नर्स वा विमान परिचारिका भई, पुलिसमा जागिर खाई भने परिवारको बदनामी गराउनुसरह हुन्थ्यो । यस्तो अवस्थामा छोरीबारे जतिसुकै चिन्ता राखे पनि, भलो सोचे पनि, पितृसत्तात्मक सोच र काम–कुराअनुसार सानैमा अनपढ अवस्थामा छोरीको विवाह गराएर जानी–नजानी त्यस्तो पिता छोरीको व्यक्तित्व विकासको सबभन्दा ठूलो बाधक बन्न पुग्छ र सँगै नजानी–नजानी ठूलो शत्रु पनि । किनभने पिता अहिले पनि प्रायः परिवारमा सर्वेसर्वा हुन्छ, मुख्य निर्णयहरूमा ।

तसर्थ, छोरीविरुद्ध सबभन्दा खतरनाक शत्रुता पिताको घरबाटै सुरु हुन सक्छ र उसको पक्षमा सबभन्दा प्रभावकारी हित पनि । पतिको घर पुग्दासम्म त ढिलो भइसकेको हुन्छ किनभने पारम्परिक परिवारमा बुहारीको आगमन गार्हस्थ्य संरचनामा श्रमिकका रूपमा हुन्छ । फेरि, कतिपय महिला स्वयं पनि पितृसत्ताका अन्धभक्त भइसकेका हुन्छन्, आमा, दिदीबहिनी, सासू, नन्द–आमाजू र अरू मान्य महिला नातेदारका रूपमा । घरबाहिर सार्वजनिक रूपमा पिताको भूमिका सांसद, मन्त्री, राज्यको स्थायी सत्ता ओगट्ने काका, मामा, दाजुभाइको जमात पितृसत्तात्मक राज्य हुन पुग्छ जसले छोरी, दिदीबहिनी र अन्य नारीको स्वतन्त्रता खुम्च्याउने संविधान र कानुन बनाउँछ । एउटा परिवारको परिधिभित्र पिता सर्वेसर्वा भएजस्तै राज्यको स्थायी सत्ता ओगट्ने पनि सर्वेसर्वा नै हुन्छन् किनभने कानुन तिनले बनाउँछन् र लागू पनि तिनैले गर्छन् ।

तसर्थ, मधेसमा पितृसत्तालाई बुझ्न यसको जरैमा जानुपर्ने हुन्छ । पिताको साँघुरो र बृहत् भूमिकालाई यसको गहिराइमा बुझ्नुपर्ने हुन्छ । नेपाली राज्यको विभेदकारी संरचनालाई पनि बुझ्नुपर्ने हुन्छ । त्यसपछि मात्र नारीहितमा तिनको चेतना कसरी जगाउने र पितृसत्तालाई कसरी भत्काउने भन्ने कुरा आउँछ ।

प्रकाशित : श्रावण १२, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

मधेसका महिलामा पुस्तान्तरण

मधेसी महिलाहरूको शैक्षिक पहुँचले समाजको लैंगिक सम्बन्धमा ब्यापक हेरफेर भइरहेको रहेछ ।
प्रमोद मिश्र, तुलानारायण साह

नेपाली समाज तातेको छ । पुरानो राजनीतिक व्यवस्था ढलेर गणतन्त्र आएपछि एकातिर सदियौंदेखि दबिएका समुदायका प्रतिनिधिहरू जुर्मुराएर उठेका छन् भने, अर्कातर्फ गाउँघरमा अझ पनि पुरातन सामाजिक ढाँचा छ र यसका हिमायतीहरू प्रत्यक्ष वा परोक्ष, सीधासीधी वा घुमाउरो पाराले पुरानो सामाजिक ढाँचाको बचाउमा लागेका छन् ।

हालैको रूपा सुनार र सरस्वती प्रधान घटनाले यसलाई एकपल्ट फेरि सतहमा ल्याएको छ । यही पुरानो र नयाँबीच, गणतन्त्र आएको दशक बितिसकेपछि पनि, कस्तो पौंठेजोरी चल्दै छ भन्ने बुझ्न हामीले डिसेम्बर २०१९ मा झापादेखि कैलालीसम्म मधेसयात्रा गरेका थियौं । यसअघि जनकपुर, मुसहर, सम्भ्रान्त, सीमाको समाज (‘लाइन खुलेको रात’) बारे हामीले आफ्ना कुरा यसै स्तम्भमार्फत पाठकसामु पुर्‍याइसकेका छौं ।

त्यस यात्राका दौरान मधेसमा महिलाको अवास्थाबारे पनि हामीलाई चासो थियो किनभने जात, लिंग र वर्ग नेपाली सामाजिकताका प्रमुख स्तम्भ हुन् । डिसेम्बर २०१९ देखि अहिलेसम्म नेपालमा कोभिड महामारीले अनेकौं सामाजिक द्वन्द्वलाई सतहमा ल्याई नै राखेको छ । २०२१ को जनवरी–फेब्रुअरीको बृहत् नागरिक आन्दोलनको महिला मार्चमा सपना सञ्जीवनीले मैथिलीमा ‘आब हम सीता नै बनबौ’ शीर्षक कवितावाचन गरेदेखि हालै महोत्तरीमा २६ वर्षीया सुजिता ठाकुरको उनको पतिको परिवारद्वारा गरिएको हत्यासम्मले हामीलाई मधेसमा महिलासम्बन्धी हाम्रो यात्रा–अनुभव र अनुसन्धानको सम्झना गरायो ।

हामीले झापाका घैलाडुब्बा र गौरीगन्ज एवं मोरङको कटहरीमा राजवंशी महिला–पुरुषसँग समूहमा संवाद गर्‍यौं । कैलालीमा थारू महिला–पुरुषसँग संवाद गर्‍यौं । हामीले सिरहाको राजमार्गछेउका बस्तीमा स्कुल पढ्ने यादव परिवारका किशोरीहरूसँग संवाद गर्‍यौं । सीमानजिक, सीमा र राजमार्गबीचका गाउँघरमा महिलाबारे स्त्री–पुरुष दुवैसँग संवाद गर्‍यौं । हामीले पूर्वी धनुषाको सीमावर्ती मुसलमान समुदायको बस्ती घुम्यौं । बालिकाहरूका लागि सञ्चालित स्थानीय मदरसामा पुग्यौं । हामीले समाज बदलिँदै गरेको पनि पायौं र पुरानै अवस्थामा पनि रहेको पायौं ।

मधेसी जनजाति (थारू, राजवंशी, धिमाल आदि) समाजमा अन्य मधेसी समाजमा जस्तो पर्दा प्रथा छैन । घैलाडुब्बा, गौरीगन्ज, कटहरीको राजवंशी भेलामा महिला–पुरुष गसँगै बसेर संवाद मात्र गरेका थिएनन्, हामी बाहिरियासँग, गाउँका युवा बुहारीले आफ्ना अग्रजसँग मुखामुख सवालजवाफ र वाद–प्रतिवादसमेत गरेका थिए । हजुरआमा पुस्तासँगै नातिनी पुस्ताका युवतीहरू निःसंकोच संवाद गरिराखेका थिए । पुरुषहरूको मुख्य गुनासो आफ्नो समाज अधोगतिमा गएको, पञ्चायत र त्यसपछिको शासन व्यवस्थाले राजवंशीलाई झापामा अल्पसंख्यक र असहाय बनाएको, जग्गाजमिन कानुनी वा गैरकानुनी रूपमा राजवंशीबाट पहाडेमा हस्तान्तरण गरेको भन्ने थियो भने, वर्तमान सामाजिक र लैंगिक अवस्था राम्रो लागेको हजुरआमा पुस्ताको अनुभव थियो । पहिलेको जमानामा महिलाले निकै बन्देजमा बस्नुपर्थ्यो । सासू–ससुरा, श्रीमान्, जेठाजुको खटनपटनमा बस्नुपर्थ्यो । घरआँगनबाट बाहिरफेर जान बन्देज थियो । तर आज त्यस्तो बन्देज छैन भन्ने तिनीहरूको भनाइ थियो । त्यस्तै, पश्चिमको कैलालीमा पनि हामीले थारू अभियन्ता र गृहिणीहरूलाई बिनापर्दा देख्यौं र हामीजस्ता बाहिरिया पुरुषहरूसँग बिनासंकोच संवाद गर्ने गरेको भेट्यौं जुन कुरा सीमावर्ती र कोर मधेसका गाउँमा कम देखिएको थियो, खास गरी सम्पन्नहरूको बस्तीमा । सम्पन्न बस्ती भन्नाले मधेसी समाजका तथाकथित उच्च र मध्यम जातकाहरू बसेको क्षेत्र ।

कैलालीमा एउटी थारू महिला पत्रकारले हामीसँगको लामो कुराकानीमा आफूलाई पिताले आफ्ना सहिद दाजुलाई जस्तै व्यवहार नगरेको, माओवादी क्रान्तिमा जान नदिएको र आफू जबरजस्ती गएपछि पिता नेतृत्वको परिवारले वर्षौंसम्म सम्बन्धविच्छेद गरेको बताइन् । यहाँसम्म कि, माओवादी पुरुष कामरेडहरूसँग एउटै घरमा गुप्तवास रहेका बेला आफ्नो काम जनअदालतमा निवेदन लेख्ने भए पनि घरमा भने आफूलाई नै खाना पकाउनेदेखि अरू घरायसी काममा लगाउने गरेको सुनाइन् । समग्रमा मधेसी महिलामध्ये मधेसका जनजाति महिलाहरूलाई हामीले बढी स्वतन्त्र पायौं ।

विराटनगरबाट हामी पश्चिम लाग्नु एक दिनअघि एउटा घरमा पाहुना बस्दा बढई (मिस्त्री) समुदायका एक आगन्तुकले स्नातकोत्तर गरी कलेज पढाउने आफ्नी छोरीका लागि वर खोज्न समस्या भएको सुनाएका थिए । आफ्नो समुदायमा पढेलेखेको वर हतपती नभेटिने उनको जिकिर थियो । हामीलाई वर खोजिदिन आग्रह गर्दै उनले योग्य भए अरू जातको पनि चल्नेसमेत बताए । ‘हामी त मधेसयात्रामा जान लागेको, भोलिदेखि सप्तरीदेखि कैलालीसम्म यात्राक्रममा तपाईंकी छोरीका लागि योग्य वर पनि नजरमा राखौंला’ भन्दा उनले भने, ‘कोशीपश्चिम त छोरी भरसक नदिने ।’ कारण सोध्दा उनको जवाफ थियो, ‘त्यता एक त दाइजो बढी माग्छन्; दोस्रो, दहेज आदिका नाममा छोरीको सुरक्षा कम हुन्छ ।’ हामीमध्ये मोरङमा हुर्केकालाई यो कुरा अझ कौतूहलको विषय बन्यो । वास्तवमा कोर मधेसमा यस्तै हुन्छ र भन्ने प्रश्न बारम्बार मनमा उठिरह्यो अनि मधेसमा महिलाको अवस्थालाई अझ नियालेर हेर्ने प्रेरणा दियो, यस संयोगको संवादले ।

भोलिपल्ट पूर्व–पश्चिम राजमार्ग र सीमाबीचमा पर्ने पूर्वी सप्तरीको गोइठी गाउँमा बास बस्यौं । बिहान कतैकतै घुर ताप्दै गाउँ डुल्ने क्रममा महिलाहरूको एउटा जमघट भेट्यौं । उमेर र ओहदाअनुसार महिलाहरू टाउकाका विभिन्न भागमा घुम्टो राखेर एक बाहिरिया युवक — जो कुर्सीमा बसेका थिए — सँग संवाद गर्दै थिए । त्यो एउटा एनजीओअन्तर्गत ऋण लेनदेनसम्बन्धी, सहकारी कारोबारसम्बन्धी भेला थियो । हामी पुग्दा ती महिलाहरूमध्ये कतिपयले उमेर र ओहदाअनुसार घुम्टो टाउकाको अघि सारेको र हामीसँग बोल्न अप्ठ्यारो मानेको पायौं । तर एक छिनको चिनजानपछि तीमध्ये अलि जान्नेसुन्ने अधबैंसे महिलाले अघि सरेर हामीसँग संवाद गरिन् । ती महिलाहरूको सामान्यज्ञान, घरबाहिरको गतिविधिबारे जान्न मन लाग्यो । ‘प्रदेश २ का मुख्यमन्त्रीको नाम के हो, थाहा छ ?’ भनेर सोध्यौं । कसैले के भने त कसैले के । त्यस भेगमा नेपाली च्यानल नआउने रहेछ, आए पनि नेपाली भाषा कम बुझ्ने भएकाले हिन्दी च्यानल ज्यादा हेर्दा रहेछन् ।

त्यस गाउँमा गाई, गोरु र भैंसीसमेतलाई जाडोमा बाक्लो कपडा ओढाएको र गाउँवरिपरिका बारीमा हरियो सागपात, तरकारी देखिन्थ्यो । तर ती महिलाहरूमध्ये अधिकांशमा रक्तअल्पताको समस्या प्रस्टै देखिन्थ्यो । हामी त्यही गाउँको मुसहर बस्तीमा पनि गयौं । तुलनात्मक रूपमा मुसहर बस्तीका महिलाहरूमा पर्दा प्रथा कम थियो र तिनले हामीसँग कुराकानी गर्नमा खासै धक मानेनन् । भ्रमणका क्रममा हामी सप्तरीका हनुमाननगर, कोइलाडी, तिलाठी र बिसनपुर; सिरहाका औरहीलगायत हुलाकी राजमार्ग छेउछाउका बस्ती; धनुषाका ठाडी झिझा; बर्दिबासको धुर्मुस–सुन्तली बस्ती र सर्लाहीको नवलपुरमा रहेको पुनर्बास टोलका दलित बस्तीहरू पनि घुमेका थियौं । मधेसका दलित समुदायमा पनि हामीले महिला–पुरुष सम्बन्ध र श्रम सम्बन्ध अन्यभन्दा फरक पाएका थियौं ।

हामी बारा जिल्लाको सीमावर्ती गाउँको मध्यम जातका एउटा सम्पन्न मधेसी परिवारमा बास बस्दा त्यस घरकी गृहिणीसँग हाम्रो बिलकुलै संवाद भएन । जबकि कैलाली र झापामा थारू र राजवंशीका घरमा भोजन भान्सामा त गर्‍यौं नै, घरका छोरीबुहारीले हामीसँग निर्धक्क कुराकानीसमेत गरे । गौरीगन्जमा हामी कलेज पढ्दै गरेकी गाभुर फ्रन्टकी कार्यकर्ताकहाँ बास बस्यौं, उनी र उनका मातापिताले हामीलाई घरभित्र र माथिको कोठामा समेत बास बस्न दिए । त्यस्तै, कैलालीमा कमैया र गैरकमैया गृहस्थ परिवार दुवै ठाउँमा हामीले झापा र मोरङका राजवंशी जमघटमा जस्तै खुलेर विचार आदानप्रदान गर्‍यौं । मधेसमा सम्भ्रान्त र सम्पन्न घरका छोरीबुहारीले बाहिरिया पुरुषसँग संवाद नगर्नु र पर्दा राख्नुलाई कुलीनताको लक्षण मान्ने चलन रहेछ । यद्यपि किशोर पुस्ताले चाहिँ साइकल चढेको र आफ्नो स्कुलमा बालविवाहविरुद्ध नेतृत्व गरेको भेट्यौं । किशोरावस्था पार गरेर युवती र गृहिणी हुँदासम्म यो उदाउँदो पुस्तामा कस्तो परिवर्तन आउला, हेर्न बाँकी छ ।

कोर मधेसमा विवाहसम्बन्धी धारणामा जडता र अग्रगामी छलाङ दुवै रहेको पायौं । माथि उल्लिखित पूर्वी सप्तरीको गाउँमा बिहान घुर ताप्दै एक किसान — जो भैंसी व्यापारी पनि हुन् — सँग लामो गफियौं । उनी चार छोरीका पिता थिए । छोरीको विवाहबारे उनको अनुभव रोचक थियो । सन् २०१८ मा कान्छी छोरीको बिहा गर्दा उनले सबैभन्दा बढी दहेज दिनुपरेको थियो । उनकी छोरीले १२ कक्षासम्म पढ्नु त्यसको कारण रहेछ, ज्वाइँ झन् बढी पढेको खोज्नुपरेकाले । अघिल्ला छोरीहरूको बिहामा तुलनात्मक रूपमा कम खर्च लागेको उनले सुनाएका थिए । उनीहरू कम पढेका वा अनपढ रहेका कारण कम दहेजमै बिहा सम्भव भएको उनको बुझाइ थियो । यो चलन कोर मधेसमा सामान्यतया मध्यम जाति बस्ने बस्तीको आमकथा रहेको थाहा भयो ।

वैवाहिक सम्बन्धमा देखिएको नयाँ कुराचाहिँ पढेलेखेका नयाँ पुस्ताका मधेसी युवतीहरूले सम्बन्धविच्छेदसम्मको जोखिम मोल्ने निर्णय लिन थालेका रहेछन् । हामीले सप्तरी घर भई हाल विराटनगरमा बसोबास गरिरहेकी एउटा शिक्षित परिवारकी युवतीसँग लामो संवाद गरेका थियौं । स्नातक तहसम्मको शिक्षा पूरा गरेकी ती युवतीको विवाह विराटनगरमै स्वजातीय जागिरे इन्जिनियर युवकसँग भएको थियो । विवाहको केही महिनामै ती युवतीले सरकारी बैंकमा जागिर पाइन् । परिवारका अन्य सदस्यले जागिर नगर्न दबाब दिन थाले । जागिर गर्ने भए एक्लै नबस्ने बरु सासूलाई पनि सँगै राख्ने दबाब दिन थाले, श्रीमान् अन्तै जागिरमा रहेका कारण । परिवारबाट निरन्तर जागिर छोड्न दबाब आउन थालेपछि ती युवतीले बरु डिभोर्स लिने तर जागिर नछाड्ने निर्णय लिइन् । हामीले भेट्दा उनले डिभोर्स लिएर जागिरलाई निरन्तरता दिइरहेकी थिइन् । उनमा पूर्ण आत्मविश्वास देखिन्थ्यो र आफ्नो वैवाहिक अतीतका नमीठा कुरा पनि बेहिचक सुनाइराखेकी थिइन् ।

हामीले जनकपुर, रौतहट, बारामा पनि प्रशस्त युवतीहरू कलेज पढ्दै गरेको देख्यौं । सिम्रौनगढको एउटा उच्च माविमा पुरुषभन्दा महिला विद्यार्थीहरूको संख्या ज्यादा रहेको जानकारी पायौं । मधेसी महिलाहरूको शैक्षिक एक्स्पोजरले समाजको लैंगिक सम्बन्धमा ब्यापक हेरफेर भइरहेको आभास मिल्यो । हामी सप्तरी र महोत्तरीका जमिनदारहरूको गाउँ भनेर चिनिएका गाउँबस्ती पनि घुमेका थियौं । सँगै सप्तरीमा विद्वान्हरूको गाउँ भनेर चिनिएको बस्ती पनि घुम्यौं । पर्दा प्रथा गरिब र दलित बस्तीमा कम तर सम्पन्नहरूको बस्तीमा कठोर रहेको देखिन्थ्यो ।

तराई मधेसमा महिलाको अवस्थालाई हामीले कसरी सैद्धान्तीकरण (थ्यौराइज) गर्ने ? सम्भ्रान्त, सम्पन्न परिवारका मधेसी महिलाहरूमा अंग्रेजी शिक्षा र काठमाडौंको एक्स्पोजर नभएको खण्डमा पर्दासम्बन्धी बन्देज छ र स्त्री–पुरुषबीच संस्कारमा जात र वर्गअनुसार लैंगिक विभेद छ, जसलाई सपना सञ्जीवनीले आफ्नो कविताद्वारा उजागर गरेकी छन् । त्यस लैंगिक संस्कारको स्रोत प्रथमतः धर्मशास्त्र हो । पारम्परिक सनातन हिन्दु धर्मावलम्बी मधेसी जनमानसमा वर्ण व्यवस्थाको र यसका पौराणिक तथा महाकाव्यका कथा एवं तिनको वैचारिकीको पकड अत्यन्तै बढी छ ।

यस वैचारिकीअन्तर्गत जात व्यवस्था र त्यसभित्र एउटा बालिकाको पालनपोषण, सामाजिकीकरण, शिक्षादीक्षा अनि पछि जातभित्र दुई परिवारबीच विवाहमा दहेज र अन्य जिन्सी लेनदेन महत्त्वपूर्ण हुन जान्छ । मधेसमा सार्वजनिक जीवनमा प्रगतिशील देखिने कतिपय शिक्षित पुरुष पनि आफ्नो परिवारको सदस्यको विवाहमा दहेजको लेनदेनमा सहभागी हुँदा रहेछन् भन्ने पनि थाहा भयो । दोस्रो, जात र दरदियाद अनि जातभित्र बिहार–यूपीका सीमावर्ती क्षेत्रसम्म फैलिएको नाताकुटुम्बको बलियो जालो पनि उत्तिकै जिम्मेवार छ, महिलाहरूको अवस्थाका लागि । तर अर्कातिर, गाउँगाउँमा खोलिएका उच्च माविहरूले गर्दा मध्यम जातका निम्नमध्यम परिवारका बालिकाहरूले पनि उच्च शिक्षामा पहुँच पाएको महसुस भयो । जिल्लाका मुख्य सहरहरूमा लोकसेवा तयारी कक्षाका बोर्डहरू प्रशस्तै देखिन्थे ।

मधेसका सहरहरूमा कस्मेटिक सामग्री र गहनाका पसलहरू पनि प्रशस्तै रहेको पायौं । त्यस्ता पसलहरूमा दिउँसो ग्रामीण भेगका महिलाहरूको प्रशस्तै भीड लाग्ने गरेको देखियो, सुनियो । गाउँगाउँमा रेमिट्यान्सका कारण महिलाहरूमा कस्मेटिक सामग्रीको खपत अत्यन्तै बढेको र आफूलाई फिटफाट देखाउने ऊर्जा देखिन्थ्यो । रेमिट्यान्ससँगै फेसबुकजस्ता सामाजिक सञ्जालहरूमा आफ्नो उपस्थिति जनाउनुपर्ने अभ्यास बढेकाले पनि यो चलन आएको हुन सक्छ । त्यसैले त ससाना ग्रामीण बजारमा पनि ब्युटिपार्लरका बोर्डहरू प्रशस्तै देखिए, जहाँ केही महिलाले रोजगारी पाएका थिए भने अरूले शृंगार गरेर आधुनिकता र विश्वव्यापीकरणमा सहभागी हुने आकांक्षा व्यक्त गरिराखेका थिए ।

कतिपय मदरसा बालिकाहरूको शिक्षाका लागि खोलिएको पनि भेट्यौं जहाँ महिला–पुरुष दुवैले पढाइरहेका थिए । हुनेखाने परिवारका बालिकाहरू उच्च शिक्षाका लागि काठमाडौंमा बस्ने र सरकारी जागिरका लागि तयारी कक्षा (कोचिङ) लिने गर्दा रहेछन् । दिवा सेवामा चल्ने माइक्रोबस र काठमाडौंलगायत मुख्य सहरहरूमा खुलेका महिला छात्रावासले ग्रामीण समाजमा युवती शिक्षालाई टेवा दिएको थाहा भयो । रात्रिबस चढ्न नपर्ने, काठमाडौंलगायतका मुख्य सहरहरूमा भाडामा बस्नलाई कोठा खोजिराख्न नपर्ने, सजिलै छात्रावासमा बस्न मिल्ने भएर अभिभावकहरू पनि ढुक्क हुने अवस्था सृजना भएको अनुभव पनि कतिपयले सुनाएका थिए ।

संघीयताले मधेसलाई प्रदेश २ दिएको छ । प्रदेश सरकारले महिलाका लागि केही दूरगामी कदम चालेको छ । बेटी पढाऊ बेटी बचाऊ अभियान, स्कुले बालिकालाई साइकल वितरण, छोरी जन्मिँदा बिमा र प्रदेश सरकारले भर्ना गर्ने, सबै निकायमा महिलाका लागि ५० प्रतिशत आरक्षणजस्ता कदमले गर्दा महिलाहरूमा निकै आत्मविश्वास जागेको हुनुपर्छ र आउँदो पुस्ताका महिलामा परिवर्तनको आशा गर्न सकिन्छ, यदि यी कार्यक्रमहरू लागू भइराखे भने ।

मधेसमा गणतन्त्र आएदेखिका यी सबै अन्तरसंघर्षलाई समेट्ने नयाँ पुस्ताका उदीयमान महिला प्रतिनिधि पात्रहरू पनि सार्वजनिक मञ्चमा देखिन थालिसकेका छन् । कवितामा सपना सञ्जीवनी, पेन्टिङमा रञ्जु यादव र पल्लवी पायल उदीयमान व्यक्तित्व हुन् । सञ्जीवनीका कविताहरूमा महिला उत्पीडनको स्रोत र वैचारिकीविरुद्ध विद्रोह छ एवं त्यही भावना पल्लवी र रञ्जुका मिथिला पेन्टिङमा अभिव्यक्त भएको छ ।

समग्रमा मधेसका गाउँहरूमा परिवर्तन कछुवा गतिमा रहे पनि पुस्तान्तरण जारी छ । संघर्ष चलिरहेको छ । जनकपुरको एउटा सरकारी प्रवचन गोष्ठीमा महिला उपस्थिति अत्यन्तै न्यून रहेको पायौं तर उदाउँदो पुस्ताका लागि राजनीतिक नेतृत्वले स्कुले बालिकाबारे जनमानसमा चेतना जगाउने काम गरेको छ । यसको धरातलमा ठोस परिणाम, आजका बालिकाहरू भोलि महिला हुँदा कस्ता होलान्, त्यो भविष्यले बताउला तर मधेसमा पुरातन र नयाँबीच द्वन्द्वात्मक संघर्ष जारी छ ।

प्रकाशित : असार २७, २०७८ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×