कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

३५ दिनपछि उडेको थियो सौर्यको जहाज

अन्तिम व्यावसायिक उडान असार ४ मा भद्रपुर र विराटनगर गरेको थियो
सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरको सीआरजे जहाज ३५ दिनयता उडानमा नभएको देखिएको छ । मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज बुधबार पोखरा उड्दै थियो ।

३५ दिनपछि उडेको थियो सौर्यको जहाज

नागरिक उड्डयन प्राधिकरणका एक उडान निरीक्षकका अनुसार त्यस जहाजले अन्तिम व्यावसायिक उडान भद्रपुर र विराटनगरका लागि गरेको थियो । जसलाई सौर्यका उपमहाप्रबन्धक उमेश आचार्यले पनि पुष्टि गरेका छन् । ‘जहाजको ल्यान्डिङ गियर मर्मत क्यालेन्डर विधिअनुसार १८ जुन (असार ४) पछि रोक्नुपर्ने भएकाले व्यावसायिक उडानमा प्रयोग गरिएको थिएन,’ उनले भने ।

सौर्यसँग तीन वटा सीआरजे विमान छन् । तर, बुधबारसम्म उसले व्यावसायिक उडानमा एउटा (अल्फा नोभेम्बर माइक) जहाज मात्रै राखेको थियो । अल्फा माइक इको दुर्घटनामा परेपछि अर्को निर्णय नभएसम्म काठमाडौंबाट भद्रपुर र विराटनगरका लागि गर्दै आएको व्यावसायिक उडान स्थगन गरिएको सौर्यका मार्केटिङ प्रमुख मुकेश खनालले जानकारी दिए ।

सौर्यका उपमहाप्रबन्धक आचार्यका अनुसार बुधबार दुर्घटनामा परेको जहाजमा प्रयोग गरिएको ल्यान्डिङ गियर मर्मतका लागि एक वर्षअघि क्यानडा पठाइएको थियो । ल्यान्डिङ गियर मर्मत गरेर ल्याइएपछि एक साताअघि मात्र उक्त जहाजमा जडान गरिएको थियो । त्यसअघि थन्क्याइएको जहाजको ल्यान्डिङ गियर झिकेर प्रयोग गरिएको थियो ।

सौर्यले उक्त जहाज ०७३ चैतमा नेपाल ल्याएको हो । जहाजको दर्ता प्रमाणपत्रअनुसार ०८१ वैशाखसम्म २८ हजार ७ सय ८५ घण्टा उडिसकेको थियो । यसको प्रमाणपत्रको अन्तिम म्याद ०८२ वैशाखसम्म छ । जहाजका लागि नियमनकारी निकायले प्रदान गर्ने अर्को महत्त्वपूर्ण प्रमाणपत्र एयरओर्दिनेस (उडान योग्यता) को हो, जसको म्याद ०८३ वैशाखसम्म छ । हरेक दुई वर्षमा हुने सी–चेकका लागि प्राधिकरणबाट अनुमति लिएर जहाज बुधबार पोखरा लगिँदै थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुन लागेको सी–चेकका लागि सौर्यले टर्कीबाट बोलाइएका दुई जना प्राविधिक आगामी बुधबार नेपाल आउँदै थिए । चार दिनअघि एक ट्रक स्पेयर पार्ट्स पोखरा पुर्‍याइएको थियो ।

नेपालमा बर्सेनिजसो हवाई दुर्घटना हुने क्रम नरोकिएपछि बिहीबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पर्यटनमन्त्री बद्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कांग्रेस सांसद उदयशमशेर राणाले नेपालको उडान सुरक्षा सुधार्न प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थामा विभाजन गर्न बनाइएको विधेयक अघि बढाउन पर्यटनमन्त्री पाण्डेलाई आग्रह गरे । अन्य सांसदले नेपालको हवाई सुरक्षालाई प्रभावकारी बनाउन स्वायत्त नियमनकारी निकाय बनाउनुपर्ने बताए ।

नेपालभित्र हुने कुनै पनि गैरसैनिक हवाई उडान दुर्घटनाको कारण पत्ता लगाउन दुर्घटना जाँचबुझ आयोग अनिवार्य बनाउनुपर्ने कानुनी व्यवस्था छ । मन्त्रिपरिषद्ले यो दुर्घटनामा जाँच गर्न बुधबार ५ सदस्यीय आयोग गठन गरिसकेको छ । संसदीय समितिको बैठकमा प्राधिकरणका महानिर्देशक अधिकारीले आयोगबाट छानबिन सुरु भइसकेकाले आफूहरूले जहाज दुर्घटनाबारे बोल्न नमिल्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल र कांग्रेस सांसद राणाले अन्य मुलुकमा हवाई दुर्घटना हुँदा पर्यटनमन्त्री र नियमनकारी निकायका प्रमुखले पदबाट राजीनामा दिने प्रचलन रहेको बताए । यस सम्बन्धमा महानिर्देशक अधिकारीको जवाफ थियो, ‘माननीयहरूले व्यक्तिगत पूर्वाग्रह राखेर दुर्घटनालगत्तै महानिर्देशकले राजीनामा दिनुपर्ने बताउनुभयो । तर, अहिलेसम्मका प्रतिवेदनले अधिकांश घटनामा पाइलटलाई दोषी देखाएका छन् न कि महानिर्देशकलाई ।’

महानिर्देशक अधिकारीले प्राधिकरण विभाजन गर्न बनाइएको विधेयक अघि बढाइए कुनै आपत्ति नहुने धारणा कान्तिपुरसँग राखे । ‘उडान सुरक्षा सुधार हुने भए दुई वटा संस्था बनाउने ऐन वा अध्यादेश नै ल्याउँदा पनि प्राधिकरणलाई मान्य हुन्छ,’ उनले भने, ‘तर, दुर्घटना हुनेबित्तिकै महानिर्देशकले राजीनामा दिनुपर्ने भए सडक दुर्घटना हुँदा सडक विभागको महानिर्देशकले पनि राजीनामा दिए के सडक दुर्घटना न्यूनीकरण हुन्छ ?’ दुर्घटना जाँचबुझ आयोगले दुर्घटनाको कारण पहिचान गर्ने, दुर्घटनामा भएको मानवीय तथा यान्त्रिक कमीकमजोरी उजागर गर्ने, सुरक्षाका लागि अपनाउनुपर्ने उपाय सिफारिस गर्ने र भविष्यमा दुर्घटना रोकथामका लागि सूचनाको संकलन तथा विश्लेषण गर्ने उनले बताए ।

‘आयोगको प्रतिवेदनले दण्ड–सजाय भने तोक्दैन,’ उनले भने, ‘आयोगले थप दुर्घटना हुन नदिन सचेत गराउने हो । आयोगले भटाभट दोषी देखाउँदै दण्ड–सजाय तोक्न थाल्यो भने वायुसेवा कम्पनीहरूको विकास हुँदैन । बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ जाँच आयोगको प्रतिवेदन जहाज उत्पादक कम्पनी, अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) र युरोपियन युनियनअन्तर्गतको एभिएसन सेफ्टी एजेन्सी (इयासा) लगायत सरोकार निकायलाई अनिवार्य प्रदान गर्नुपर्छ ।


प्रकाशित : श्रावण ११, २०८१ ०५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×