कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

क्याप्टेन शाक्यको अवस्था स्थिर

अनुहारका विभिन्न स्थानमा गहिरो चोट, मेरुदण्डको ‘एल २’ भाग र करङका तीन हड्डी भाँचिए
स्वरूप आचार्य

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमान चालक मनीषरत्न शाक्य मात्रै बाँच्न सफल भएका छन् । विमान दुर्घटनामा १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्यको भने सकुशल उद्धार गरिएको थियो ।

क्याप्टेन शाक्यको अवस्था स्थिर

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटनामा परेको थियो । त्यसको करिब २ मिनेटपछि नै विमानको अग्रभाग ठोकिएको स्थानमा पुगेर दमकलले पानी हाल्न थालिसकेको थियो । करिब २० मिनेटमा चालक शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइएको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरेको समयमा उनी बोल्न सक्ने अवस्थामा थिए । उनले त्यति बेला ‘म ठीक छु, अरूलाई हेर्नु’ भनिरहेका थिए । त्यसपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो ।

अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा पनि उनी बोल्न सक्ने अवस्थामा नै थिए । उपचारमा खटिएका एक चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ । आठौं, नवौं र दसौं करङ भाँचिएको छ ।

चिकित्सकका अनुसार शाक्यलाई सूक्ष्म निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । ‘हामीले अब्जर्भेसन गरिरहेका छौं । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । हालको अवस्था हेर्दा उहाँ खतरामुक्त नै हुनुहुन्छ,’ ती चिकित्सकले भने । विमानचालक शाक्यको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली बुधबार साँझ काठमाडौं मेडिकल कलेज पुगेका थिए ।


प्रकाशित : श्रावण ९, २०८१ २२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×