कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भारतीय प्राविधिकलाई पनि त्रिशूलीको वेग चुनौती

रातिदेखि परेको वर्षाले आइतबार बिहानैदेखि त्रिशूलीको धार तीव्र बनेपछि भारतीय उद्धार टोली नारायणी नदीतर्फ खोजीमा लागेको थियो
रमेशकुमार पौडेल

चितवन — लेदोसहितको पहिरोमा परी असार २८ देखि नै हराइरहेका दुई बस र यात्रुको खोजीमा सोनार क्यामेरासहित जुटेको भारतीय प्राविधिक टोलीलाई पनि त्रिशूलीको उर्लंदो भेल चुनौती बनेको छ । नेपालमा जल विपद् उद्धारमा संलग्न हुँदै आएको सशस्त्र प्रहरीको टोलीसहित भारतीय टोली आइतबार बिहानदेखि नै सिमलतालदेखि तल्लो क्षेत्रमा खोजीमा निस्केको थियो ।

भारतीय प्राविधिकलाई पनि त्रिशूलीको वेग चुनौती

यतिबेला त्रिशूलीको पानी धमिलो त छ नै, वेग पनि तीव्र छ । टोलीले साढे तीन किलोमिटर तल घुमाउनेसम्म आएर त्रिशूली नदीको उद्धार कार्य रोक्यो अनि देवघाटस्थित नारायणी नदीमा खोजी सुरु गरेको थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीले घटनास्थलदेखि घुमाउनेसम्म त्रिशूली नदीमा र देवघाटदेखि काब्रेघाटसम्म नारायणीमा गरी झन्डै १४ किमि क्षेत्रमा खोजतलास गरेको जानकारी दिए । टोलीले घुमाउनेदेखि देवघाटसम्म त्रिशूलीको १६ किमि क्षेत्रमा सोमबार खोजी गर्ने भएको छ । पानीको वेग धेरै भएका कारण भारतीय टोली त्रिशूलीमा थप खोजतलास गर्न तम्सेन ।

टोलीमा रहेका एक भारतीय प्राविधिकका अनुसार शनिबार साँझसम्म त्रिशूलीको बहाव सामान्य थियो । तर राति परेको वर्षाले आइतबार बिहानैदेखि नदीको धार तीव्र बन्यो । जसका कारण मोटरबोट र त्यसमा राखिएको सोनार क्यामेराको तालमेल मिलाएर काम गर्न हम्मेहम्मे परेको थियो । त्यसैले टोली धार कम भएको क्षेत्रमा खोजी गर्न देवघाट लागेको हो । भारतीय प्राविधिकले नदीको तीव्र धारमा सोनार राखे क्षति पुग्ने अवस्था आउने बताए । त्यसैले टोलीले त्रिशूलीको धार कम हुने प्रतीक्षा गर्दै जहाँ धार कम छ, त्यहाँ खोजी गरेको हो ।

शनिबार आइपुगेका भारतीय प्राविधिकले तीन वटा सोनार क्यामेरा ल्याएका छन् । त्यसैगरी टोलीमा नदीभित्र गएर खोज्न सक्ने तालिम प्राप्त चार गोताखोरसहित १२ जना छन् । सोनारले पानीभित्र रहेको वस्तुबारे संकेत गर्छ । मोटरबोटमा बसेर प्राविधिकहरूले ल्यापटपमा ती संकेत विश्लेषण गर्छन् । बससँग मिल्ने आकृति आएमा त्यसलाई पक्का गर्न गोताखोरहरू नदीभित्र पस्नेछन् । सशस्त्र प्रहरीले पनि सोनार र गोताखोरसहित खोजी गर्दै आएको छ ।

भारतीयको सोनार नेपालको भन्दा केही परिस्कृत र प्राविधिक अनुभवी रहेको सशस्त्रका अधिकारीहरू बताउँछन् । हाल खोजीमा जुटेका भारतीय प्राविधिक नेपालको जस्तै भूबनोट रहेको उत्तराखण्ड र हिमाञ्चलका नदीभित्र काम गरिसकेका हुन् । उस्तै भूगोल रहेको नेपालमा आफूलाई काम गर्न गाह्रो नभए पनि प्रविधिलाई सही तरिकाले प्रयोग गर्न नदीको धार पनि अनुकूल हुनुपर्ने उनीहरू बताउँछन् ।

गत असार २८ को बिहान झिसमिसेमा नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिन्दूरेगैरामा लेदोसहितको पहिरोमा परेर हराएका दुई बसमा सवार ६५ जनामध्ये तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । बससँगै हराएका बाँकी ६२ जनामध्ये आइतबारसम्म २१ पुरुष र चार महिला गरी २५ शव फेला परेका छन् । जसमध्ये १६ पुरुष र २ महिला गरी १८ जना बसका यात्रुको शव भएको पुष्टि भएको छ ।

शवहरू घटनास्थलभन्दा निकै तल १ सय ३ किमि पर रहेको नारायणी नदीको तट र भारतीय क्षेत्रमा समेत फेला परेपछि चितवन प्रशासनले शवको खोजीमा भारत उत्तरप्रदेशको महाराजगन्ज र बिहारको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीसँग पनि समन्वय गरेको छ । हराइरहेका दुई बसमा ९ जना भारतीयसमेत थिए । जसमध्ये पाँच भारतीयको शव फेला परिसकेको छ ।

प्रकाशित : श्रावण ७, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×