कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बंगलादेशबाट पूर्वी नाका हुँदै फर्किए साढे ७ सय विद्यार्थी

पर्वत पोर्तेल

झापा — सरकारी सेवामा गरिएको विशेष आरक्षण व्यवस्थाको विरोधमा जारी आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशबाट नेपाली विद्यार्थी धमाधम घर फर्किरहेका छन् । पूर्वी नाका काँकडभिट्टाबाट एक सातायता सात सयभन्दा बढी नेपाली विद्यार्थी स्वदेश आइपुगेका छन् भने ढाकाबाट हवाईमार्ग हुँदै ५६ विद्यार्थी आइतबार बिहान काठमाडौं उत्रिएका छन् । 

बंगलादेशबाट पूर्वी नाका हुँदै फर्किए साढे ७ सय विद्यार्थी

काँकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार तीन दिनयता मात्रै करिब साढे ३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । काँकडभिट्टाबाट करिब ३५ किमि दूरीमा बंगलादेशको सिमाना पर्छ । फूलबारी–बंगलाबन्ध मार्ग हुँदै नेपाली घर फर्किइरहेका छन् । पूर्वी नाका भएर बिहीबार ८५ विद्यार्थी आएका छन् ।

शुक्रबार १ सय १४, शनिबार १ सय ४१ जना र आइतबार १ सयभन्दा बढी विद्यार्थी आएका अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । ‘एक सातायता ७ सयभन्दा बढी विद्यार्थी घर फर्किसकेका छन्,’ अध्यागमन कार्यालय प्रमुख मोहनलाल पनेरुले भने, ‘विद्यार्थी आउने सिलसिला अझै केही दिन जारी रहने अनुमान छ ।’

बंगलादेशमा करिब ३ हजार नेपाली अध्ययनरत रहेको अनुमान छ । राजधानी ढाकाका साथै रंगपुरलगायतका सहरमा रहेका मेडिकल कलेज, कृषि कलेजमा नेपाली अध्ययरनत छन् । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार साँझसम्म आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार शुक्रबार मात्र १ सय ५७ नेपाली विद्यार्थी बंगलादेशको सीमा पार गर्दै भारतको मेघालय प्रवेश गरेका थिए । बंगलादेशको उत्तरी क्षेत्र रंगपुरस्थित डेन्टल कलेजमा अध्ययनरत काठमाडौंकी सुजा क्षेत्रीले आन्दोलनका कारण बंगलादेशभरि नै सञ्चार सम्पर्क अवरुद्ध रहेको बताइन् । उनका अनुसार इन्टरनेट, टेलिफोन बन्द गरिँदा परिवारसँग सम्पर्क टुटेको थियो ।

‘कलेजले बंगलाबन्ध नाकासम्म पुर्‍याइदिएपछि हामी नेपाल आएका हौं,’ अध्यागमन कार्यालय काँकडभिट्टा परिसरमा आइतबार भेटिएकी सुजाले सुनाइन्, ‘ढाका लगायतका सहरबाट पनि नेपाली विद्यार्थी घर फर्किरहेका छन् ।’ रंगपुरको कम्युनिटी मेडिकल कलेजमा अध्ययनरत काठमाडौंकी विविशा नेउपानेले राजधानी ढाकामा आन्दोलनको प्रभाव बढी रहेको जानकारी दिइन् ।

‘हाम्रो क्षेत्रमा प्रभाव कम थियो तर पनि कलेजले हामीलाई सुरक्षाका कारण घर पठाएको हो,’ उनले सुनाइन् । उनका अनुसार कतिपय नेपाली विद्यार्थी होस्टेलमै रहेका छन् । हवाईमार्गबाट आएका ५६ विद्यार्थी भने आइतबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए ।

प्रकाशित : श्रावण ७, २०८१ ०६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×