कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

गर्मी छल्न कन्याम

पर्वत पोर्तेल

इलाम — हिउँदमा झैं बाक्लो हुस्सु, त्यसमाथि चिसो सिरेटो । चर्को गर्मीमा यत्ति भए के चाहियो ? इलामको पर्यटकीय गन्तव्य कन्यामको मौसम प्रायः यस्तै देख्न पाइन्छ । त्यही भएर तराईको चर्को गर्मी छल्न पर्यटक कन्याम उक्लिने क्रम बढेको छ । ‘शनिबार र आइतबार भीडभाड थेगिनसक्नु हुन्छ,’ स्थानीय व्यवसायी जीवन थापाले भने, ‘अन्य दिन पनि आन्तरिक पर्यटकको आगमन उल्लेख्य नै हुन्छ ।’ 

गर्मी छल्न कन्याम

छिमेकी जिल्ला झापा, मोरङ र सुनसरीका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीदेखिका पर्यटक गर्मी छल्न कन्याम उक्लिन्छन् । पर्यटक बोकेर आएका सवारीसाधनले राजमार्ग नै ढाक्ने गरेका छन् ।

कन्याम झापाको चारआलीदेखि करिब ३० किलोमिटर टाढा पर्छ । झापा–इलामको सीमावर्ती क्षेत्र जोरकलश उक्लिनेबित्तिकै इलामको शीतलताले माया लाउन थाल्छ । कोल्वुङ, कुटिडाँडा, हर्कटे हुँदै कन्याम पुग्दा त बाक्लो हुस्सु अंगालो मार्न आइपुग्छ । ‘कन्यामको शीतलता अनुभूत गर्नैका लागि हामी यहाँ आएका हौं,’ दार्जिलिङबाट पहिलो पटक परिवारसहित घुम्न आएका एक भारतीय पर्यटकले भने, ‘कन्याम यस्तो मनमोहक होला भन्ने त सोचेकै थिइनँ ।’

यहाँको प्राकृतिक सुन्दरतासँगै घोडचढी अर्को विशेषता हो । यहाँ आइपुग्ने पर्यटक घोडा चढेर पनि रमाउने गरेका छन् । कन्यामको अग्लो टाउकोमा छ लभडाँडा । जहाँबाट कन्यामको सौन्दर्य अवलोकन गर्न सकिन्छ । हरियो र मनमोहक चियाबारीले पर्यटकको मन लोभ्याउँछ ।

सूर्योदय नगरपालिका–६ का अध्यक्ष सूर्यकुमार बस्नेतले तराईमा गर्मी बढेपछि कन्याममा आन्तरिक पर्यटकको भीड बढ्ने बताए । ‘जब जब तराईमा गर्मी चर्किन्छ, तब कन्याममा खुट्टा राख्ने ठाउँ हुँदैन,’ उनले भने, ‘बर्खायामको मौसममा पनि दैनिक करिब ३ हजार हाराहारीमा आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।’

प्रकाशित : श्रावण ६, २०८१ ०६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×