कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘विकेन्ड डेस्टिनेसन’ बन्दै टिस्टुङ

अर्जुनसिंह ठकुरीले ‘ॐ अध्याय रिट्रिट’ रिसोर्ट खोलेपछि मकवानपुरको थाहा नगरपालिका–६ टिस्टुङमा चहलपहल बढेको छ । सहरको कोलाहलबाट एक/दुई दिनका लागि भए पनि मुक्त हुन चाहनेहरूको सप्ताहान्तमा रिसोर्टमा भीड लाग्ने गर्छ । 
दीपक सापकोटा

काठमाडौँ — गुँड सम्झेर साँझ चरा आएजस्तो, गाउँ सम्झेर घर फिरेको कुनै परदेशीको आगमनको अर्थ नै बेग्लै रसले मधुरो हुँदोरहेछ । जस्तो कि, पचासको दशकतिर सहर पसेका अर्जुनसिंह ठकुरी केही वर्षअघि गाउँ फिरे । 

‘विकेन्ड डेस्टिनेसन’ बन्दै टिस्टुङ

टिस्टुङलाई पहिलेभन्दा बढी मोहक र रमझमयुक्त बनाउन उनको पनि भूमिका छ । मानौं, कवि भूपाल राईको बहुचर्चित कविता ‘दाजै कविता गाउँमै छ’ लाई मन–मस्तिष्कमा बोकेर यतिबेला उनी आत्मसमीक्षा गर्दैछन्– मैले मेरो गाउँमै केही गर्नुछ, यहीँका केटाकेटीलाई पौरखी बनाउनु छ । हो, उनी गाउँका केटाकेटीलाई पौरखी बन्ने मार्ग देखाइरहेका छन् ।

असारको सुरुवाती झरीमा भिज्दैभिज्दै पुगिएको हो, तर भोलिपल्ट टिस्टुङ–चित्लाङ–कुलेखानी घमाइलो भइरह्यो । केही रोमाञ्चजस्तो अनुभूतिले समातिरह्यो । असारको बर्खे झरीपछि खुलेको त्यो दिन अर्जुनसिंह आफ्नै गाउँमा थिए । र, त्यही गाउँ टिस्टुङ (मकवानपुर) को महिमामण्डन गर्दै थिए । लाग्थ्यो, गाउँ सम्झेर नियास्रिएको केटो गाउँ पुगेपछि आफ्नै अन्तरयात्रामा मग्न छ ।

अर्जुनले टिस्टुङमा ‘ॐ अध्याय रिट्रिट’ रिसोर्ट खोलेपछि उनको गाउँ–आगमन बढेको हो । पश्चिमी किनारमा घाम डुबेसँगै रिसोर्ट अनेक रंगीन बत्तीहरूमा झलमल्ल बल्छ । भव्य रिसोर्टले अत्याधुनिक सहर ठमेल सम्झाउँछ ।

ॐ अध्यायबारे अर्जुनका साथीहरू भन्थे– यो त खोल्सामा फुलेको फूल हो । ‘हामी गाउँकै स्थानीय उत्पादन प्रयोग गर्न चाहन्थ्यौं । रिसोर्ट छेउकै खोलाको साग टिपेर खान्थ्यौं,’ अर्जुन भन्छन्, ‘साथीहरूले भनेझैं रिसोर्टले खोल्सामा फुलेको फूल भएर सधैं बास्ना छरिरहोस् ।’

अर्जुनले ८ वर्षअघि सुरु गरेका हुन्, ॐ अध्याय रिट्रिट । त्यतिबेला उनले रिसोर्टभन्दा पनि साथीभाइ बसेर रमाउने ठाउँ बनाउन चाहन्थे । त्यसैले ५० लाख रुपैयाँ खर्चेर आफ्नै गाउँको जग्गामा फार्म हाउस चलाए, आठ कोठे घरमा । तर, अन्तरालमा विदेशी र घुमन्ते नेपाली पनि आउन थाले फार्म हाउसमा । अब ८ कोठाले पुगेन, त्यसपछि उनले फराकिलो सपना देखे ।

अर्जुनका अनुसार, रिसोर्टमा जग्गाबाहेक अहिलेसम्म २५ करोड रुपैयाँ खर्च भइसकेको छ । शुक्रबार–शनिबार रिसोर्ट भरिभराउ हुन्छ । अर्जुन चाहन्छन्, आफ्नो रिसोर्टमा आउनेहरूको समय ‘कोठामा होइन, शान्त बगैंचामा’ बितोस्– मगमग फूलहरूको माझमा, जहाँ मौरी भुनभुनाइरहेका हुन् । सहरका मान्छेहरू व्यस्त समयबाट ताजगी र स्फूर्ति प्राप्त गर्न यो चिसो चन्द्रागिरि डाँडा चढ्छन्– योग–ध्यान गर्न, खेल्न वा संगीतमा रमाउन वा जंगलतिर बरालिन वा कुलेखानीमा डुंगा चढेर नजिकका गाउँतिर हाइकिङ गर्न । २२ रोपनीमा फैलिएको रिसोर्टमा सम्मेलन कक्ष, कन्सर्ट हल, स्विमिङ पुल, चिल्ड्रेन पार्क र हेलिप्याड छन् ।

सहरको कोलाहलबाट एक/दुई दिनका लागि भए पनि मुक्त हुन चाहनेहरूको हूल रिसोर्टमा चम्किएका थुप्रै रंगीविरंगी बत्तीमाझ डिजे–म्युजिक र लाइभ–ब्यान्डमा नाचिरहेको हुन्छ । स्विमिङ पुल छेउछाउमा पेयमा रमाइरहेका वा डाँडामा क्याम्प फायर गर्नेहरू पनि देखिन्छन् उत्तिकै ।

‘यहाँ सहर र घरभन्दा स्वतन्त्रता अनुभव हुन्छ । डाँडातिर डुले पनि भो, रिसोर्टमा भावुक म्युजिक सुनेर बसे पनि भो,’ उनीहरू भन्छन् । बिहान सुरु भएसँगै रिसोर्टको वरिपरिका डाँडाकाँडामा देखिन्छन् युवायुवती । कोही खेलकुदमा रमाइरहेका देखिन्छन् त कोही घोडा चढेर डाँडा उक्लिरहेका । लोकल कुखुरा, हाँस, ढिँडो, गुन्द्रुक, फापर, सिस्नो खाने रहरले रिसोर्ट पुग्नेहरूको पनि कमी छैन ।

पहाडको एउटा अँध्यारो बस्ती टिस्टुङलाई गुलजार बनाएको छ, रिसोर्टले । यो ऐतिहासिक चित्लाङ–थानकोट सडकले हाम्रो नेपाली इतिहास र राजनीतिको बिर्सिसकिएको पुरानो कथा वाचन गर्छ । २०११ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघि काठमाडौंलाई मधेश र भारतसँग जोड्ने मार्ग यही एउटै त थियो । यो त्यही पुरानो बाटो हो, जुन कुनै समय नेपाली राणाकालीन समयको लाइफलाइन थियो । ऊबेलाका पुराना मान्छेहरूले यही बाटो भएर हिटलरले राजा महेन्द्रलाई प्रेमले उपहार दिएको भनिएको त्यो कार बोकेरै काठमाडौं पुर्‍याएका थिए । मार्ग थियो– रक्सौल, वीरगन्ज, सिमरा, हेटौंडा, भीमफेदी, कुलेखानी, चित्लाङ, चन्द्रागिरी हुँदै काठमाडौं ।

राणा शासनको चर्को विरोधपछि बीपी कोइरालालाई हत्कडी लगाएर हिँडाइएको बाटो यही हो वा हो यो– पुष्पलाल श्रेष्ठ भारत प्रवास हिँडेको बाटो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको असरदार एक कविता छ– ‘यात्री’ । भनिन्छ, उनी यही बाटो हुँदै कतै जाँदै थिए, बाटैमा उनले त्यस कविता लेखेका थिए ।

अर्जुनसिंह ठकुरी यही टिस्टुङमा हुर्किए । उनी सोचिबस्छन्– छेउमै हेटौंडा त विकास भयो, तर काठमान्डु पुग्ने बीचका बस्तीहरू उस्तै रहे । अर्जुनसिंहलाई लाग्छ– मेरो टिस्टुङमा सपना, श्रम अनि संस्कृति पनि छ । तर, सपना बोकेर विदेश गइरहेका युवायुवतीको हूल छ । ‘त्यसैले ती युवालाई कसरी यहीं रोक्ने ?’ अर्जुनसिंह भन्छन्, ‘खासमा हामीले गाउँ नचिनेका हौं । यहाँ दुःख त छ, तर सबैथोक छ गाउँमै ।’

ॐ अध्याय रिट्रिटमा छन्– ३३ जना स्थायी कर्मचारी, जो सबै टिस्टुङकै हुन् । तिनलाई उनैले तालिम दिलाएर रोजगारी पनि दिएका हुन् । ‘गाउँका पढेलेखेका बेरोजगार र विदेश जाने चक्करमा डुलिरहेकालाई तालिम दिएर जागिर दिएको हुँ’, अर्जुनसिंह भन्छन्, ‘३/४ जनाको समूह बनाएर काठमान्डुका तारे होटलमा ट्रेनिङ दिलायौं । तिनले सडकका भ्यारभ्यारे मःम होटलदेखि स्टार होटलसम्म पुगेर तालिम लिए ।’

अर्जुनको चाहना एउटै हो– टिस्टुङलाई ‘विकेन्ड डेस्टिनेसन’ बनाउने । थाहा नगरपालिका–६ को यो बत्तीमुनिको अँध्यारो गाउँले ३८/४० सालतिरै कुलेखानी प्रोजेक्टमार्फत काठमाडौंलाई झिलिमिली पारेको थियो । तर, कुलेखानीभन्दा ५ किलोमिटर मात्रै परको उनको गाउँमा ५२ सालमा बल्ल बिजुली पुग्यो । अर्जुनले टुकी बालेरै पढे । गाउँमा ‘पिक आवर’मा सय वाटको बत्ती बल्दा ‘फिलामेन्ट’ मात्रै बलिरहेको सम्झना छ उनीसँग । र, त्यो ‘फिलामेन्ट’ मुनि उनी टुकी बालेर पढिरहेका हुन्थे । टिस्टुङ–पालुङ खासमा उबेलाका ट्रक चालकहरूको खाना खाने ‘जक्सन’ थियो ।

टिस्टुङमा मंसिरदेखि माघसम्मै खडेरी पर्थ्यो । धान, मकै, कोदो, फापर त फल्थ्यो, तर वर्षभरि खान पुग्दैनथ्यो । त्यसपछि धेरै फापरसँग थोरै चामल साटिन्थ्यो । घरमा दुःख कत्ति थियो भने अर्जुनले मेला, पर्म र गोठालो गएरै पढेका हुन् । स्कुल भर्ना गर्ने पैसा पनि थिएन, तर हरेक वर्ष कक्षामा सर्वोत्कृष्ट अंक ल्याउँथे उनी । त्यसैले छात्रवृत्ति पाएरै पढे– ग्रिनलेज बैंक (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंक) ले एक कार्यक्रमअन्तर्गत उनलाई ८, ९ र १० कक्षामा छात्रवृत्ति दिएको थियो, वार्षिक ९ सय रुपैयाँको ।

बाल्यकालीन ग्राम्य दिनका केही स्मृतिमा पसिहेर्दा अर्जुन आनन्दविभोर हुन्छन् । रातो माटो पोतिएको उनको कोठाको भित्ताको डोरीमा झुन्डिएको हुन्थ्यो,पानासोनिक रेडियो । रेडियोमा किशोर कुमारको ‘दर्द भरे नगमे’ सुन्दै कापीमा अर्जुन रातैभरि लगातार लेखिरहन्थे– अंग्रेजी र हिसाब ।भएका सबै कापी भरिन्थ्यो । कहाँ लेख्ने ? छटपटी हुन्थ्यो । अनि अक्सर ड्रमको पानीमा रातभरि लेखेको त्यो कापी भिजाउँथे, मसी बगेर जान्थ्यो । र, कापीलाई पत्करमा सुकाउँथे । सुकिसकेपछि कक्रक्क परेको त्यो कापीलाई सिरानमा ३, ४ दिनसम्म थिचेर राख्थे । र, त्यसमा फेरि पेन्सिलले हिसाब अभ्यास गर्थे । दालमोठ वा जिरा, बेसार पोको पारेको अखबारमा विज्ञापन र समाचार छापेर बचेका खालि ठाउँ पनि छुटेनन् हिसाब अभ्यास गर्न । ‘तिनै दिन हुन् म हिँडिआएको बाटो,’ अर्जुन भन्छन्, ‘आजकल छोराछोरीले कापीको कुनै एउटा खालि पाना फालेको देख्दा पनि तिनै दिनको सम्झनाले घोरिन्छु ।’

कापी किन्ने पैसा त थिएन, खाजा कहाँबाट किन्नु ? स्कुलमा खाजा नपाएर पेट हुँडलिन्थ्यो– चुत्रो, काफल, गुराँस सबै खान्थे उनी, जंगलका खान मिल्नेसम्मका। उनले खाजा जोहो गर्ने र कापी किन्ने नयाँ आइडिया सोचे– घरमा सखर पगालेर पुष्टकारी बनाउन थाले । १० रुपैयाँको आधा केजी सखर किने, २ रुपैयाँको नरिवल । त्यो पगाले र पुष्टकारी बनाएर साथीहरूलाई बेचे, २५ पैसामा एउटा पुष्टकारी । पहिलोपटक ६० रुपैयाँ कमाए । र, त्यो पैसाले कापी किने । त्यसरी पुष्टकारी उधारो र डिस्काउन्टमा बेच्दा पनि फाइदै हुन्थ्यो । त्यो पुष्टकारी व्यापार लामै समय चल्यो । ‘सायद त्यसैबेला व्यापारको आइडिया मस्तिष्कमा रोपिएको थियो,’उनी भन्छन् ।

अर्जुनले थाहा पाउँदा उनको परिवार असाध्यै गरिब थियो । सानै छँदा पिताबाट सुनेका थिए, एउटा पुरानो कथा । उनको जमिनदार परिवारमा डाँका लाग्यो र त्यो परिवार भयंकर गरिब भयो । हजुरबा सिक्का जम्मा गर्थे– छालाको बोरा र तामाको घ्याम्पोमा । घरमा डकैत हुँदा अर्जुनका बुबा पनि सानै थिए । डाँकाहरूले घरको थाम, भर्‍याङमा सबै सदस्यलाई डोरीले बाँधे र घ्याम्पोलाई तरबारले काटेर पैसा लिएर गए । तीन फिट अग्लो ३ वटा तामाको घ्याम्पोमा टम्म थियो– चाँदीका सिक्काहरू । तिनले पैसा भएको छालाको बोरा पनि लिएर गए । त्यसपछि ? निरास अर्जुनका बा–काकाहरूले त्यही काटिएको घ्याम्पो पनि बेचेघरको गुजारा चलाउन । यस्तो थियो उबेलाको उनको परिवारको कथा, जुन कथाको सम्झनाले अर्जुन र उनका बा एकतमास बन्छन् ।

अर्जुनले एसएलसी पास गरे– ०५४ सालमा । खर्चले धान्दैनथ्यो, डाक्टर बन्ने सपनालाई तिलान्जली दिए । काठमान्डुको असाध्यै सस्तो, अँध्यारो कोठा–भाडामा बसेर आरआर क्याम्पसमा मानविकी पढे, साहुको पसलमा कामदार भए, होम ट्युसन पढाए, छापाखानामा काम गरे, कम्प्युटर सिक्दै एउटा बोर्डिङ स्कुलमा कम्प्युटर शिक्षक भए । २० वर्षअघि कम्प्युटर पढाएको त्यो बोर्डिङ स्कुल उनैले किनेका छन् अहिले ।

कम्प्युटर डिप्लोमा पास गरेपछि आईटी कम्पनी सुरु गरे । अहिले अर्जुनको ३ वटा आईटी कम्पनी छन् । र, त्यसपछि उनले सपना देख्न थाले– रिसोर्टको । भन्छन्, ‘टिस्टुङ, चित्लाङ र कुलेखानीमा आन्तरिक–बाह्य पर्यटकको आगमन बढिरहेको छ, रिसोर्ट राम्रै चलिरहेको छ ।’

गाउँप्रतिको अर्जुनको आत्मसम्मोहन कस्तो छ भने उनमा गाउँका युवाप्रति मोह चुलिएको छ, जसले टिस्टुङलाई झन् मोहक बनाउनेछ ।

प्रकाशित : श्रावण ३, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×