कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

धावनमार्गबाट चिप्लिएको बुद्धको जहाज निकाल्ने प्रयास जारी

विमानस्थल सञ्चालन हुन समय लाग्ने

भैरहवा — रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट बिहीबार राति चिप्लिएको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज निकाल्ने प्रयास भइरहेको छ । शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टिम, विमानस्थलको ग्राउण्डह्याण्डलिङ कर्मचारी र सुरक्षाकर्मीले विमानलाई निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् । 

धावनमार्गबाट चिप्लिएको बुद्धको जहाज निकाल्ने प्रयास जारी

विमानस्थल प्रशासनका अनुसार विमानका तीनवटै चक्का माटोमा धसेका कारण समय लागेको हो । चक्का माटोमा गडेका छन् । छिटोभन्दा छिटो विमानलाई निकालेर उडान सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । जहाजका पंखा धावनमार्गमै रहेका कारण उडान सञ्चालन गर्न कठिनाइ भइरहेको हो । जहाज चिप्लिएपछि बुद्ध एयरको रेस्क्यु टिम राति दुई बजे अर्को विमानमा भैरहवा अवतरण गरेको थियो । जहाज चिप्लिए लगत्तै विमानस्थलको ग्राउण्डह्याण्डलिङ टिम, सुरक्षाकर्मी र कर्मचारी यात्रुको उद्धार र जहाजलाई निकाल्न खटिएका थिए । बिहानैसम्म विमानस्थल कर्मचारी खटिएका थिए ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जतिसक्दो छिटो जहाज निकालेर उडान सञ्चालन गर्ने प्रयास भइरहेको बताए । ‘हामीले डिपार्चर खुलाउने तयारी गरेका छौं,’उनले भने, ‘छिट्टै उडान सञ्चालनमा आउँछन् ।’ चालकदलका सदस्यसहित ५९ जना सवार जहाज बिहीबार राति १० बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएको थियो । लगत्तै उद्धारकर्मीले सबै यात्रुलाई सुरक्षित निकालेका थिए । राति नै यात्रु गन्तव्यमा गइसकेका छन् ।

प्रकाशित : असार २८, २०८१ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×