कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै

व्यक्ति हत्याका घटनामा भारतीय अपराधी प्रयोग गर्ने प्रवृत्तिले मधेश र लुम्बिनी प्रदेशमा सुरक्षा खतरा बढ्दो

रौतहट र भैरहवा — ८ असार : रौतहटको मौलापुर–६ पथरा बुधरामबाट भारतको बिहारका २० वर्षीय मोनुकुमार जैसवाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् । 

सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै

३१ जेठ : कलैयामा आदर्श कोतवाल नगरपालिका–२ खजुरियास्थित घरबाट सदरमुकाम कलैया फर्किने क्रममा रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या भयो ।

कात्तिक १३ : कलैया उपमहानगरपालिका–६ मदर्सा टोलमा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको गोली हानी हत्या भयो ।

यी तीन घटना नै काफी छन्, समावर्ती मधेशको सुरक्षा अवस्थको चित्र बुझाउन । एकपछि अर्को उस्तै शैलीका व्यक्ति हत्याका घटना र हतियारधारीहरूको निर्वाध प्रवेशका घटनाले मधेशको सुरक्षा अवस्था ठिक नरहेको सहजै बुझाउँछ ।

यी तीनै घटनामा एउटै खालको समानता पनि देखिन्छ । त्यो हो, नेपालमा अपराध गरेर भारतमा सेल्टर लिने र भारतबाट आएर नेपालमा हिंसा मच्याउने । जस्तो कि, शिक्षक रूपेश सर्राफको हत्या काण्डमा प्रहरीले कलैया उपमहानगरपालिका–६ मदर्सा टोलका २२ वर्षीया राधा गुप्ता, भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटीका २३ वर्षीय चन्दन कुमार र भारत मोतीहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला–१२ का २३ वर्षीय अभिनवकुमार राजपुतलाई पक्राउ गरेको थियो । यतिबेला यी सबै अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । बारा प्रहरीका मुद्दाफाँटका प्रहरी निरीक्षक जट्टाशंकर यादवले यो घटनामा भारतकै केही व्यक्ति संलग्न रहेको र उनीहरूको खोजी भइरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मौलापुरबाट पक्राउ परेका जैसवाल ३/४ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई आक्रमण गरेको घटनामा जेल बसेर छुटेका व्यक्ति हुन् । जेठ २२ मा जैसवालकै समूहले रौतहटको बौधिमाई नगरपालिका–८ का अरबिन्दकुमार दासलाई सहकारीको १७ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक मौलापुरमा जम्मा गर्न मोटरसाइकलमा ल्याउँदै गर्दा गोली हानी फरार भएको थियो । गोली लागी दास घाइते भए पनि लुटेराले लुटपाट गर्न सकेका थिएनन् । रौतहटका डीएसपी एलिजा गिरीले भनिन्, ‘यो समूहले सीमावर्ती क्षेत्रमा अपराधको सन्जाल बिस्तार गर्न खोजेको देखिन्छ ।’

मध्य मधेशमा भएका व्यक्ति हत्याका धेरैजसो घटनाको अन्तर्यमा रिसइबी साँध्न भाडाका भारतीय अपराधीको प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । जस्तो कि, २०७९ पुस ८ मा बाराको कलैया गढीमाई जाने बाटोमा पर्ने महागढीमाई नगरपालिका–२ भुतही पुल नजिक भारत छौडादानोस्थित पिप्राका ४५ वर्षीय शिवपुजन यादवको गोली हानी हत्या भयो । खाजा खाएर होटलबाट निस्केका यादवलाई दुई वटा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका थिए । प्रहरी अनुसन्धानबाट यादव भारतमा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएको पृष्ठभूमि मात्रै फेला परेन, उनी भारतीय प्रहरीको खोजी सूचीमा रहेकाले नेपालमा आफन्तको घरमा लुकेर बसेको पनि थाहा भयो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले मधेश प्रदेशका जिल्लाहरूमा फेरि हत्याका घटना बढ्न थालेको बताए । ‘सबैभन्दा पहिला जिल्ला प्रहरी प्रमुख कमाण्डरको काम गराईमा भर पर्छ । उसले अपराधसित सम्झौता गर्छ कि गर्दैन भन्नेमा पनि भर पर्छ,’ उनले भने, ‘नेपाल–भारत खुला सीमा, विगतको सशस्त्र समूहको गतिविधि, राजनीतिक गतिविधिले पनि हत्याको घटनाले प्रश्रय पाएको हुन सक्छ ।’

क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको हत्यामा सलग्नको आरोपमा बारा प्रहरीले ७ जनालाई पक्रेर ज्यान तथा हातहतियार र खरखजाना मुद्दा चलाइसकेको छ । घटनाको दोस्रो दिन नै प्रहरीको यो घटनामा संलग्न रहेको आरोपमा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ब्रह्मदेव राम, करैयामाई गाउँपालिका पिपराका मोतीलाल चौधरी, आदर्शकोतवाल–२ खजुरियाका अवधलालप्रसाद कुशवाह, चाँदसीप्रसाद कुशवाह, श्रवणकुमार साह, राधेशकुमार पटेल, विनोद राउत कुर्मीलाई पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप र दुवै देशका सिमकार्ड बरामद गरेको छ । यो घटनामा भारतीय आपराधिक समुहका सदस्यको सहयोग लिइएको हुनसक्ने प्रारम्भिक अनुमान पनि प्रहरीले गरेको छ ।

मधेशमा गोली प्रहार गरी व्यक्तिको ज्यानै लिने घटनाको शृंखला लामो छ । ०८० चैत २ को एउटा यस्तै घटना भयो, रौतहटको परोहा नगरपालिका–९ मा । स्थानीय २६ वर्षीय नितेश साहलाई मोटरसाइकलमा आएका तीन भारतीयले दिउँसै गोली हानी घाइते बनाए । प्रहरी अनुसन्धानबाट थाहा भयो, परोहा बजारमा शिव मनि ट्रान्सफरका सञ्चालन गरेर बसेका साहमाथि भारत मोतिहारीका मुनिशकुमार यादव र राजनकुमार पासवान, चन्द्रभान सिंहको समूहले गोली प्रहार गरेको रहेछ । टाउकोमा गोली लागी घाइते साहलाई उपचारका लागि वीरगन्ज लगियो भने स्थानीयले भारतीय नम्बरको मोटरसाइकलमा भाग्नै लाग्दा नियन्त्रणमा लिए । यो घटनामा प्रहरीले घटनास्थलबाट १ थान पेस्तोल र गोली बरामद गरेको थियो । पक्राउ परेका तीनै जना यसअघि पनि लुटपाट र हत्यामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्यो ।

रिसइबी साँध्न होस् वा लुटपाट गर्न भारतीय आपराधिक समूहको सहयोग लिने वा भारतीय मोटरसाइकल वा भारतीय सीमकार्डको प्रयोग गरेर अपराधको योजना बनाउने प्रवृत्ति सीमावर्ती जिल्लामा मौलाइरहेको छ । यस्तो प्रवृत्तिले अनुसन्धानलाई थप जटिल बनाएको छ र दोषीलाई पक्राउ गर्न कठिनाइ भइरहेको छ ।

असार ९ गते राती नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले एक थान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गर्‍यो । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल राम पक्राउ परेको र उनीसँगै मोटरसाइकलका सवार अर्का व्यक्ति भने भारततर्फ भागेको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी यज्ञविनोद पोख्रेलले रिसइबी साँध्न भारतीय अपराधीको प्रयोग गर्ने रोग मधेशमा रहेको बताए । उनले भने, ‘भारतीयको सहयोगमा हत्या गरेर पारि लुक्न सकिन्छ भन्ने बुझाइले भारतीय अपराधी प्रयोग भएको देखिन्छ । यस्तो अपराधमा भाग्न सजिलो हुने हिसाबले प्राय: मोटरसाइकलको प्रयोग भएको छ ।’ जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरले सीमावर्ती क्षेत्रमा सीमापारिका आपराधिक समूहका ग्याङहरू नेपाल प्रवेश गरी बैंक एवं बित्तीय संस्था लुटपाट गर्ने र हत्या गर्नेसम्मका घटना हुन थालेको बताए । भने, ‘सीमाक्षेत्रमा हतियारको कारोबार पनि सुरक्षा चुनौती बनेको छ । साना कटुवा हतियार बोक्ने पारिका धेरै छन ।’

मधेश प्रदेशको भन्दा उतिसारो फरक अवस्था छैन, लुम्बिनी प्रदेशको पनि । लुम्बिनी प्रदेशमा भारतसँग सीमा जोडिएका ६ जिल्ला छन् । यी जिल्लामा व्यक्ति हत्याका घटनामा भारतीय सुटरको प्रयोग भइरहेको देखिन्छ । यस्तो प्रवृत्ति सबैभन्दा धेरै कपिलवस्तुमा व्याप्त छ ।

२०७९ भदौ १० कै घटना हेरौं । कपिलवस्तुको मायादेवी–६, मदराहवाका ५० वर्षीय घुरहु भनिने रामसमझ पासीमाथि गोली प्रहार भयो । बायाँ साप्रामा गोली लागेका पासीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । प्रहरी अनुसन्धानबाट उनीमाथि भारतको सिद्धार्थनगरको पण्डितपुर थानाका ३५ वर्षीय लवकुश यादवले गोली प्रहार गरेको खुल्यो । प्रहरीका अनुसार यो घटनामा भारतको कपिलवस्तु जिल्ला रजवापुरका अजय यावद पनि संलग्न थिए । लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) माधव श्रेष्ठले गोली प्रहारमा संलग्न दुवै आरोपी फरार रहेको जनाए । उनका अनुसार उक्त घटनामा संलग्न आरोपी रामचन्द्र अहिर, मनोजकुमार यादव र मुकेशकुमार यादवमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार कतिपय घटनामा भने भारतीय नागरिकमाथि आक्रमण गर्न पनि नेपाली भूमि प्रयोग गरिएको देखिन्छ । त्यसैको उदाहरण हो, २०७९ मंसिर १५ मा कपिलवस्तुको मायादेवी गाउँपालिका–४, चाकरचौडामा भएको गोली प्रहारको घटना । गोली प्रहारबाट भारतको सिद्धार्थनगर जिल्ला पञ्चगवाका २७ वर्षीय इरशाद अहमद घाइते भए । प्रहरीका अनुसार यो घटनामा भारतको सिद्धार्थनगर जिल्ला ठाकुरापुराका पप्पु भनिने अब्दुल रहमान मुसलामान, मायादेवी–४, चाकरचौडामा मदिरा पसल सञ्चालन गर्ने भारतको सिद्धार्थनगर जिल्ला पञ्चगवाका लाला भनिने जनार्दन लोनिया, भारतको सिद्धार्थनगर जिल्ला नर्कुलका बब्बु भनिने अब्दुल बारी लगायत ४ जना संलग्न थिए ।

लुम्बिनी प्रदेशका अपराधका पुराना घटना केलाउँदा पनि यस्तै प्रवृत्ति देखिन्छ । अर्थात् भारतीय अपराधीको नेपाली भूमिमा उपस्थिती । प्रदेश प्रहरी कार्यालयका अनुसार ०७६ भदौ २९ मा हुलाकी राजमार्गअन्तर्गत रोहिणी गाउँपालिका–३ स्थित वैकुण्ठपुरमा नम्बर नखुलेको मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाउँदा महेन्द्रप्रसाद कुर्मीको ज्यान गएको थियो । यो आपराधिक समूहले हत्यापछि कुर्मीको साथमा रहेको ५ लाख रुपैयाँ पनि लगेका थिए । प्रहरीले कुर्मीको हत्यामा संलग्न रहेको भन्दै भारतको गोरखपुर जिल्ला कम्पियरगन्जका मनीषकुमार हरिजन र त्यहीँका सुनीलकुमार सिंहलाई पक्राउ गरेपछि थाहा भयो– यो अपराधको भारतीय कनेक्सन । यही घटनामा संग्लन बिहारको गोपालगन्जका सोनु सिंह अहिलेसम्म फरार छन् ।

प्रहरी तथ्यांक अनुसार लुम्बिनीमा भारतीय नागरिकको संलग्नतामा छिटफुट रूपमा यस्ता घटना भइरहेका छन् । ‘तर, २०८० सालमा एउटा पनि घटना भएको छैन,’ प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले भने, ‘हत्याका लागि सुपारी दिएर सुटर बोलाएका भन्दा नेपालमा आएर भारतीय नागरिकले अपराध गरेका घटना धेरै छन ।’

मधेशप्रदेश प्रहरी प्रमुख भएर एक वर्ष बिताएका नेपाल प्रहरीका पूर्वएआईजी हरिबहादुर पाल तराई मधेशमा अपराधका घटना हुनुमा सबैभन्दा ठूलो समस्या नै खुला सिमाना रहेको बताउँछन् । उनले सीमावर्ती भारतीय बजारमा साना कटुवा बन्दुक केही हजारमै पाइने भएकाले पनि अपराधीहरूको हतियारमा सहज पहुँच भइरहेको बताए । भने, ‘सामान्य झैंझगडामै रिसइबी साँध्न पनि गोली हानेर हत्या गर्ने घटना मधेशमा धेरै छन् ।’

पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले भारतबाट अपराधका लागि नेपाल प्रवेश गर्ने अधिकांश युवा हुने गरेको बताउँदै तीमध्ये धेरैजसो चरम गरिबीमा रहेको र १०/२० हजार रकम लिएर अपराधमा संग्लन हुने गरेको बताए । एसपी ढुंगेलले सूचना लिने कुरामा लगानी नभएको र त्यसकै कारण सीमाक्षेत्रमा अपराधका घटना हुने गरेको बताए । भने, ‘यस्तो चुनौती रोक्न हाम्रा प्रहरी कर्मचारीलाई भारतको कुनै ठाउँमा सूचना लिन खटायौं भने तस्कर र अपराधका घटना ठप्प हुन्छ । सूचना किन्न नसकेर मारमा परेका छौं ।’

प्रकाशित : असार २१, २०८१ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×