२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा — कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएका छन् । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा शनिवार मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् । 

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

'दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,' उनले भने, 'मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।'

मुलुकमा दुधको उत्पादन बढेको भन्दै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन् । दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उनले बताइन् ।

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने भन्दै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताइन् ।

कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् । किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ १९, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x