कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिन्छ : पर्यटनमन्त्री तामाङ

काठमाडौँ — ललितकलाको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ मंगलबारबाट सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले उद्घाटन गरे । 

ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिन्छ : पर्यटनमन्त्री तामाङ

उनले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललिलकलाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेर एउटै छानामुनि विविध कलाको अवलोकन गर्ने अवसर मिल्नु खुसीको कुरा भएको बताए ।

प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न विशेष कार्यहरू गरेको उल्लेख गर्दै मन्त्री तामाङले भने, 'यस कार्यक्रम आगामी दिनमा अझ परिष्कृत गरी प्रतिष्ठानले भव्यताका साथ सम्पन्न गर्ने छ भन्ने विश्वास लिएको छु ।'

उनले ललितकलाले मुलुकको पहिचान विश्वमाझ पुर्‍याउन योगदान दिने र पर्यटन विकासमा टेवा पु-याउने भएकाले कला सिर्जना समृद्धिका लागि महत्वपूर्ण क्षेत्र रहेको धारणा राखे । उनले मन्त्रालयले मुलुकको पहिचान कला सिर्जनाको विकासमा विशेष ध्यान दिने पनि बताए । उनले आज प्रदर्शनीका क्रममा पुरस्कृत कलाकारहरुलाई सिर्जनामा सक्रिय हुन अनुरोध गर्दै बधाई ज्ञापन गरे ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली ललितकलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन प्रतिष्ठानले काम गरिरहेको बताए । उनले यसबाट कला सिर्जनामा परिणाम देखिएता पनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको धारणा राखे ।

प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापना कालदेखि हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताए । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले नेपाली कलाको महाउत्सवका रूपमा लिइने यस प्रदर्शनी नेपाली ललितकलाको क्षेत्रलाई स्थानीय तहदेखि केन्द्रसम्म लैजान सफल भएको उल्लेख गरे ।

प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ गरेको हो ।‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति प्रदर्शनीमा राखिएको छ ।

सम्मान तथा पुरस्कार प्रदान

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञासम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि एक लाख ५० हजार र सम्मानपत्र रहेको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि एक लाख र सम्मानपत्र रहेको छ । राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डंगोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्यलाई प्रदान गरिएको छ । त्यसैगरि हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्थ, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई पुरस्कार प्रदान गरिएको छ । ती सबै पुरस्कारको राशी ६० हजार रुपैयाँ रहेको छ ।

ललितकला लेखन पुरस्कार प्राज्ञ ज्ञानेन्द्र विवश, ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र द राइजिङ नेपालका सुकृत नेपाल र रेनुका ढकाललाई प्रदान गरिएको छ । ललितकला लेखन पुरस्कारको राशि ६० हजार र ललितकला पत्रकारिता पुरस्कारको राशि ३०/३० हजार रहेको छ । कला प्रवर्द्धन सम्मान भने नेपाल व्यावसायिक कलाकार संघलाई प्रदान गरिएको छ । सोही कार्यक्रममा विविध विधामा प्रादेशिक पुरस्कार वितरण गरिएको छ ।

यस वर्षदेखि सुरु गरिएको ‘सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८०’ लक्ष्मण भुजेल र ‘सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८०’ प्राज्ञ भुवन थापालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि ५०/५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ ३० गतेसम्म चल्ने छ । प्रदर्शनीको प्रवर्द्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×