कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने राप्रपाको निर्णय

सोमवार सम्पन्न भएको केन्द्रीय कार्यसमितिको बैठकले केही समय अघि पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

सुशासन, विकास र सेवाप्रवाहसँग सम्बन्धित विषयमा तत्काल सम्बोधन गर्न र दीर्घकालिन माग र मुद्दाहरुमा सबै दलका बीच नविन समझदारी निर्माण गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित र तत्काल देखा पर्ने समसामयिक मुद्दाहरुमा विभिन्न प्रकारका प्रदर्शन र दबाबमुलक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘राप्रपाले सरकारलाई दिएको ४० बुँदे मागपत्र सम्बोधन नगरेको विषयमा फेरि सरकारलाई ध्यानाकर्षण गराउने । सुशासन विकास र सेवाप्रवाहसँग सम्बन्धित विषयमा तत्काल सम्बोधन गर्न र दीर्घकालिन माग र मुद्दाहरुमा सबै दलकाबीच नविन समझदारी निर्माण गर्न आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।'

बैठकले भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित र तत्काल देखा पर्ने समसामयिक मुद्दाहरुमा विभिन्न प्रकारका प्रदर्शन र दबाबमुलक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, सहकारी पीडितको समस्या समाधान गर्न संसदीय छानविन समिति बनाउन प्रतिपक्षले गरेको मागलाई बेवास्ता गर्दै संसद् चलाइएको भन्दै यस्तो गर्नु संसदीय मूल्य, मान्यता र परम्परा विपरीत भएको राप्रपाले जनाएको छ । बैठकले राप्रपा सांसद गीता बस्नेतलाई नवलपरासीस्थित छिपछिपे सहकारीको रकम अपचलन गरेको मुद्दामा अदालतमा उपस्थित हुन निर्देशन समेत दिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०८१ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×