कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अनधिकृत सूचना सम्प्रेषण गरेको विवादमा तानिए निर्मल पुर्जा

काठमाडौँ — सगरमाथाको चुचुरोमुनी डोरी काटिएको सूचना सामाजिक संजालमार्फत सम्प्रेषण गरेको अभियोगमा प्रख्यात आरोही निर्मल पुर्जा (निम्स दाई) विवादमा तानिएका छन् ।

अनधिकृत सूचना सम्प्रेषण गरेको विवादमा तानिए निर्मल पुर्जा

हिमाल आरोहणमा झण्डै ४० वटा विश्व रेकर्ड बनाएका आरोही पुर्जाले आइतबार इन्स्टाग्राममार्फत सगरमाथा आरोहणका क्रममा आफू उक्लिदै गर्दा ८ हजार मिटर उचाईमा पर्ने बाल्कोनी र साउथ समिटको बीच भागमा आरोहीको सहायताका लागि टाँगिएको डोरी काटिएको भिडियो सार्वजनिक गरेका थिए ।

उनले इन्स्टाग्राममा हिमाल आरोहणका क्रममा मृत्यु भएकाहरुको शव लिन जाँदै गरेको पिक प्रमोसन प्रालिको टोली फर्किनु परेको भिडियो राखेका थिए । पुर्जाको यो भनाइको पर्यटन विभागले खण्डन गरेको छ ।

विभागका निर्देशक काली बहादुर भुजेलले सोमबार विहान १२ः४५ बजे अर्को नेपाली कम्पनी पायोनियर एडभेन्चर प्रालिको टोली सगरमाथा आरोहण गरेर फर्केकाले डोरी नकाटिएको जनाउँदै विज्ञप्ति जारी गरेका छन् ।

‘यस विषयमा पर्वतारोहण संचालक संघ नेपालको पनि आकस्मिक बैठक बसेको र टाँगिएको डोरीमा कुनै समस्या नभएको तथा यसले नेपालको पर्वतीय पर्यटनलाई बद्‌नाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशक भुजेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विभागले यस विषयमा छानविन गर्ने जनाएको छ ।

‘चर्चित हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न निर्मल पुर्जा र अन्य व्यक्तिहरु उपर छानविनको प्रक्रिया अघि बढाइएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस विषयमा पुर्जाले डोरी काटिएको जानकारी आफूलाई अरु आरोहीबाट आएको प्रतिक्रिया दिए ।

यसपटक सगरमाथामा ४ सय १९ जना आरोही सलामी दस्तुर तिरेर आरोहणका लागि गएका थिए । सोमबारसम्म आरोही तथा उनीहरुका गाइडसमेत गरेर झण्डै ६ सयले सगरमाथा आरोहण गरेको व्यवसायीहरुले बताएका छन् ।

यसपटक सगरमाथासहित ३० वटा हिमाल आरोहण गर्न ८० वटा देशका नागरिक नेपालमा छन् । सगरमाथामा यस सिजनमा ५ जनाको मृत्यु भइसकेको छ । भने तीन जना हराइरहेका छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×