क्षतिपूर्तिका लागि अदालत धाउँदै दृष्टिविहीन अभिभावक
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनगढी — कैलालीको ग्रामीण क्षेत्रका एक दृष्टिविहीन आमाबाबुमाथि ६ वर्षअघि बज्रपात पर्यो । उक्त परिवारकी तीन वर्षीया छोरी १४ वर्षीय किशोरबाट बलात्कृत भइन् । अभिभावकका अनुसार त्यसबेला उपचार गरेर बल्लतल्ल ज्यान जोगिए पनि उनको मानसिक अवस्थामा अहिले पनि असर परिरहेकै छ । उनलाई ‘डिप्रेसन’ को समस्या छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![क्षतिपूर्तिका लागि अदालत धाउँदै दृष्टिविहीन अभिभावक](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/nyaya-1452024040004-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
उच्च अदालतले पीडित बालिकाका अभिभावकलाई राज्यकोषबाटै २ लाख क्षतिपूर्ति दिन आदेश गरेको तीन वर्ष हुन थाल्यो । त्यसका लागि शारीरिक अपाङ्गता भएका आमाबाबुले कैयौंपटक अदालतको ढोका चहारे पनि तोकिएको क्षतिपूर्ति पाउने अहिलेसम्म ठेगान छैन । आमाबाबु दुबै दृष्टिविहीन छन् । घरको आर्थिक अवस्था कमजोर छ ।
अर्कोतिर बलात्कृत नाबालिका छोरीको उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौंमा पटक–पटक पुग्नुपर्ने बाध्यता छ । तर अदालतको फैसला अनुसार तोकिएको क्षतिपूर्ति पाउनका लागि उनीहरू ०७८ देखि कैयौं पटक जिल्ला अदालत कैलाली पुगिसकेका छन् । तर अदालतले आफ्नै आदेश कार्यान्वयन गरेको छैन । ‘असहायका लागि यहाँ कुनै आश्रय रहेन छ,’ पीडितका बुवाले भने, ‘कति पटक अदालत पुगिसकेँ, गणना नै छैन ।’
आमाबाबु घरमा नभएका बेला आफ्नै नाता पर्ने किशोरले ती बालिकामाथि बलात्कार गरेका थिए । ‘०७५ चैत २१ को घटना हो, पल्लो घरको नाता पर्ने भतिजोले बच्चीलाई फकाएर कोही नभएको मौका छोपेर बलात्कार गर्यो,’ आइतबार जिल्ला अदालतमा भेटिएका बालिकाका बुवाले भने ‘छोरी चिच्याएपछि छरछिमेकले थाहा पाएर उद्दार गरेका हुन् ।’ अभिभावकले मसुरिया प्रहरी चौकीमा उजुरी गरे । प्रहरीले पीडकलाई पक्राउ गरे जिल्ला प्रहरी कार्यालय कैलाली पठायो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)