कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

उपप्रधानमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको भेटवार्ता

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेसँग दुवै राजदूतले छुट्टाछुट्टै मंगलबार भेटवार्ता गरेका हुन् ।

उपप्रधानमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको भेटवार्ता

उपप्रधानमन्त्री लामिछाने र भारतीय राजदूतबीच नेपाल-भारत सम्बन्धबारे छलफल भएको थियो । गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रमोद न्यौपानेका अनुसार भारतीय राजदूतसँगको भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको थियो । 'खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत भएका छन्,' न्यौपानेले भने, 'राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसारपसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।'

त्यस्तै, राजदूत श्रीवास्तवले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए ।

गृहमन्त्री लामिछानेले भनेका थिए, 'दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदानप्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने' बताएका थिए ।

तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा गृहमन्त्री लामिछानेले जोड दिएका थिए । 'सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन भारत इच्छुक रहेको राजदूत श्रीवास्तवको भनाइ थियो,' न्यौपानेले भने ।

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले गरेको भेटमा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदान भएको न्यौपानेले जानकारी दिए ।

राजदूत ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने बताएका थिए । 'दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको राजदूतको भनाइ रह्यो,' न्यौपानेले भने, 'दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्रीबाट धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गर्नुभयो ।'

'दक्षिण कोरियाको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेकाले विश्वले नै अनुशरण गर्न सकिने भन्दै गृहमन्त्री लामिछानेले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टी र आफ्नो उद्देश्य रहेको' प्रष्ट पारेको न्यौपानेले बताए । दक्षिण कोरियासँग नेपालको आशा र अपेक्षा पनि धेरै क्षेत्रमा रहेको भन्दै मन्त्री लामिछानेले सहकार्यलाई थप प्रगाढ बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रकाशित : चैत्र १३, २०८० १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×