कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

कुषाण वंशकालीन अवशेष भेटियो

पर्वत पोर्तेल

विराटनगर — धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको झापा भद्रपुर–३ स्थित किच्चक वध क्षेत्रमा उत्खनन गर्दा झन्डै २ हजार २ सय वर्ष पुरानो कुषाण वंशकालीन अवशेष फेला परेको छ । वैज्ञानिक अनुसन्धान गर्दा उक्त अवशेष त्यति पुरानो रहेको पुष्टि भएको हो ।

कुषाण वंशकालीन अवशेष भेटियो

पुरातत्त्व विभागको उत्खनन टोलीले विभिन्न चरणमा यहाँ उत्खनन गरेको थियो । उत्खननका क्रममा भेटिएका अवशेष इसा पूर्व १ सय २० देखि २ सय वर्षसम्म चलेको कुषाण वंशको शासनकालका अवशेष भएको पुरातत्त्वविद् उद्धव आचार्यले बताए । ‘त्यो समयका कुनै शासकको दरबार र किल्ला यहाँ रहेको अनुमान गर्न सकिने प्रशस्त आधारहरू फेला परेका छन्,’ उनले भने ।

तस्बिर सौजन्य : ईश्वर अधिकारी

यो संरचना इसाको पाँचौं शताब्दीसम्म अर्थात् भारतको गुप्तकालसम्म कायम रहेको र त्यो समयमा आएको महाभूकम्पले ध्वस्त भएको फ्रेन्च भूगर्भविद्को अध्ययनलाई उद्धृत गर्दै पुरातत्त्वविद् आचार्यले दाबी गरे । इतिहासकालीन दस्तावेजका अनुसार कुषाण मौर्योत्तरकालीन भारतको पहिलो यस्तो राज्य थियो, जसको प्रभाव अफगानिस्तान, पाकिस्तान, इरानदेखि सुदूर मध्य एसियासम्म थियो । त्यही समयमा भगवान्का रुपमा बुद्धका मुर्तिहरू पहिलो पटक निर्माण हुन थालेको पाइन्छ ।

आचार्यका अनुसार २०५८ सालवाट निरन्तर उत्खनन भइरहेको किच्चक वधको सातौं चरणको उत्खनन ८ वर्षपछि पहिलो पटक भएको हो । विगतमा बजेट अभावले काम अघि बढ्न नसकेको आचार्यको भनाइ छ । यसपटक विभागले उत्खनन, अन्वेषण र संरक्षण शीर्षकमा १० लाख रकम विनियोजन गरेको र त्यही बजेटबाट उत्खननको काम सुरु गरिएको जनाइएको छ । ‘चैत १८ सम्म उत्खनन गर्छौं,’ आचार्यले भने, ‘त्यसपछि डकुमेन्ट रेकर्डिङसँगै छोप्ने काम हुन्छ ।’

प्रकाशित : चैत्र ११, २०८० १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×