कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बिनाविभागीय ३ मन्त्रीले लिए शपथ

सुदीप कैनी

काठमाडौँ — नयाँ सत्ता गठबन्धन बनेसँगै पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना बिनाविभागीय मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् । 

बिनाविभागीय ३ मन्त्रीले लिए शपथ

सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा बाँकी रहेकाले उनीहरूले मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा २२ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले नै लिएका छन् । मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन नयाँ गठबन्धनका दलहरूबीच चार सदस्यीय कार्यदल बनेको छ । एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव कार्यदलमा छन् ।

बिनाविभागीय मन्त्रीको शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्रीसमेत हुन् । ४७ वर्षीय एमाले प्रमुख सचेतकसमेत रहेका गिरी पर्वत १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा करिब तीन महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । त्यतिबेला एमाले–माओवादी गठबन्धन टुटेर कांग्रेस–माओवादीले सत्ता साझेदारी गरेपछि उनी मन्त्रीबाट बिदा भए । मानविकीमा स्नातकोत्तर उनी पर्वत कुस्माका स्थायी बासिन्दा हुन् । २०४७ मा काफलचौर माविबाट अनेरास्ववियुमा संगठित हुँदै उनले राजनीति सुरु गरेका थिए । २०५५ यता पृथ्वीनारायण क्याम्पस पोखराको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै सभापतिसमेत चुनिए । गिरी हाल एमाले केन्द्रीय सदस्य छन् । २०७४ को निर्वाचनमा पनि उनी पर्वत–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०७९ मंसिरमा पुनः निर्वाचित भएपछि उनी एमालेका तर्फबाट संसद्मा प्रमुख सचेतकको भूमिकामा थिए ।

माओवादीका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसी गरेका छन् । २०३६ देखि विद्यार्थी आन्दोलनमा सहभागी हुँदै उनी २०३९ मा अनेरास्ववियुका नुवाकोट जिल्ला सचिव बनेका थिए । २०४७ मा नेकपा चौथोको महाधिवेशन सदस्यता प्राप्त गरेका थिए भने २०५२ मा सशस्त्र विद्रोहको घोषणा गर्दा उनी माओवादीका जिल्ला सचिव थिए । २०५८ मा केन्द्रीय सदस्य बने । शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिएका थिए । २०७४ र २०७९ मा पनि उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । धादिङका अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनी पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेको सहपाठी भएर सक्रिय छन् । राजनीतिमा लाग्नुअघि पर्यटन र विप्रेषणको क्षेत्रमा दुई दशकदेखि सक्रिय थिए । वैदेशिक रोजगारबाट फर्केपछि उनी पर्यटन, सहकारी, रेमिट्यान्स र समाज सेवामा क्रियाशील थिए । पार्टी सभापति लामिछाने २०७९ माघमा गृह मन्त्रालयबाट बाहिरिएपछि अर्यालसहित रास्वपाका मन्त्रीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट हटेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×