कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन् : कानूनमन्त्री गुरुङ

काठमाडौँ — कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारमा संलग्न जो कोहीले पनि उन्मुक्ति नपाउने दाबी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले कुनै पनि अपराध गर्नेलाई सरकारले छुट नदिने बताए । 

भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति पाउने छैनन् : कानूनमन्त्री गुरुङ

उनले अपराध गरेर सम्पत्ति कमाएको छ भने प्रधानमन्त्री, मन्त्रीलाई पनि अदालतबाट माफी नहुने बताए । उनले अपराध गरेर कमाएको हो भन्न नसक्ने सम्पत्ति भने कडा ढंगले अनुसन्धान गरेर दोषीमाथि कारबाही हुने गरी सरकारले यो विधेयक ल्याएको उनको भनाइ थियो ।

मन्त्री गुरुङले स्रोत नखुलेको सम्पत्ति थाँती राख्न नमिल्ने भएकाले सरकारले त्यसलाई पनि अनुसन्धान गर्न कडा कानूनी व्यवस्था गर्न लागेको बताए ।

‘यहाँ भ्रष्टाचार निवारण आयोगले कसैलाई पनि छोड्दैन । यो राष्ट्र सेवकहरुको सन्दर्भमा यो धारा आएको होइन । यसले कसैलाई पनि उन्मुक्ति दिँदैन । कसुरजन्य सम्पत्ति कमाएको हकमा, अपराध गरेर कमाएको हकमा अथवा भ्रष्टाचार गरेर कमाएको हकमा कुनै पनि चाहेँ त्यो वडाध्यक्ष होस् । सांसद किन नहोस् । अथवा मन्त्री किन नहोस् । प्रधानमन्त्री नै किन नहोस् । कसैलाई पनि उन्मुक्ति दिँदैन,' उनले भने ।

बैठकमा सांसदहरुले स्रोत नखुलेको सम्पत्तिलाई बैधानिकता दिने गरी सरकारले विधेयक ल्याएको भन्दै आपत्ति जनाएका थिए । तर मन्त्री गुरुङले भने बन्दै गरेको कानूनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिलाई वैधानिकता दिन नखोजेको दाबी गरे ।

प्रकाशित : फाल्गुन १८, २०८० १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×