कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वैद्यनाथ धामलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन आवश्यक : राष्ट्रपति पौडेल

मेनुका ढुंगाना

अछाम — राष्ट्रपति रामचन्द्र पौडेलले वैद्यनाथ धामलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तीनै तहका सरकार लाग्नुपर्ने बताएका छन् । 

वैद्यनाथ धामलाई पर्यटकको आकर्षक गन्तव्य बनाउन आवश्यक : राष्ट्रपति पौडेल

१ सय ४४ वर्षपछि अछामको वैद्यनाथमा आयोजना भएको कोटीहोमको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले तीनै तहका सरकारले विस्तृत अध्ययनपश्चात् गुरुयोजना बनाई वैद्यनाथ धामको विकास, संरक्षण गर्नुपर्ने बताएका हुन् । 'वैधनाथको विकास, संरक्षण तथा संवर्द्धनको लागि तीनै तहका सरकारले आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरी यस क्षेत्रमा पूर्वाधार निर्माण गर्न आवश्यक छ,' उनले भने ।

सुदूरपश्चिम ऋषिमुनिहरुले तपस्या गर्ने तपोभूमि भएको भन्दै राष्ट्रपति पौडेलले यस क्षेत्रमा बडीमालिकासहित थुप्रै देवी देवताका मन्दिरले भरिभराउ भएको उल्लेख गरे ।

नेपालका चार धाममध्येका एक ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा उभिन पाउँदा आनन्दको अनुभूति भएको राष्ट्रपति पौडेलले बताए । पौराणिक ग्रन्थमा वैद्यनाथ क्षेत्रको महत्वलाई सुन्दर ढंगले वर्णन गरिएको भन्दै राष्ट्रपति पौडेलले वैद्यनाथ धाम कोटीहोमले लिएको सबै उद्देश्य पूरा हुने विश्वास व्यक्त गरे । 'वैद्यनाथ धामलाई आकर्षणको केन्द्र बनाएर पर्यटक भित्र्याउन सकिने र त्यसो हुँदा आम्दानी र रोजगारी सृजना भई देश विकासमा समेत टेवा पुग्ने देखिन्छन्,' राष्ट्रपति पौडेलले भने ।

समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवरज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वउपप्रधानमन्त्री भिम रावल, प्रमुख आचार्य तथा कथा वाचक प्राध्यापक भवानीप्रसाद खतिवडाले शुभकामना मन्तव्य राख्दै वैद्यनाथ धाममा आयोजना भएको कोटीहोमले यसको प्रचारप्रसार र विकासमा टेवा पुग्ने बताएका थिए । साथै देशमा शान्ति, एकता, मेलमिलाप र सद्भावसमेत कायम हुने बताए ।

कार्यक्रममा भुवो, होरी, न्याउले लगायतका सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । कोटीहोम फागुन २५ गते शिवरात्रिसम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०८० २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×