कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

यूएन शान्ति मिसनमा अब ‘गो ग्रीन’ अभियान

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाली सेना, संयुक्त राष्ट्र संघ र अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभ (जिपोई) को सहकार्यमा ‘हाइब्रिड सोलर सिस्टम’ लाई अघि बढाइएको छ 
जगदीश्वर पाण्डे

काठमाडौँ — संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत अब नेपाली शान्ति मिसनहरुमा इन्धनबाट हुने कार्बन उत्सर्जनलाई घटाउँदै जाने र वैकल्पिक उर्जाको साधन सोलार प्यानको प्रयोग गरी ‘गो ग्रीन’ अभियान अघि बढाउने कामको थालनी भएको छ । संयोग नेपाल यूएन शान्ति नेपालमा सबैभन्दा बढी सैनिक पठाउने सुचीमा पहिलो पटक भएको बेलामा कार्बन उत्सर्जनलाई हटाउने अभियानको थालनी गरेको हो ।

यूएन शान्ति मिसनमा अब ‘गो ग्रीन’ अभियान

उक्त अभियान अन्तर्गत पाइटल प्रोजेक्टको रुपमा बुधबार नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा १८५ केभी (किलो भोल्ट) क्षमताको ‘हाइब्रिड सोलर सिस्टम’ को उद्घाटन गरिएको हो । पाँचखालमा १९ मुलुकहरु सम्मिलत बहुराष्ट्रिय सैनिक अभ्यास शान्ति प्रयास–४ कार्यक्रमको दौरान नेपाली सेना, संयुक्त राष्ट्र संघ र अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभ (जिपोई) को त्रिपक्षीय सहकार्यमा ‘हाइब्रिड सोलर सिस्टम’ लाई अघि बढाइएको छ ।

यूएनले जलवायु परिवर्तनलाई मध्यनजर गर्दै इन्धन तथा कार्बन उत्सर्जन गर्ने पदार्थहरुलाई कमी गर्दै जानुपर्ने नीति अपनाएको छ । त्यही नीति अनुसार त्रिपक्षीय सहकार्यमा पाँचखालमा ‘हाइब्रिड सोलर सिस्टम’ को थालनी गरिएको हो । नेपाल भ्रमणमा रहेकी राजनीतिक–सैन्य मामिला ब्यूरोकी योजना तथा कार्यसञ्चालन सम्बन्धी अमेरिकी उप–सहायक विदेशमन्त्री रेचल शिलरले उक्त प्रणालीको उद्घाटन गरिन् ।

सेनाका अनुसार ‘हाइब्रिड सोलर सिस्टम’ अन्तरगत एक स्थानमा १०० ओटा सोलार प्यान छ भने अर्को स्थानमा २४० ओटा प्यालनको बन्दैछ । यूएनले लामो समयदेखि संसारभर शान्ति मिसन सञ्चालन गर्दै आइरहेको छ । यो प्रणाली पहिलो पटक नेपाली सेनाबाट सञ्चालन गर्न लागिएको हो । यस्तै, दक्षिण सुडानको रुम्बेकमा काम गरिरहेको नेपाली शान्ति सैनिकले पनि यहि प्रणाली प्रयोग गर्ने सेनाले तयारी गरेको छ ।

‘सबैभन्दा पहिले त विश्व शान्तिमा नेपाली सेना पहिलो नम्बरमा रहेकोमा बधाई दिन चाहन्छु,’ उद्घाटनपछि उपमन्त्री शिलरले भनिन्,‘यूएन, नेपाल र अमेरिका बीचको त्रिपक्षीय सहकार्यमा यो हाइब्रिड सोल सिस्टमलाई पाइटल प्रोजेक्टको रुपमा अघि बढाइएको हो । यसले पक्कै पनि वातावरणलाई स्वच्छ बनाउन पनि मद्दत गर्नेछ । हामी यूएन मिसनलाई वातावरण मैत्री बनाउन चाहन्छौं ।’

उनले उक्त हाइब्रिड सोलर सिस्टम दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्न पाउने बताइन् । ‘यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटर लाई प्रतिस्थापन गरि हाइब्रिड सौर्य उर्जाबाट चल्ने जेनेरेटर प्रबिधीमा लैजाने छ,’ उनले भनिन्,‘यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्नेछ । म हाइब्रिड सौर्य अवधारणा डिजाइन गरेकोमा संयुक्त राष्ट्र संघको वातावरण कार्यालय, पाँचखालमा यो वातावरणीय पहललाई पछ्याउने नेपाली सेनाको नेतृत्व, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा रुम्बेक शिविरमा रहेको इन्फन्ट्री बटालियन र ग्लोबल पीस अपरेशन इनिसिएटिभ मार्फत यो त्रिपक्षीय कोषको लागि सहयोग गर्ने अमेरिकी सरकारको प्रशंसा गर्न चाहन्छु ।’

उनले दक्षिण सुडान जस्ता मुलुकहरुमा शान्ति स्थापना गर्दा शान्ति सैनिकहरुलाई इन्धनको आवश्यक पर्दा कठिन बाटोको यात्रा गरेर जानु पर्ने उल्लेख गर्दै हाइब्रिड सोलारको प्रयोगले इन्धनको खपत हुने, खर्च कम लाग्ने तथा वातावरण मैत्री पनि हुने बताइन् । सेनाका उपरथी अधिकारीले यो हाइब्रिड सोलरको सुरुआतले नेपाली सेना, यूएन र अमेरिकाको यूएसइन्डोप्याकम–जिपोई बीचको महत्वपूर्ण सहकार्य बताउदै सहयोगका लागि धन्यवाद दिए ।

नेपाली सेनाका अनुसार उक्त सोलर प्यानलको विद्युत वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा दिन भरको उर्जालाई बेलुकी ग्रिड लाइनमा प्रयोग गरिनेछ । सेनाका अनुसार वैकल्पिक उर्जा स्रोतको रुपमा जडान भएको सोलार प्रोजेक्ट तालिम केन्द्रको भौतिक स्तरोन्नतीमा महत्वपूर्ण हुनुको साथै केन्द्रलाई शान्ति स्थापना सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको सेन्टर अफ एक्ससिलेन्सका रुपमा विकसित गर्दै लैजान सहयोगनी हुने सेनाले जनाएको छ । नेपालले हालसम्म सन् १९५५ देखि विश्वका विभिन्न ४४ मिसनहरुमा काम गरिरहेको छ ।

यस्तै, पाँचखालमा अभ्यास शान्ति प्रयास जारी छ । मंगलबारबाट सुरुआत भएको उक्त कार्यक्रममा नेपालसहित १८ मुलुकका सहभागि छन् । हरेक मुलुकका प्रतिनिधिहरु र प्रशिक्षकहरु आ–आफ्नो जिम्मेवारी अनुसार बुधबार प्रशिक्षण गरिरहेका थिए । मेजर सवलजंग शाहले ६ ओटा फिल्डदेखि चेक प्वाइन्ट अपरेसनसम्म मिलाएर प्रशिक्षण भइरहेको जानकारी दिए । उनले एउटा काल्पनिक मुलुक कार्नोमा बनाएर प्रशिक्षण गरिरहेको उल्लेख गरे ।

यो संस्करणमा ५ महादेशका नेपालसहित १९ मुलुकले सहभागिता जनाएका छन् । अभ्यासमा एसिया महादेशबाट नेपालसहित बंगलादेश, इन्डोनेसिया, फिलिपिन्स, मलेसिया, मंगोलिया, श्रीलंका, थाइल्यान्ड, दक्षिण कोरिया, पाकिस्तान, भियतनाम र भारत छन् । यस्तै, उत्तर अमेरिका महादेशका अमेरिका र क्यानडा सहभागी छन् ।

दक्षिण अमेरिकाबाट उरुग्वेको सेना सहभागि हुनेछ । अस्ट्रेलिया/ओसियाना महादेशबाट अष्ट्रेलिया र फिजीको सहभागिता छ । अफ्रिकी महादेशबाट घाना र नाइजेरयाका सैनिक अभ्यासमा भाग लिन आएका छन् । यस पटक नेपाली सेनाका दुई तथा अन्य देशका १० गरी १२ प्लाटुनका ६८९, स्टाफ ट्रेनिक कार्यक्रममा नेपाली सेनाका ३१ र विदेशी सेनाका ७९ गरी जम्मा ११० तथा क्रिटिकल एन्ड क्यापाविलिटी इन्हेन्समेन्टमा नेपाली सेनाका २६९ र विदेशी सेनाका ५७ जना गरि जम्मा ३२६ सहभागि छन् । कुल ११२५ जनाको सहभागिता रहेको छ । मेजर गीता गुरुङले प्रशिक्षणमा प्रशिक्षकका समूहलाई विभिन्न भागमा विभाजन गरेर काम भइरहेको प्रष्ट पारिन् । उनले सैद्धान्तिक र व्यवहारिक रुपमा प्रशिक्षण भइरहेको बताइन् ।

सन् २००० बाट सुरु भएको उक्त अभ्यास कार्यक्रम यस पटक फागुन ८ देखि २१ सम्म हुन लागेको हो । संयुक्त राष्ट्र संघ (यूएन) मार्फत शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता र आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले उक्त बहुराष्ट्रिय अभ्यास भइरेको सेनाले जनाएको छ । सेनाका अनुसार उक्त बहुपक्षीय अभ्यासको उद्देश्य शान्ति कार्य सम्बन्धी उकृष्ट अभ्यास तथा ज्ञान आदानप्रदान गर्ने रहेको छ ।

‘शान्ति मिसनमा सैनिक घटाउने मुलुकहरु बीचको सहकार्य र घुलमिल राम्रो होस् भन्ने पनि यो अभ्यासको उद्देश्य हो । अभ्यासका मुख्य कार्यक्रमहरुम फिल्डमा प्रशिक्षण कार्यक्रमहरु, स्टाफ प्रशिक्षण तथा क्षमता वृद्धिको लागि ध्यान दिइनेछ,’ सेनाको भनाई छ । दोस्रो संस्करण सन् २०१३ मा भएको थियो । जसमा २३ मुलुकका ८५० सैनिकहरु उपस्थित रहेका थिए । तेस्रो संस्करणमा भने सबैभन्दा बढी २९ मुलुकका सैनिकहरु सहभागि थिए । त्यसमा ११ सय ३५ जना सैनिकहरु सम्मिलित थिए ।

प्रकाशित : फाल्गुन ९, २०८० १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×