कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली

प्रतियुनिट करिब ९ रुपैयाँमा बिजुली बेच्ने गरी प्रस्ताव पेस
भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क ह्विलिङ चार्ज बंगलादेशले नै तिर्ने
सीमा तामाङ

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतलाई दिएकै मूल्यमा बिजुली बेच्ने गरी बंगलादेशलाई प्रस्ताव पेस गरेको छ । भारतलाई प्रतियुनिट करिब ९ रुपैयाँसम्ममा बिजुली बेचिरहेको छ । प्राधिकरणले बंगलादेशलाई पनि सोही मूल्यमा बिजुली बेच्ने गरी प्रस्ताव पठाएको स्रोतले जनाएको छ ।

भारतलाई दिएकै मूल्यमा बंगलादेशलाई बिजुली

प्राधिकरणले फेब्रुअरीको पहिलो साता बंगलादेशको पावर डेभलपमेन्ट बोर्डमा भारतकै महसुल बराबर बिजुली बेच्ने दरसहित प्रस्ताव पेस गरिसकेको छ । ‘प्राधिकरणले प्रतियुनिट ६.७ सेन्ट (मंगलबारको विनिमय दरअनुसार ८ रुपैयाँ ९१ पैसा’ मा बिजुली बेच्ने गरी प्रस्ताव पेस गरिसक्यो, बिजुली खरिदबिक्रीको मूल्य भने दुई देशको आपसी समझदारीमा टुंगिन्छ,’ स्रोतले भन्यो, ‘प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकसहितको टोली आपसी समझदारीका लागि बंगलादेश जाँदै हुनुहुन्छ ।’

मूल्यमाथिको छलफलका लागि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बुधबार बंगलादेश जाँदै छन् । ‘मूल्यको विषयमा अहिले नै यकिन भन्न सकिँदैन,’ घिसिङले भने, ‘हामीले गरेको प्रस्तावमाथि यसैसाता बंगलादेशसित छलफल हुँदैछ । समझदारी जुट्यो भने बंगलादेशको मन्त्रिपरिषद्ले निर्णय गरी सम्झौताको प्रक्रिया अगाडि बढ्छ ।’ त्यसपछि मात्रै बंगलादेशसँग बिजुली बिक्रीको औपचारिक बाटो खुल्ला हुनेछ । प्राधिकरणले बिजुली बिक्रीबापतको मूल्य भारतको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । यो दर जुन १५ देखि नोभेम्बर १५ सम्मका लागि प्रस्ताव गरेको हो । सम्झौता अवधि ५ वर्ष हुनेछ ।

प्राधिकरणले भारतीय प्रसारण लाइन प्रयोग गरेबापतको भाडा शुल्क ह्विलिङ चार्ज बंगलादेशले नै तिर्ने जनाएको छ । एनटीपीसी विद्युत् व्यापार निगम (एनभीएनएन) लाई तिर्ने शुल्क र करिब ३ प्रतिशतका चुहावट बंगलादेशले नै बेहोर्ने गरी प्राधिकरणले प्रस्ताव पेस गरेको हो । महसुल दरसहित बंगलादेशमा पेस गरेको प्रस्ताव प्रक्रियामै रहेको प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । ‘फेब्रुअरी ४ भित्रै बंगलादेशले मागेअनुसार प्रस्ताव पेस गरिसक्यौं,’ उनले भने, ‘बंगलादेशका तर्फबाट प्रक्रियामा नै रहेकाले थप बोल्न मिल्दैन । प्रस्तावले अन्तिम रूप लिएपछि थाहा भइहाल्छ ।’

महसुल दरमा सहमति जुटेसँगै ४० मेगावाट बिजुली खरिदबिक्रीका लागि औपचारिक रूपमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ । बंगलादेश मन्त्रिपरिषद्को आर्थिक मामिलासम्बन्धी समितिले गत मंसिर २० मा नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको थियो । सोहीअनुसार मूल्यलाई प्राथमिकतामा राखेर बिक्रीका लागि प्रस्ताव पठाउन बंगलादेशले नेपाललाई पत्र पठाएको थियो । भारतको पावर ट्रेडिङ कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत बंगलादेशसँग विद्युत् व्यापार हुनेछ ।

नेपाल–बंगलादेशको ४० मेगावाट विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको र बंगलादेशका ऊर्जा विज्ञहरूले महसुलमा सतर्कता अपनाउनुपर्ने र १० टाकाको नजिक सम्झौता भए बिजुली महँगो पर्ने बताएका छन् । ऊर्जाविज्ञ प्राध्यापक इजाज हुसेनले प्रसारण लागतबाहेक १० टाका नजिक पुगेको खण्डमा प्रतियुनिट बिजुलीको महसुल उच्च हुने बताएको बंगलादेशको राष्ट्रिय दैनिक पत्रिका डेल्ली अब्जर्भरमा उल्लेख छ ।

‘हामी नेपालबाट जलविद्युत् किन्न तयार छौं, जुन विद्युत्को सबैभन्दा सस्तो स्रोत हुन सक्छ । तर महसुल १० टाका (प्रसारण लागतबाहेक) नजिक पुग्यो भने यो मूल्य उच्च हुनेछ,’ हुसेनले डेली अब्जर्भरलाई भनेका छन् । भविष्यमा नेपालबाट विद्युत् आयात बढाउन सक्ने भन्दै आगामी हरेक आयोजनामा पहिलो सम्झौता नै महसुल वार्ताको बेन्चमार्क हुन सक्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बंगलादेशका ऊर्जाविज्ञहरूले बताएका छन् ।

प्रस्तावमा नेपालले बंगलादेशी निकायले छिट्टै भुक्तानी गरे विधेयकमा छुट दिने सर्त पनि राखेको छ । बंगलादेशले जारी गरेको ४५ दिनभित्र बिल तिर्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ । बिल जारी भएको सात दिनभित्र भुक्तानी गरेको खण्डमा खरिदकर्ताले ट्यारिफमा निश्चित छुट पाउनसमेत प्रस्तावमा उल्लेख गरेको डेली अब्जर्भरमा छ ।

बंगलादेशले भारतको बहरामपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् आयात गर्ने जनाएको छ । बंगलादेशले सेवा प्रदायकका रूपमा भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत नेपालबाट बिजुली आयात गर्नेछ । अहिले पनि भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगमले बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई बिजुली बिक्री गर्दै आएको छ । त्यसैले नेपालको विद्युत् व्यापार पनि भारतको पावर ट्रेडिङ कम्पनी एनटीपीसी विद्युत् व्यापार निगममार्फत बंगलादेशसँग हुने प्राधिकरणले जनाएको छ ।

सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । आन्तरिक खपत १३ हजार मेगावाट, भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । हालै भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने दीर्घकालीन विद्युत् व्यापार सम्झौतासमेत भइसकेको छ । बंगलादेशले नेपालमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो आयोजना निर्माण गरी त्यसको बिजुली पनि लैजान चाहेको छ । जेठ पहिलो साता भएको नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल–बंगलादेश मिलेर यो आयोजना निर्माण गर्ने सहमति भएको थियो ।

भारतीय कम्पनी जीएमआरले ९०० मेगावाटको माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेगावाट बिजुली पनि बंगलादेशलाई बिक्री गर्ने जनाएको छ । अघिल्लो भदौमा नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले नेपालबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरेको थियो । त्यतिबेला बंगलादेशको भेरामारामा रहेको हाई भोल्टेज डाइरेक्ट करेन्ट संरचनामा विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिद–बिक्री सम्झौताका लागि भारतलाई आग्रह गर्ने सहमति भएको थियो । त्रिपक्षीय सम्झौताका लागि मस्यौदामा सहमति जुटिसकेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ । तर हालसम्म त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भने भइसकेको छैन ।

प्रकाशित : फाल्गुन ९, २०८० ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×