नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन् । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हो : राष्ट्रपति पौडेल](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/rastrapari-1322024085930-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । 'समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,' उनले भने ।
देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।
'गुरुकुलबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ,' राष्ट्रपति पौडेलले भने । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ र आध्यात्मिक ज्ञान, विज्ञानको मूल वेदलाई मानिएको उल्लेख गर्दै उनले नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको बताए ।
राष्ट्रपति पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गरे ।
समारोहमा वाग्मती प्रदेशका पर्यटनमन्त्री पुकार महर्जनले वैदिक सनातन संस्कृतिसँग जोडिएको गार्गी गुरुकुल विद्याश्रमको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले गार्गी गुरुकुलको विकासका लागि प्रदेश सरकारले ४५ लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिए । महायज्ञका लागि प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने उनले बताए ।
भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनु दाहालले कन्यालाई नैतिकवान र योग्य नागरिक बनाउनका लागि गार्गी गुरुकुलबाट सहयोग पुग्ने बताइन् । उनले गार्गी कन्या गुरुकुलको विकासका लागि भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताइन् । महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक डा गोविन्द टण्डनले नारीलाई आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले २०७५ सालमा गार्गी कन्या गुरुकुल विद्याश्रम स्थापना गरिएको जानकारी दिए । आजदेखि सुरु भएको श्रीमद् भागवतमहायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)