कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

माओवादी बैठक : सहर र मधेश केन्द्रित विशेष अभियान चलाउने

रासस

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सहरी क्षेत्र र तराई–मधेशमा संगठन सुदृढिकरण गर्न विषेश अभियान सञ्चालन गर्ने भएको छ । सांगठनिक संरचना कमजोर भएको भन्दै माओवादी केन्द्रले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

माओवादी बैठक : सहर र मधेश केन्द्रित विशेष अभियान चलाउने

आइतबारदेखि जारी पार्टीको केन्द्रीय समितिको बैठकले विशेष गरी तराई–मधेशका जिल्लामा जनपरिचालन, संगठन निर्माण एवं विस्तारलाई केन्द्रमा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

'सहरी क्षेत्रमा समेत पार्टीलाई थप विस्तार गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गरिनेछ । माओवादी केन्द्रले मङ्गलबारदेखि विधान अधिवेशनको आयोजना गरेको छ । अधिवेशन सकिएपछि तराई–मधेश र सहरी क्षेत्रमा विशेष अभियान सञ्चालन गरिने छ,' प्रवक्ता सापकोटाले भने ।

माओवादी केन्द्रले उत्तर दक्षिण र पूर्व–पश्चिम अभियानसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा धारणा राख्ने नेताहरुले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’ले पार्टीलाई थप सबल बनाउन मद्दत पुगेको बताएका थिए ।

चार महिने अभियानमा पार्टीको संगठन निर्माण, पुनःनिर्माणका साथै शहीद परिवार, बेपत्ता योद्धाका परिवार र घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन् । यस्तै सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ । माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ ।

पार्टीका उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले प्रस्ताव गरेको विधानमाथि माओवादी केन्द्रको स्थायी समिति बैठकमा छलफल भइसकेको छ । यसैगरी माओवादी केन्द्रले सङ्घीयता, गणतन्त्र एवं समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत परिवर्तनका मुद्धालाई थप संस्थागत गर्न अभियान चलाउने भएको छ ।

त्यसका लागि जनवर्गीय संगठन र मुक्ति मोर्चाको सम्मेलन गर्ने भएको छ । जनवर्गीय संगठन एवं मोर्चाको सम्मेलन गरेर पुनः गठन गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले बताए । यस्तै प्रवासमा रहेका नेपालीका लागि प्रशिक्षण र सङ्गठित गर्ने निर्णय गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले आर्थिक क्षेत्रमा ठूलो परिवर्तन जरुरी रहेकाले सोही अनुसार सरकारले काम गरिरहेको बताएका छन् । उनले नीति तथा कार्यक्रम र बजेटमा समेत क्रमभङ्गता गरिने उल्लेख गरे ।

अध्यक्ष दाहालले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नै समाजवादको भ्रुण भएकाले सरकार सोही दिशामा केन्द्रीत रहेको स्पष्ट पारे । सरकारले सुशासन र समृद्धिको पक्षमा इमान्दार भएर प्रयत्न गरेको उनको भनाइ थियो ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालेको उल्लेख गर्दै अध्यक्ष दाहालले अनियमितता अन्त्य नभएसम्म समाजवादको आधार तयार नहुने बताएका थिए ।

प्रकाशित : माघ २९, २०८० १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×