कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाण्डेयको नागरिकता र पासपोर्टमाथि संसदीय समितिले छानबिन गर्ने

जयसिंह महरा

काठमाडौँ — संघीय संसद्को महासचिवमा सिफारिस भएका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले फरक–फरक नागरिकता लिएको र दुरुपयोग भएको भन्दै संसदीय समितिमा छानबिन तथा कारबाहीको मागसहित उजुरी परेको छ । ६ वर्ष उमेर घटाएर नागरिकता लिएको, सोही नागरिकताका आधारमा पासपोर्ट लिई दुरुपयोग गरेको भन्दै कार्यवाहक महासचिवको समेत जिम्मेवारी प्राप्त प्रतिनिधिसभा सचिव पाण्डेयको विषयमा छानबिनका लागि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको हो ।

पाण्डेयको नागरिकता र पासपोर्टमाथि संसदीय समितिले छानबिन गर्ने

समितिका सभापति रामहरि खतिवडाले संसद्को महासचिवमा सिफारिस पाण्डेयविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले पाण्डेयको नागरिकता र पासपोर्टको विषयमा परेको उजुरीको सत्यतथ्य समितिले जान्ने प्रक्रियामा रहेको जानकारी दिए । त्यसपहिले नै पाण्डेयले प्रस्ट पार्ने अपेक्षा राखिएको पनि उनले बताए । ‘पाण्डेयविरुद्ध समितिमा उजुरी आएको छ । नागरिकताको विषयमा उजुरी आएकाले यस विषयमा भएको के हो भन्ने जानकारी लिन खोजेका छौं,’ खतिवडाले भने, ‘यस विषयमा कानुनको जानकार भएकाले उहाँले पनि प्रस्ट पार्नुहोला । जन्ममिति फरक पारेर नागरिकता लिएको र पासपोर्ट पनि फरक–फरक जन्ममिति भएको लिएको उजुरीमा दाबी गरिएको छ ।’

जिल्ला प्रशासन पाल्पाबाट २०४६ असार २८ मा पाण्डेयले पहिलो नागरिकता लिएका थिए, जसको नम्बर ३५ थियो भने जन्ममिति २०२६ असोज १५ । उनले २०६६ भदौ ८ मा पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ६ वर्ष उमेर घटाएर नागरिकता लिएका थिए । दोस्रो नागरिकताको जन्ममिति २०३२ पुस २६ उल्लेख छ । जन्ममिति घटाएर लिएको नागरिकता पेस गरेर पाण्डेयले पासपोर्टसमेत लिएका थिए । पासपोर्टको जन्ममिति सन् १९७६ जनवरी १० (वि.सं. २०३२ पुस २६) रहेको छ ।

पाण्डेयले नागरिकतामा जन्ममिति फरक पर्न गएको र पासपोर्ट लिएको स्वीकार गरेका छन् । तर, ती दुवैको दुरुपयोग नगरेको उनको भनाइ छ । आफूले त्यसरी लिएका नागरिकता र पासपोर्ट कानुनी रूपमा नै सम्बन्धित निकायमा फिर्ता गरिसकेको उनले जानकारी दिए । ‘सरकारको सम्बन्धित निकायले हेरेर, छानबिन गरेर, मैले भनेको कुरा सत्य रहेछ भनेर विश्वास गरेर सच्याइसकेको विषय हो,’ उनले भने । २०३२ सालको जन्ममिति रहेको पासपोर्ट २०७५ सालमा फिर्ता गरेको पाण्डेयले जानकारी दिए । ‘२०७५ मा पासपोर्ट सम्बन्धित निकायमा फिर्ता गरिदिएको थिएँ । २०६९ मा पासपोर्ट लिए पनि प्रयोग गरेको थिइनँ । त्यसबीचमा पुरानै नागरिकताका आधारमा प्राप्त सरकारी पासपोर्ट बोकेर विदेश गएको थिएँ,’ उनले भने ।

उनले उक्त जन्ममिति रहेको नागरिकता भने लिएको १० वर्षपछि २०७६ भदौ २३ मा जिल्ला प्रशासन कार्यालयले रद्द गरेको थियो । रद्द गर्नका लागि पाण्डेयले निवेदन दिएका थिए । दोस्रो नागरिकता रद्द भएपछि सुरुमा लिएको नागरिकता पनि पाल्पा जिल्ला प्रशासनलाई नै बुझाएर नयाँ नागरिकता लिएका थिए । संघीय संसद् सचिवालयमा बुझाएको प्रमाणपत्रको फोटोकपीमा नागरिकता जारी मिति २०७६ मंसिर २२ गते उल्लेख छ । उनले सट्टा नागरिकता लिएको बताएका छन्, जसको नम्बर ३९–०१–७६–०५५१५ छ भने जन्ममिति २०२६ असोज १५ छ । उनीसँग हाल रहेको नागरिकताको पछाडिपट्टिको पुछारमा लेखिएको छ, ‘२०६२/१०/१८ को घटनाबाट यस कार्यालयको सबै अभिलेख जली नष्ट भएकाले पुरानो ना.प्र.नं. ३५ को सट्टा यो ना.प्र.नं. जारी गरिएको ।’

आफ्नो नागरिकता र पासपोर्टको प्रसंग अहिले ‘उचालिएको’ पाण्डेयको भनाइ छ । कानुनी रूपमा सल्टिइसकेको विषयलाई लिएर संसदीय समितिमा बेनामे उजुरी हालिएको आफूलाई पनि जानकारी रहेको उनले बताए ।

पाण्डेय २०८० वैशाख तेस्रो साता सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधिसभा सचिवमा नियुक्त गरिएको थियो । प्रतिनिधिसभा सचिव बनेको ८ महिना नबित्दै पाण्डेयलाई सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना महासचिवमा पाण्डेयलाई नियुक्त गर्नुपर्ने सिफारिसपत्र बोकेर मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पुगेका थिए । पाण्डेयलाई महासचिव नियुक्त गर्नका लागि २०८१ भदौ ३ मा कार्यकाल सकिन लागेका तत्कालीन महासचिव भरतराज गौतमलाई राजीनामा गर्न लगाइएको थियो ।

प्रकाशित : माघ ६, २०८० ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×