कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

न बिरामीलाई भेट्न दिइएको थियो, न त बिरामीको अवस्थाबारे नै जानकारी गराएका थिए, एक प्रकारले बिरामीलाई बन्धक जस्तै बनाइएको थियो
घाइते लान दिएनौ भने म ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्छु, घाइते तलमाथि भयो भने ज्यान मारेको अभियोग लाग्छ भनेपछि मात्र बिरामी पठाउने प्रक्रिया अगाडि बढाएका हुन् । -केदार कार्की, मुख्यमन्त्री, कोशी प्रदेश

झापा, काठमाडौं, मोरङ — सिंगो सहर लक्ष्मी पूजाको रौनकमा मस्त भइरहँदा गत कात्तिक २६ मा मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीका दीपक कार्कीको घरमा राति अचानक आगो लाग्यो । आगो निभाउन गएका चार प्रहरीसहित २८ सर्वसाधारण घाइते भए । यो घटना यतिमै सीमित भएन । जब घाइतेलाई थप उपचारका निम्ति काठमाडौं लैजान खोज्दा बिर्तामोडस्थित बीएन्डसी अस्पतालले आनाकानी गर्‍यो, समस्या झनै पेचिलो बन्यो । 

जब बीएन्डसीले पैसाका लागि आगलागीका घाइतेलाई ‘रेफर’ गरेन

घाइते १४ जनालाई विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताललगायतमा लगिएको थियो । ती घाइतेलाई भोलिपल्ट थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगियो । झापास्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएका सोही घटनाका १० घाइतेलाई पनि थप उपचारका लागि काठमाडौं लैजाने प्रयास गरियो । तर, अस्पताल प्रशासनले ‘रेफर’ गर्न मानेन । अस्पतालको आनाकानी यतिमै सीमित भएन । बिरामीका परिवारजनले जलनको थप उपचार यहाँ सम्भव नहुने भन्दै काठमाडौं लैजान मिलाएको सबै प्रबन्ध अस्पतालको अड्डीका कारण तत्काल सम्भव भएन ।

अवस्था कतिसम्म जटिल बन्यो भने आगलागीका घाइतेलाई अस्पतालबाट छुटाउन कोशी प्रदेश सरकारका बिनाविभागीय मन्त्री शमशेर राई र स्वास्थ्य सचिव सुधा देवकोटा नै अस्पताल पुग्नुपर्‍यो । मन्त्री राईले बिरामी आफूलाई बुझाइदिन भने पनि अस्पतालले बिरामीको स्वास्थ्य सुरक्षा सुनिश्चितता नभई रेफर गर्न नमिल्ने भन्दै फर्काइदियो ।

मन्त्री राईले अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पैसा बुझाएर मात्रै बिरामी लैजान भनेको बताए । मन्त्री राईको अनुरोध नमानेपछि मुख्यमन्त्री केदार कार्की पनि अस्पताल पुगे । उनले आफूसँग पनि अस्पतालले बिरामी डिस्चार्ज गर्न आनाकानी गरेको बताए । कान्तिपुरसँगको कुराकानीमा कार्कीले भने, ‘जलनको उपचार हुँदैन भन्ने थाहा पाईपाई पनि सिकिस्त घाइतेलाई रेफर गरेन । जबकि, जलेकाहरू जीवन मृत्युको लडाइँ लडिरहेका थिए ।’

बिना विभागीय मन्त्री राईले अनुरोध गर्दा अस्पतालले ‘बिरामी दिन्नौं, यस्ता कति मन्त्री आउँछन् आउँछन्’ भनेर ओठे जवाफ दिएको मुख्यमन्त्री कार्कीले बताए । प्रदेश सरकारले उपचारको खर्च ग्यारेन्टी गर्छ भनेपछि बल्ल उनीहरू बिरामी पठाउन तयार भएको बताउँदै कार्कीले भने, ‘बिरामी लान दिएनन् भने म ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्छु । बिरामी तलमाथि भयो भने ज्यान मारेको अभियोग लाग्छ भनें । पछि प्रमुख जिल्ला अधिकारी र एसपीले कुराकानी गरेर बिरामी लाने प्रक्रिया अगाडि बढाएका हुन् ।’

अस्पताल प्रशासनले भने खास समस्या नभएर सामान्य ‘मिसअन्डरस्ट्यान्डिङ’ मात्रै भएको जनाएको छ । अस्पतालका व्यवस्थापकमध्येका एक प्रमिश गिरीका अनुसार बिनाविभागीय मन्त्री राईले बिरामी बुझाइदिनूस् भने पनि हचुवाका भरमा उहाँलाई बुझाउन नमिल्ने र उपचार गर्न नसक्दा मात्रै ‘रेफर’ गर्न सकिने प्रस्ट पारेको बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मन्त्री र अस्पताल प्रशासनको बुझाइमा सामान्य समस्या भएको जनाउँदै प्रदेशका मुख्यमन्त्री कार्कीसहित अस्पताल व्यवस्थापनसँगको छलफलपछि बिरामी ‘रेफर’ गरेर काठमाडौं पठाइएको जनाए । प्रजिअ पोखरेलले भने, ‘मुख्यमन्त्री आफैं छलफलमा सहभागी भएपछि अस्पतालले रेफर गर्न सहमति गरेपछि घाइतेलाई सेनाको हेलिकोप्टरमा राखेर मंगलबार काठमाडौं पठाइएको हो ।’ उनले उपचारमा लागेको करिब ५ लाख रुपैयाँ प्रदेश सरकारले भुक्तानी गर्ने भएको पनि बताए । अस्पतालले रेफर गर्नुअघि पैसाको सुनिश्चितता खोजेपछि मुख्यमन्त्री कार्कीले दैवी प्रकोपको बैठक बसेर निर्णय गर्ने गरी अग्निपीडितको उपचार खर्चको बिल प्रदेश सरकारलाई पठाइदिन प्रजिअ पोखरेललाई निर्देशन दिएका थिए ।

यो घटनाबारे जानकार एक सुरक्षा अधिकारीका अनुसार मुख्यमन्त्री कार्कीले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामबाबु गिरीलाई भेटेर रेफर रोक्न नमिल्ने भन्दै पैसाको कारण भए उपलब्ध गराउने बताएका थिए । ‘मुख्यमन्त्रीले पैसाकै कारण हो भने म ग्यारेन्टी लिन्छु भन्नुभयो,’ ती सुरक्षा अधिकारीले भने, ‘त्यसपछि डा. गिरीले यो लेभलबाटै कुरा आएपछि नाइँ भन्ने त कुरै आउँदैन भनेका थिए ।’

उपचारका लागि विराटनगर हुँदै काठमाडौं लगिएकामा उर्लाबारी–७ का विशाल बस्नेत, शिवकुमार विक, रामनरेश मरिता, दिनेश शर्मा, दीपेन्द्र कार्की, सुमन चौधरी, कैलाश गुरुङ, नेत्र भण्डारी, राजन लुइँटेल, रातामान सोरेनलगायत १४ जना छन् । बीएन्डसीमा उपचाररत उर्लाबारी–७ का कविराज दाहाल, लालबहादुर लिम्बू, नवीन थापा, विक्रम साह, प्रकाश लिम्बू, तपन पण्डित, सजन स्याङ्तेन, रुकुमबहादुर कार्की, हेमकुमार दाहाल र करण संग्रौलालाई पनि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

पीडित भन्छन् : बन्धकजस्तै बनाइयो

आइतबार राति मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते बनेका ससुरालाई सोमबार नै थप उपचारका लागि काठमाडौं लैजाने तयारी थियो ज्वाइँ फणिन्द्र थापाको । सेनाको हेलिकोप्टर पनि तयारी अवस्थामा थियो । तर, अस्पताल प्रशासनले ‘क्यास’ नदिई रेफर गर्न नमानेपछि ससुरा ७० वर्षीय रुकुमबहादुर कार्कीको जलेको शरीर टुलुटुलु हेरेर बस्न बाध्य भए उनी । थापाले ‘इमर्जेन्सी केस’ भएकाले अस्पताल प्रशासनलाई हारगुहार गरे । तर, उनको चीत्कार अस्पताल प्रशासनले सुनेन ।

अन्त्यमा उनले उर्लाबारी नगरपालिकाका प्रमुखलाई गुहारे । नगर प्रमुख गंगाप्रसाद खरेलले बिरामीको उपचारमा लागेको खर्चको जिम्मा नगरपालिकाले लिने बताए पनि उनको कुरासमेत सुनवाई भएन । खरेलले अस्पताल सञ्चालकले गर्दा घाइतेलाई काठमाडौं ल्याउन ढिलाइ भएको बताए । ‘आफूले जिम्मा लिए पनि अस्पताल सञ्चालक पैसाका लागि घाइतेहरूलाई रोक्यो,’ उनले भने ।

घाइतेका आफन्त थापाले बीएन्डसी अस्पतालमा आगलागीका घाइतेको उपचार गर्ने विशेषज्ञ डाक्टर नभएकाले थप उपचार गराउन काठमाडौं लैजान खोजेको बताए । ‘बिरामीको ज्यानै जाने खतरा छ,’ उनले भने, ‘न बिरामीलाई भेट्न दिइएको थियो, न त बिरामीको अवस्थाबारे नै जानकारी गराएका थिए । एक प्रकारले बिरामीलाई बन्धक जस्तै बनाइएको थियो ।’

अर्का बिरामीका आफन्त राम कार्कीले मानसिक तनाव मात्र नभई अस्पताल प्रशासनको व्यवहारले हैरानी खेपेको बताए । ‘पैसा नतिरेसम्म रगतको रिपोर्ट पनि दिएनन्,’ उनले भने, ‘यस्तो रबैया ठीक लागेन ।’ अस्पतालले मानवीय संवेदना नै नबुझेको उनको आरोप छ । ‘सबै पैसासँग मात्र तुलना गरे । स्थानीय सरकारले तिर्छु भन्दा पनि मानेनन् । जुन ज्यादै दुःखद् कुरा हो ।’

काठमाडौं ‘रेफर’ गरिएका २५ जनामध्ये कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । कार्कीलगायत ३ जना मेडिकल आईसीयूमा, ४ जना बर्न आईसीयूमा, ८ जना प्लास्टिक सर्जरी वार्डमा र १० जना जनरल वार्डमा छन् । मेडिकल वार्डमा उपचाररत ६० प्रतिशत, बर्न सर्जरीमा ३५ देखि ५० प्रतिशत, जनरल वार्डमा ८ देखि ३० प्रतिशत जलेका बिरामीको उपचार भइरहेको प्रशासनले जनाएको छ ।

अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा. किरण नकर्मीका अनुसार थप क्रिटिकल कियर चाहिने भएकाले बर्न वार्डमा उपचाररत बिरामीलाई मेडिकल वार्डमा ट्रान्सफर गर्ने तयारी रहेको बताए । ‘८ जना रेड जोनमा उपचाररत छन्,’ उनले भने, ‘पोलेको ठाउँमा भन्दा पनि अन्य अंगमा प्रभाव परेको छ । ४० प्रतिशतलाई अत्यन्त गम्भीर जलनका रूपमा लिन्छौं ।’

वरिष्ठ प्लास्टिक सर्जन डा. शंकर राईले उपचारका लागि अमेरिकाबाट चिकित्सको टोली ल्याउने तयारी भइरहेको बताए । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत पनि बिहीबार बिरामीको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर पुगेका थिए । ‘पैसा अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् । अप्ठ्यारो परेको ठाउँमा मन्त्रालय छ,’ उनले भने, ‘मन्त्रालयले अभिभावकको भूमिका खेल्छ ।’

प्रकाशित : मंसिर १, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×