कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

एमालेसँग संयुक्त मोर्चा, पार्टी एकता र गठबन्धन सरकार सम्भव छ : पुन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले ढिलोचाँडो एमालेसँग पार्टी र सरकारमा सहकार्यको सम्भावना रहेको बताएका छन् ।

एमालेसँग संयुक्त मोर्चा, पार्टी एकता र गठबन्धन सरकार सम्भव छ : पुन

काठमाडौंमा शनिबार आयोजित 'माओवादी जनयुद्धका सहिद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान' कार्यक्रममा बोल्दै पुनले कम्युनिस्ट पार्टीहरूको सुरुआत एउटै रहेको र राजनीतिक एजेन्डा पनि समान रहेकाले दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताए ।

फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे । ‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिष्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, उनले भने, ‘ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’

दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटक प्रधानमन्त्री बनाएको नबिर्सन पुनले आग्रह गरे । नेकपा गठन गर्दा राजनीतिक प्रतिवेदनमा माओवादीले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व लिएको र माओवादी जनयुद्धको स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको बताए ।

कांग्रेसले २००७ साल, २०१८ साल, २०२५/०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा २०२८ सालमा र माओवादीको नेतृत्वमा २०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन आग्रह गराए । त्यसरी राजनीतिक रूपमा हतिायर उठाउने कार्य निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरूलाई कुनै अप्ठेरो नरहेको उनले बताए ।

नेपालका मूलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको बताए । ‘हामी सामन्तवाद र राजतन्त्रको अन्त्यका लागि कांग्रेसले र तत्कालीन मालेले हतियार उठाउनु ठीक थियो भन्न सक्छौ,' पुनले भने, ‘जनयुद्धले उठाएका मुद्धा र परिवर्तनलाई साझा सम्पत्ति हो भनेर नेकपाको दस्तावेजमा स्वीकार गर्ने ओलीजी र एमालेका नेताहरूलाई सबै आन्दोलनको सम्मान गर्न आग्रह गर्न चाहन्छु । तीनवटै ठूला दलले कहिले सशस्त्र र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेका छौं । परिवर्तनका जस सबै लिने, त्यसको लाभ पनि लिने र समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गरेका आन्दोलनहरुको अपमान कसैले पनि गर्नुहुँदैन ।’

पुनले एमाले र माओवादीबीच सैद्धान्तिक मतभेद नरहेको पनि बताए । धनी र गरिब, गाउँ र सहर, एक जात र अर्को जात, एक धर्म र अर्को धर्म, रोजगार र बेरोजगार, महिला र पुरुष, दलित र गैरदलितबीच विभेद हुन नहुनेमा माओवादी केन्द्र र एमाले एकै ठाउँ रहेको पुनको भनाइ थियो ।

शिक्षा निःशुल्क हुनुपर्ने, सबै नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, गाँस, बास र कपासमा समान पहुँच हुनुपर्नेमा पनि दुई पार्टीबीच सैद्धान्तिक विभेद नरहेको उनले बताए । ‘जब यी सबै कुरामा हामी समान विचार राख्छौं भने मिलेर जान किन सक्दैनौं ?,' पुनले प्रश्न गरे, ‘म ओलीजी र नेताहरूलाई दूरी बढाउने काम नगर्न आग्रह गर्न चाहन्छु ।’

त्यस्तै, पुनले शान्ति प्रक्रियाका बाँकी काम र संविधान रक्षासहित केही साझा एजेन्डामा कांग्रेससँग माओवादीले सरकारमा सहकार्य गरिरहेको भए पनि एमालेसहित प्रतिपक्षी दलहरूलाई निषेध गर्नुपर्छ भन्नेमा आफ्नो दल नरहेको बताए ।

मुलुकको परराष्ट्र नीति, विकास नीति, सामाजिक रुपान्तरण, विकास तथा सुशासनका एजेन्डामा सबै दलबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित : आश्विन २०, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?