कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मृतकको जग्गा हडप्न सक्रिय आफन्त प्रहरी अनुसन्धानको दायरामा

काठमाडौँ — मृतक उमादेवी गुरुङको जग्गा हडप्नका लागि नक्कली कागजात बनाउने आफन्तमाथि प्रहरीले अनुसन्धान थालेको छ । जग्गा हत्याउन उमादेवीकी दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवीले ललितपुर महानगर-२ र स्याङ्जाको बिरुवा गाउँपालिका -७ को वडा कार्यालयको नाम, छाप, दस्तखत भएको मृत्यु दर्ता र नाता प्रमाणितको प्रमाणपत्र लगनखेल मालपोत कार्यालयमा पेस गरेका थिए ।

मृतकको जग्गा हडप्न सक्रिय आफन्त प्रहरी अनुसन्धानको दायरामा

टेकु प्रहरीको अनुसन्धानबाट उनीहरूले मालपोत लगनखेललाई बुझाएका मृत्युदर्ता र नाता प्रमाणित कागजात नक्कली भएको खुलेको छ ।पूर्णिमा, उमादेवी र मिरादेवी दिदीबहिनी हुन् । उनीहरुका दुई भाइ छन् । उनीहरूका बाआमा बितेपछि जापानी नागरिक डा. युवा मोहराले ललितपुर महानगरपालिका -२ स्थित घरमा लालनपालन गरेका थिए ।

उमादेवीले ०३८ साल माघ ७ गते भारतको कर्नाटक राज्यका एमसी परेरासँग विवाह गरिन् । उनले ०४१ सालदेखि २०४४ सालसम्म सहायक प्राध्यापक भई त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनमा शिक्षण गरिन् । श्रीमान्-श्रीमती मिलेर उमादेवीको नाममा दर्ता रहेको चितवनस्थित जग्गामा नमुना कृषि फार्म सञ्चालन गरे । उनीहरुका तीन सन्तान भए । उमादेवीको ब्रेन ह्यामरेज भएर भारतमा उपचारका क्रममा ६४ वर्षको उमेरमा ०७४ भदौ २६ गते मृत्यु भयो । यसपछि उमादेवीको नाममा रहेको ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ५ मा कित्ता नं. ३५३ मा ०-८-०-०, कित्ता नं. १४८ मा १-०-०-०, ललितपुरकै सैंबुमा कित्ता नं. २१३ को १-४-२-० र सुनाकोठीमा कित्ता नं.२४० को ५-१५-०-० जग्गाहरूमा हकदाबी गर्दै पूर्णिमा र मीरादेवीले लगनखेल मालपोत कार्यालयमा निवेदन पेस गरे ।

पूर्णिमा र मीरादेवीले आमाबुवाको पहिल्यै मृत्यु भइसकेको, आफ्नी बहिनी उमादेवी अविवाहित रहेको, उनको पालनपोषण, औषधोपचार तथा मृत्युपश्चात काजक्रिया आफूले गरेको हुँदा ती चारै कित्ता जग्गा आफूहरूको नाममा संयुक्त नामसारी गरिपाउँ भनी लगनखेल मालपोत कार्यालयमा निवेदन दिएका थिए । यसका लागि उनीहरूले स्याङ्जाको बिरुवा गाउँपालिका- ७ बाट ०७७ मंसिर १६ गते उमादेवीको मृत्युदर्ता र उमादेवी-मिरादेवी दिदीबहिनी भएको नाता प्रमाणितको प्रमाणपत्र पेस गरेका थिए । यसैगरी ०७८ असोज ४ गते ललितपुर महानगर - २ को वडा कार्यालयबाट पूर्णिमा, उमादेवी र मीरादेवी दिदीबहिनी भएको नाता प्रमाणित पेस गरेका थिए । उनीहरूले उमादेवी आजीवन अविवाहित रहेर पनि भारतीय नागरिक परेराले जग्गा दाबी गरिरहेको आरोप लगाउँदै आएका थिए ।

टेकु प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगर-२ र बिरुवा गाउँपालिका- ७ को वडा कार्यालयमा पत्राचार गरेर बुझेको थियो । ललितपुर महानगर-२ वडा कार्यालयले ‘निजहरूले प्रमाणित/सिफारिस गरी लिएको अभिलेखमा नदेखिएको’ भनि जवाफ पठायो । स्याङ्जाको बिरुवा गाउँपालिका- ७ ले ‘यस कार्यालयबाट जारी नभएको उक्त दुवै कागजात किर्ते भएको साथै कार्यालयको बदनाम गर्ने प्रयास भएकोले सम्बन्धित व्यक्तिहरूलाई कारबाही गरी दिनुहुन’ भन्दै जवाफ पठायो । मृतक उमादेवी र मीरादेवी बिरुवा गाउँपालिकाका स्थायी बासिन्दा रहे/नरहेको यकिन नभएको र उमादेवीको मृत्युको बारेमा समेत जानकारी नभएको लेखी पठाएको थियो । यसपछि प्रहरीले ‘जाहेरवालामध्ये मीरादेवी गुरुङको हकमा लिखतसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आवश्यक कागजातहरू पठाइएको’ भनी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको ०८० साउन २८ को अभियोग पत्रमा उल्लेख छ ।

सो अभियोग पत्र भने उमादेवीकै नाममा रहेको कीर्तिपुरस्थित कित्ता नं. २०३ को ९९२.७० वर्गमिटर जग्गा हडप्ने मकवानपुरको थाहा नगरपालिका - १२ टिस्टुङका सतराज गुरुङविरुद्धको हो । सतराजले नक्कली कागजातमा उमादेवीलाई आमा नाता स्थापित गरेर कलंकी मालपोत कार्यालयबाट ०८० वैशाख २७ मा कीर्तिपुरको जग्गा आफ्नो नाममा पारेका थिए । यो थाहा पाएपछि सतराजविरुद्ध पनि ०८० वैशाख २८ मा प्रहरीमा पूर्णिमा र मीरादेवीको संयुक्त जाहेरी परेको थियो । जाहेरवालाहरू पूर्णिमा र मीरादेवीले ललितपुरस्थित उमादेवीको जग्गा आफूहरूको नाममा सार्ने कानुनी प्रक्रिया चलिरहेका बेला ‘सतराज गुरुङले नक्कली नागरिकता र राहदानी बनाई आमाको महलमा उमादेवी गुरुङ जनाई विभिन्न सरकारी कार्यालयको कागजात किर्ते गरी कीर्तिपुरको कित्ता नं. २०३ को क्षेत्रफल ९९२.७० वर्गमिटरको जग्गा आफ्नो नाउँमा पास गरेका रहेछन्, निज प्रतिवादीहरूलाई कानुन बमोजिम गरी पाऔं’ भनी जाहेरी दिएका थिए ।

यसपछि टेकु प्रहरीले पूर्णिमा र मीरादेवीले ललितपुर महानगर-२ र स्याङ्जाको बिरुवा गाउँपालिका -७ को वडा कार्यालयबाट लिएको मृत्युदर्ता र नाता प्रमाणित प्रमाणपत्रको अनुसन्धान गरेको थियो । किर्ते गरेको खुलेपछि थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई लेखी पठाएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले भने, ‘जुन वडा कार्यालय खुलाएर किर्ते कागजात बनाइएको छ, वडा कार्यालयले हामीले दिएको छैन भनिसकेको छ, कहाँ बसेर गर्‍यो, अनुसन्धान भइरहेको छ ।’ मृतक महिलाको नक्कली छोरा बनेर किर्ते कागजात बनाई कीर्तिपुरको जग्गा हत्याएको अभियोगमा पक्राउ परेका सतराज गुरुङलाई अदालतले साउन ३१ गते पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र ५, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×