कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जग्गा हत्याउन आफन्त नै सक्रिय

६७ वर्षीय एमसी परेरा यता जग्गा जोगाउन न्यायिक निकाय धाइरहेका छन् भने अमेरिकामा रहेका छोराछोरी बुबाको सुरक्षालाई लिएर चिन्तामा छन्
जग्गा हडप्ने प्रपञ्चमा मालपोत कार्यालयले समेत अनदेखा गरेको पीडित पक्षको आरोप
विद्या राई

काठमाडौँ — भारतीय बुबा र नेपाली आमाबाट जन्मिएका ३० वर्षीय अमोन आदित्य परेरा अमेरिकाको क्यालिफोर्नियामा इन्जिनियर पेसामा छन् । आफ्नै पेसामा व्यस्त रहनुपर्नेमा उनी यतिबेला नेपालमै रहेका बुबाको सुरक्षा चिन्तामा छन् । आमाबुबाले नेपालमा जोडेको जग्गा हडप्न आफन्तहरू नै सक्रिय भएपछि उनीसहित दुई दिदीहरूको पनि तनाव बढेको छ ।

जग्गा हत्याउन आफन्त नै सक्रिय

भारतको कर्नाटकमा जन्मिएका उनका बुबा एमसी परेरा ०३६ सालमा नेपाल आए, चितवनमा कृषिसम्बन्धी काम थाले । स्याङ्जाकी उमादेवी गुरुङसँग ०३८ माघ ७ मा उनले विवाह गरे । चितवनको तत्कालीन शारदा नगर गाउँ पञ्चायतमा विवाह दर्ता गराए । एमसीले सन् १९८३ अगस्ट २६ मा आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गरेका थिए ।

पुनः सन् १९८७ नोभेम्बर ९ मा दुई छोरी र पत्नीसमेतको विवरण दर्ता गरी हाल भरतपुर महानगरपालिका–१९ मा स्थायी बसोबास गर्दै आएका छन् । उमादेवी चितवन रामपुरको त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थानमा २०४१ देखि २०४४ सालसम्म सहायक प्राध्यापकमा कार्यरत थिइन् । उमादेवीकै नाममा चितवनमा नमुना कृषि फार्म पनि सञ्चालनमा थियो ।

२०५० साल भदौ २६ गते बैंककमा जन्मिएका अमोनको चितवन शारदानगर गाविसमा ०५१ पुसमा जन्मदर्ता भएको छ । उनकी कान्छी दिदी आलरिया परेरा गुरुङ ०४३ साल भदौ १४ गते शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा र जेठी दिदी डेरेने प्रिया परेरा गुरुङ ०३८ साल माघ २२ गते चितवनमै जन्मिएको अभिलेख छ । बुबा एमसी कृषि विज्ञका रूपमा विभिन्न संघसंस्थामा स्वयंसेवा गर्दै अहिले पनि नेपालमै छन् । अमोनका दिदीहरू डेरेने र आलरिया भने अमेरिकामै बस्छन् । आमा उमादेवीको ब्रेन ह्यामरेज भएर भारतमा ६४ वर्षको उमेरमा ०७४ भदौ २६ गते मृत्यु भयो ।

ललितपुर महानगरपालिका–५ मा कित्ता नं. ३५३ मा ०-८-०-०, कित्ता १४८ मा १-०-०-०, सैबुमा कित्ता २१३ मा १-४-२-० र सुनाकोठीमा कित्ता २४० मा ५-१५-०-० र काठमाडौंको कीर्तिपुरमा कित्ता २०३ मा ९९२.७० वर्गमिटर क्षेत्रफल जग्गाको लालपुर्जा उमादेवीको नाममा छ । उनको निधनपछि जग्गा हक हस्तान्तरण र नामसारीका लागि परिवारका सदस्यले मालपोत कार्यालयमा निवेदन दिएका थिए । तर, बिचौलिया र जग्गा कारोबारीसँगको मिलेमतोमा आफूहरूको जग्गा हडप्ने प्रपञ्च सुरु भएको अमोन बताउँछन् । ‘आमाको नाममा रहेको जग्गा स्वतः हाम्रो हुनुपर्नेमा अर्को मान्छेले जालझेल गरेर दाबी गरिरहेको थाहा पाउँदा निकै दुःखी छौं,’ क्यालिफोर्नियाबाट ह्वाट्सएप कुराकानीमा उनले सुनाए ।

०७७ साउन ५ मा मालपोत कार्यालय लगनखेलमा दिएको निवेदनको कारबाही बुझ्न एमसीले ०७८ मंसिर ६ मा पुनः निवेदन दिएका थिए । त्यतिबेला मात्रै उनी झसंग भए, पत्नी उमादेवीको नाममा भएका जग्गा माइतीतर्फका दिदी पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङले हकदाबी गरेका रहेछन् । पूर्णिमाले आमाबुबाको पहिल्यै मृत्यु भइसकेको, बहिनी उमादेवी अविवाहित रहेको, उनको पालनपोषण, औषधोपचार तथा मृत्युपश्चात् काजकिरिया आफूले गरेको हुँदा उनको नाममा दर्ता भएका ललितपुरका चार कित्ताका जग्गा आफूहरूको नाममा संयुक्त नामसारी गर्न निवेदन दिएकी रहिछन् ।

एमसीका अनुसार झूटा विवरणकै आधारमा पूर्णिमा र मीरादेवीले ०७८ असोज ४ गते ललितपुर–२ बाट जग्गा नामसारीका लागि सिफारिस लिए । जग्गा अपुतालीअन्तर्गत दुवैलाई नामसारी हुने देखिएपछि लगनखेल मालपोतले असोज २५ गते गोरखापत्र दैनिकमा हकदाबीको ३५ दिने सूचना निकाल्यो । ‘सूचना निकालेको मलाई थाहा थिएन, पहिले मैले निवेदन दिएको हक हस्तान्तरण, नामसारीको प्रक्रिया के हुँदै छ भनेर बुझ्न जाँदा कर्मचारीले सूचना निकालेको ३६ दिन भयो भनेर सुनाए,’ एमसीले भने, ‘मैले पहिल्यै हस्तान्तरण नामसारीको निवेदन दिइसकेको थिएँ भन्दा कर्मचारीहरू अलमलमा परे ।’

हक हस्तान्तरणका लागि ०७७ साउन ५ मा दिएको निवेदनलाई बेवास्ता गरी झूटा विवरणकै आधारमा मालपोतले पूर्णिमा र मीरादेवीलाई हकदाबी सार्न सिफारिस गरेको एमसीले थाहा पाए । उनले तत्काल अमेरिकामा रहेका छोराछोरीलाई खबर गरे । ‘बुबाआमाले दुःख गरेर नेपालमा सम्पत्ति जोड्नुभएको थियो, तर आमाको मृत्युपछि अरूले जसरी खोस्न खोजिरहेका छन् भन्ने थाहा पायौँ, हामी सबै अचम्मित भयौं,’ अमोनले भने ।

छोराछोरीको सल्लाहमा एमसीले ‘पूर्णिमा गुरुङ र बहिनी मीरादेवी गुरुङको नाममा तत्काल जग्गा नामसारी तथा हक हस्तान्तरण रोक्का गरिपाऊँ’ भनी जिल्ला अदालत ललितपुरमा ०७८ मंसिर १४ मा निषेधाज्ञा रिट दर्ता गरे । मंसिर १५ को पेसी आदेशले दाखिल खारेज तथा नामसारी गर्नेलगायतका कुनै पनि कार्य नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरेपछि तत्कालका लागि जग्गा नामसारी रोकियो । तर एक महिनापछि पुस १५ मा विपक्षीहरू झिकाइएको पेसीमा अदालतले अन्तरिम आदेश खारेज गर्ने फैसला सुनायो ।

‘विवादित सम्पत्तिको हक नामसारी सम्बन्धमा मालपोत कार्यालयले चलाएको प्रक्रियामा सहभागी भई निवेदकले आफ्नो प्रमाण पेस गर्न सक्ने अवस्था रहेकै हुँदा र हालसम्म विवादको सम्पत्ति यी निवेकको निर्विवाद हक स्थापित भएको अवस्था नहुँदा मालपोत कार्यालयको कानुनी अधिकारमा हस्तक्षेप हुने गरी मागबमोजिम निषेधाज्ञाको आदेश जारी गर्न मिलेन,’ फैसलामा भनिएको छ । फैसलाअनुसार उनीहरू मालपोत कार्यालय गएनन् । एमसी मंसिर २० गते उच्च अदालत पाटन गए तर उच्चले गत असार ८ गतेको फैसलाले जिल्ला अदालत ललितपुरकै फैसलालाई सदर गरिदिएको छ ।

‘हामीले हकदाबी र नामसारीको निवेदन दिइसकेको अवस्थामा थाहै नदिई मिलेमतोमा जग्गा हत्याउने प्रपञ्च भइरहेको छ,’ एमसीले भने, ‘मेरो सासूससुराको पहिल्यै मृत्यु भएको साँचो हो तर जग्गा हत्याउने हिसाबले उमादेवी अविवाहित हुन् भनेर दाबी गर्नु कसरी सही हुन सक्छ ?’

जग्गा हत्याउने प्रपञ्चमा मालपोत कार्यालयले समेत अनदेखा गरेको पीडित पक्षको आरोप छ । ‘एमसी उमादेवीको श्रीमान् हुनुहुँदो रहेछ तर पूर्णिमा गुरुङले मेरी बहिनी अविवाहित भनेर नामसारी माग्न आएपछि मुद्दा फाँटले ३५ दिने हकदाबी विज्ञापन गोरखापत्रमा सूचना निकालेछ,’ लगनखेल मालपोतमा यो केस हेरिरहेका नायब सुब्बा गुरुप्रसाद भट्टले भने, ‘एमसीले अदालतमा मुद्दा हाल्नुभयो, हकदाबीबारे मालपोतबाटै निर्णय गर्नू भनेर अदालतले पठाएको छ अरे, मसम्म फाइल आइपुगेको छैन ।’

६७ वर्षीय एमसी यता जग्गा जोगाउन न्यायिक निकाय धाइरहेका छन् भने अमेरिकामा रहेका छोराछोरीहरू बुबाको सुरक्षालाई लिएर चिन्तामा छन् । ‘मसँग नेपाली नागरिकता छैन, तर म नेपाली आमाको छोरी हो,’ एमसीकी जेठी छोरी डेरेनेले अमेरिकाबाट भनिन्, ‘आमाबुबाको शेषपछि चल, अचल सम्पत्तिको भोगाधिकार पाउने संविधानमै व्यवस्था छ, मलाई नेपालको न्यायिक प्रणालीमा विश्वास थियो, तर यस्तो नहुँदा निकै दुःख लागेको छ ।’ चितवनमै जन्मिएकी डेरेनेले पाँचवर्षे बाल्यकाल त्यहीं बिताइन् । उनकी बहिनी २ वर्षको हुँदा पढाइको सिलसिलामा भारत हुँदै अमेरिका पुगिन् । उनी बेलाबेला नेपाल आउजाउ गरिरहन्छिन् ।

पूर्णिमा गुरुङलाई यसबारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको पक्षमा कृष्णबहादुर क्षेत्रीले सुरुवाती चरणमा अदालतमा वकालत गरेका थिए । तर, हाल संलग्न नरहेको र पूर्णिमासँग कहिल्यै देखभेट नभएको उनको भनाइ छ । ‘वारेसमार्फत जवाफ दिने काम भएको हो, मुद्दा हुन्जेल के कसो भयो भनेर फोन गर्थिन्,’ उनले भने, ‘पछि अरू नै वकिल राखिन् । पूर्णिमाका वारेस गंगाराम महर्जनले पनि आफू अहिले सम्पर्कमा नरहेको बताए । ‘मुद्दा सकिएपछि पूर्णिमा मेरो सम्पर्कमा छैनन्, फोन पनि उठाउँदिनन्,’ उनले भने ।

धनबहादुर र श्यामलक्ष्मी निरौलाले आफूलाई पूर्णिमासँग भेटाइदिएको उनले बताए । ‘उनीहरूले सन्देश महर्जन र रवीन्द्र महर्जनसँग जग्गाको बैना गरे । पूर्णिमालाई भेटाइदेऊ भन्दा उनीहरूले हामी नै मुख्य मान्छे हो भनेर कागज गराएछन्,’ उनले भने, ‘काम सुरु गर्नेबेलामा काम गर्न सकेन भनेर पूर्णिमाले श्यामलक्ष्मीहरूलाई पनि छाडेको थाहा पाएँ ।’

त्यसपछि पूर्णिमाले हेटौंडाका प्रेमबहादुर मार्फत काम गराएको र पछि मालपोतबाट सूचना निकालेको उनको भनाइ छ । ‘जबकि श्यामलक्ष्मीहरू मार्फत सन्देश महर्जन, रवीन्द्र महर्जनको पैसा परिसकेको थियो,’ गंगारामले भने, ‘प्रेमबहादुरहरूले पनि यो थाहा पाए । त्यसपछि त परेराले मुद्दा हाल्यो । त्यसका लागि हामीले वकिल पनि खोजिदिएको हो । त्यसैका लागि म वारेस बसेको हुँ ।’

मालपोत कार्यालय लगनखेलका कर्मचारी र हकदैया नै नभएका पूर्णिमा र मीरादेवी गुरुङसमेतको मिलेमतोमा गैरकानुनी ढंगले जग्गा दाखिल खारेजी नामसारी गर्न लागेको हुँदा सो रोकी दोषीलाई कानुनी कारबाही गराउन माग गर्दै एमसीले ०७८ पुस २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएका छन् ।

उमादेवीका आफ्नै दिदीबहिनीले ललितपुरको नौ रोपनी तीन आना दुई पैसा जग्गा हडप्ने जालझेल रचेका छन् भने किर्ते कागजात जुटाएका नक्कली आफन्तले कीर्तिपुरको एक रोपनी १५ आना ३.५ दाम जग्गा हडपिसकेका छन् । उमादेवीको नक्कली छोरा बनेर मकवानपुर थाहा नगरपालिकाका सतराज गुरुङले कीर्तिपुरको कित्ता २०३ को ९९२.७० वर्गमिटर जग्गा नामसारी गरी धनीपुर्जा लिइसकेका छन् ।

सतराजले जग्गा हत्याउन बमबहादुर गुरुङलाई बुबा, उमादेवी गुरुङलाई आमा, राजु गुरुङलाई दाइ, रीता लामा गुरुङलाई पत्नी, अम्मर गुरुङलाई छोरा र देवकी गुरुङलाई जेठीआमा भनी थाहा–१२ को वडा कार्यालयबाट नाता प्रमाणित गरेका छन् । किर्ते गरेको थाहा पाएपछि एमसीले दिएको जाहेरीअनुसार प्रहरीले सतराजलाई असार ३ मा पक्राउ गर्‍यो । उनीमाथि संगठित लिखत किर्ते र ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले बताए ।

सतराजलाई नक्कली कागजात बनाउन सघाएको प्रश्नमा थाहा–१२ का वडाध्यक्ष टीकाराम स्याङतानले आफू निर्वाचित भएर आएपछि सर्जमिन मुचुल्का गरिदिएको स्विकारे ।

प्रकाशित : असार ३०, २०८० ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×