कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

नक्कली छोरा बनेर सम्पत्ति हत्याउने सतराज पुर्पक्षका लागि थुनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — दिवंगत महिलाको नक्कली छोरा बनेर किर्ते कागजात बनाई जग्गा हत्याएको अभियोगमा पक्राउ परेका सतराज गुरुङलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । 

नक्कली छोरा बनेर सम्पत्ति हत्याउने सतराज पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको इजलासले बुधबार गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । मकवानपुर घर भई काठमाडौंको कपन बस्दै आएका गुरुङले स्याङ्जाकी उमादेवी गुरुङको नाममा काठमाडौंको कीर्तिपुरमा रहेको ९९२ वर्गमिटर जग्गा उनको नक्कली छोरा बनेर आफ्नो नाममा गरेका थिए ।

स्याङ्जाको मेथाभुरुङमा जन्मिएकी गुरुङको २०७४ भदौ २६ गते नै मृत्यु भएको थियो । उनका श्रीमान् एमसी परेराले केही वर्ष ढिला ०७७ साउन ८ मा कलंकी मालपोत कार्यालयमा उमादेवीकाे नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न निवेदन दिए । कलंकी मालपोतमा ०७८ मंसिर १४ गते पुनः नामसारी गरी जग्गाधनी पुर्जाको लागि निवेदन दिए । सोही दिन नामसारी मिसिल खडा गरेर जग्गाको श्रेस्तामा समेत जनाउ गरे । जग्गा के-कस्तो स्थितिमा छ भनि गत जेठ ७ मा कलंकी मालपोतमा बुझ्न जाँदा उमादेवीको नक्कली छोरा बनेर गुरुङले नामसारी गरिसकेको थाहा पाए।

सरकारी, सार्वजनिक लिखत किर्ते गरेको अभियोगमा सतराज, कलंकी र मकवानपुरको सिखरवोट मालपोत कार्यालयका कर्मचारीहरु, मकवानपुर थाहा नगरपालिका-१२, कीर्तिपुर नगरपालिका-१० का जनप्रतिनिधिहरु र स्थलगत सर्जमिन मुचुल्का बस्नेहरुविरुद्ध उमादेवीका श्रीमान् परेराले ‘संगठितरुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखतसम्बन्धी’ कसुरमा प्रहरीमा उजुरी दिए । उजुरीपछि गत असार ३ गते सतराजलाई प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा कलंकी मालपोतका अधिकृत कृष्णप्रसाद गौतम, नायब सुब्बाहरु गेहेन्द्रराज तिम्सिना, गुरुप्रसाद घिमिरे, ईश्वर ढुंगाना र खरिदार पूर्णराज बरालले भने परेराले कलंकी मालपोतमा दिएको निवेदन कार्यालयमा खोजतलास गर्दा फेला नपरेको र सम्पूर्ण वडा तथा सरकारी कार्यालयहरुबाट प्राप्त भएका कागजात, सर्जमिन मुचुल्का, नाता प्रमाणपत्र, मृत्यु दर्तालगायत कागजातहरुबाट उमादेवीको छोरा सतराज गुरुङ खुल्न आएकोले जग्गा नामसारी गरिदिएको भनि बयान दिएका छन् ।

‘निज प्रतिवादी सतराज गुरुङको आमा स्व. उमादेवी गुरुङ नै हुन् वा होइन सो सम्बन्धमा मलाई थाहा छैन,’ उनीहरुले बयानमा भनेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २८ गते तयार पारेको अभियोगपत्रमा उल्लेख छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सतराजसहित मकवानपुरको थाहा-१२ का तत्कालीन वडाध्यक्ष टीकाराम स्याङ्तान र स्थानीयहरु सानुकान्छा स्याङ्तान, माइली स्याङ्तान, श्याम गोले, बमबहादुर गुरुङ, राजु गुरुङ, चन्द्रकुमार मुक्तान, ओबजंगबहादुर रोकाया, रामशरण गुरुङ, कृष्णबहादुर गुरुङ, सुकुमान स्याङ्तान, रामबहादुर स्याङ्तान, नरेश घलान, मालपोत कार्यालय सिखरवोट मकवानपुरका खरिदार सुदीप ढकाल, कीर्तिपुर-१० का वडाध्यक्ष नरेश महर्जन, रुपेश श्रेष्ठ, देवचन्द्र महर्जन, विनोद मानन्धर, सञ्जयरत्न बज्राचार्य, तीर्थकुमार प्रधान गरी २१ जनाविरुद्ध ‘संगठितरुपमा सम्पत्तिको आपराधिक उपयोग र लिखतसम्बन्धी’ कसुरको अभियोग लगाएको छ ।

प्रकाशित : श्रावण ३२, २०८० २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×