कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

काग खोलाको बाढीले कागबेनीमा क्षति

बाढीले कागबेनीको प्रहरीचौकी र २९ घर–होटल पूर्ण क्षति, १३ घरमा आंशिक क्षति, कागबेनी खोलामाथिको पक्की पुल, एक एक्स्काभेटर, स्थानीयका ९ मोटरसाइकल र २ जिप, १ झोलुंगे पुल र ३ वटा काठेपुल बगायो, झन्डै १ सय जना मजदुर विस्थापित

म्याग्दी, बर्दिया, लमजुङ — पहिरोले केहीबेर थुनिएको काग खोलाको बाढी बस्ती पस्दा कागबेनीमा घर, होटल, प्रहरीचौकी, पुलसहितका भौतिक संरचना क्षतविक्षत बनाएको छ । आइतबार साँझ ग्रेग्रानसहित आएको बाढीले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा प्रहरीचौकी रहेको भवनसहित २९ घर–होटल बगाएको छ भने १३ घरमा आंशिक क्षति पुगेको छ ।

काग खोलाको बाढीले कागबेनीमा क्षति

बाढीले घर बगाएपछि कागबेनीका ५० जना स्थानीय र घर तथा होटलमा काम गर्ने झन्डै १ सय जना मजदुर विस्थापित भएका छन् ।

थोरङ्लापास हुँदै र मुक्तिनाथबाट झर्ने दुईवटा खोला झोङ र तिरी गाउँनजिक कागबेनीमा मिसिन्छन् । सोही दुई खोलाको दोभानमा पहिरो खसेर केहीबेर थुनिएको काग खोलामा ग्रेग्रानसहितको बाढी कालीगण्डकीको संगमस्थलमा बस्ती पसेको हो । बाढीका कारण कागबेनीमा श्राद्धस्थल पनि पूरै पुरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आइतबारको बाढीले घरबास गुमाएका ५० जनामध्ये गाउँपालिका कार्यालय, सामुदायिक भवन र आफन्त कहाँ व्यवस्थापन गरिएको छ । होटल तथा घरमालिक नै विस्थापित भएपछि त्यहाँ कार्यरत एक सय जना बढी मजदुरलाई जिल्ला सदरमुकाम जोमसोम ल्याएर सामुदायिक भवनमा राखिएको छ ।


जिल्ला विपद् व्यवस्थापन समितिको स्थलगत विवरणअनुसार बाढीले कागबेनीका एक प्रहरीचौकी र २९ घर–होटल पूर्ण क्षति, १३ घरमा आंशिक क्षति पुगेको छ । यस्तै, बेनी–जोमसोम–कोरोला सडकअन्तर्गत कागबेनी खोलामाथिको पक्की पुल, पुल निर्माणस्थलमा रहेको एक एक्स्काभेटर, स्थानीयका ९ मोटरसाइकल र २ जिप, १ झोलुंगे पुल र ३ वटा काठेपुल बगाएको छ ।


‘साँझ उज्यालोमै बाढी आएकाले सबै भागदौड भएकाले मानवीय क्षति हुनबाट जोगियो,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘प्रभावितलाई कागबेनीकै पालिका भवन र सामुदायिक भवन तथा मजदुरलाई जोमसोम ल्याएर अस्थायी व्यवस्थापन गरेका छौं ।’ विस्थापित मजदुरलाई व्यवस्थापन चुनौती बनेको प्रजिअ केसीले बताए । यहाँका घर तथा होटलमा काम गर्न देशका विभिन्न ठाउँबाट आएका सयौं जना छन् ।

‘दुई/चार दिन अस्थायी शिविरमा राखेर खाना खुवाउन त समस्या हुँदैन,’ प्रजिअ केसीले भने, ‘काम गरिरहेको ठाउँमै क्षति भएपछि उनीहरूको रोजीरोटी र घर फर्कनलाई बाटो खर्च व्यवस्थापन गर्न चुनौती होला जस्तो छ ।’ थोरङ्लापास हुँदै र मुक्तिनाथबाट झर्ने दुईवटा खोला तल झोङ र तिरी गाउँ नजिक जोडिन्छन् । सोही दुई खोला जोडिएर बग्ने स्थानमा पहिरो खस्दा काग खोला केहीबेर थुनिएर ग्रेग्रानसहितको बाढी कागबेनी बस्ती पसेको हो । अन्नपूर्ण–धौलागिरि हिमशृंखलाले छेक्ने हुँदा मुस्ताङमा मनसुनमा समेत छायावृष्टि हुने गरेको छ । सुक्खा बलौटे माटो भएको यहाँ केही वर्षयता बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ ।

बबईबाट विस्थापित ५४ परिवार घर फर्कन सकेनन्

बबई नदीको बाढी बस्ती पस्दा बर्दियाका विभिन्न ठाउँमा विस्थापित भएकामध्ये ५४ परिवार अझै घर फर्कन सकेका छैनन् । बाँध भत्किएर बबईको बाढी बस्ती पस्दा आइतबार ४ सय ८६ घर डुबानमा परेका थिए । गुलरिया–११ इन्द्रपुरमा बाढी पस्दा विस्थापित १० परिवार अझै फर्कन सकेका छैनन् । बाढी घटे पनि घरभित्र पानी जमेका कारण फर्कन नसकेको स्थानीय सोमपतिया थारूले बताइन् । बारबर्दिया नगरपालिका–८ भगतपुरकी मनकुमारी विकले बस्तीका २० परिवार सोमबार साँझसम्म स्थानीय सरस्वती आधारभूत विद्यालयमा बसिरहेको बताइन् । घरमा रहेको अनाजसमेत डुबाएकाले चाउचाउ र बिस्कुटले छाक टारिरहेको मनकुमारीले बताइन् । बासगढी–८ बनगौडीका २४ परिवारलाई बाल विकास केन्द्रमा राखिएको वडासदस्य राजाराम थारूले बताए ।

बेंसीसहर–चामे खण्डमा तारन्तार पहिरो

लमजुङ सदरमुकाम बेंसीसहरबाट मनाङको सदरमुकाम चामे ६५ किलोमिटर सडक दूरीमा छ । सामान्य अवस्थामा ४ घण्टामा पुगिने उक्त दूरी पार गर्न स्थानीय रन्जित लामालाई हालै झन्डै ७ घण्टा लाग्यो । उक्त खण्डमा खसेका साना–ठूला झन्डै दुई दर्जन पहिरोका कारण यतिबेला मनाङ पुग्न सकस मात्रै छैन, जोखिम पनि उत्तिकै बढेको छ ।


‘झन्डै पहिरोले पुरिएन, मुस्किलले चामे पुगियो,’ मोटरसाइकल लिएर गएका लामाले सुनाए । डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले बेंसीसहरदेखि बेलौती बिसौनीसम्मको ३ किलोमिटर खण्डका ८ वटा पहिरो गत शनिबार हटाइएको बताए । उनका अनुसार खरखरे, रामबजार, दानाक्युका साथै बेलौती बिसौना, घोप्टेभीर, श्रीचौर, निगालाघारीलगायत ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् । ‘बल्लतल्ल पहिरो सफा गर्‍यो, उत्तिखेरै पानी दर्कन्छ अनि फेरि पहिरो खस्छ । खुल्दा नखुल्दै बाटो फेरि बन्द हुन्छ,’ अधिकारीले भने । पहिरो जाने क्रम नरोकिएको बताउँदै उनले भने, ‘जब पानी पर्न थाल्छ, पहिरो गयो भन्ने सम्झिए भो । यहाँको भूगोल नै त्यस्तै छ ।’

बेंसीसहर–चामे सडक खण्डमा सबैभन्दा दुःख दिने पहिरो खरखरेको हो । खरखरे पहिरोमा ढलान गर्न थालिए पनि बर्खायाममा काम गर्न नसकिएपछि पहिरो पन्छाउन निर्माण व्यवसायीले एक्स्काभेटर राखेको छ । सडक कार्यालयले पहिरो पन्छाउन लमजुङतर्फ रामबजार, श्रीचौर र मनाङतर्फ दानाक्युमा डोजरहरू तम्तयार अवस्थामा राखेको छ ।

तैपनि वर्षा निरन्तर पर्दा नयाँ–नयाँ ठाउँमा पहिरो खसेर सडक आवागमन समयमै खुलाउन समस्या पर्ने गरेको कार्यालयले बताएको छ । डुम्रे–बेंसीसहर–चामे रामबजार र च्याम्चेमाका साथै मनाङतर्फ निगालोघारी–सिरानतालमा पनि साना–ठूला पहिरो खस्ने क्रम जारी रहेको सडक योजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।

‘पानी परिरहेकाले समयमा नै पहिरो पन्छाउन सकस भइरहेको छ । नयाँ नयाँ पहिरो खस्दै जाँदा पनि चुनौती थपिएको छ,’ उनले भने, ‘तलबाट पहिरो पन्छाउँदै गयो, माथिबाट खसिरहेको हुन्छ । जोखिम मोलेरै हामीले सडक खुलाउने प्रयास गरिरहेका छौं ।’

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलका अनुसार वर्षाका कारण आएको बाढीपहिरोले बेंसीसहरदेखि चामेसम्मको यात्रा कठिन हुने गरेको छ । ‘प्रायः लमजुङतर्फको पहिरोले बाटो अवरुद्ध हुने गरेको छ । मनाङतर्फ स–साना पहिरो हो, एकाध घण्टामा खुल्छ । मुख्य समस्या लमजुङकै खरखरेको पहिरो हो,’ उनले भनिन् ।

बर्खा लागेसँगै हिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेंसीसहर–चामे सडकमार्ग बाढीपहिरोले तारन्तार अवरुद्ध हुने समस्या बर्सेर्नि हुँदा स्थानीय मर्कामा पर्दै आएका छन् । बेंसीसहरदेखि चामेमध्ये लमजुङ खण्डको ३५ किलोमिटरमा पहिरोको बढी समस्या रहेको इन्जिनियर अधिकारीले बताए । सेनाले १९ वर्ष लगाएर ट्र्याक खोलेको यो सडक एक दशकअघि २०६९ मा सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रकाशित : श्रावण ३०, २०८० ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?