२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रपतिमा बनेको गठबन्धनले बदलिने भयो केन्द्र र प्रदेश सरकारको समीकरण

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भन्छन्, ‘सरकारहरू अल्पमतमा नपरेसम्म हामी आँखा लगाउँदैनौँ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपतिको निर्वाचनकालागि आठ दलको फरक गठबन्धन बनेपछि केन्द्र र छ प्रदेशको विगतमा बनेको सत्ता गठबन्धन पनि धरापमा परेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसहित सात दलका बीचमा ११ पुसमा भएको सहमति विपरित राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने गरी फरक गठबन्धन गरेपछि केन्द्र र छ प्रदेश सरकारको समीकरण पनि बदलाव आउने परिस्थिति बनेको हो ।

राष्ट्रपतिमा बनेको गठबन्धनले बदलिने भयो केन्द्र र प्रदेश सरकारको समीकरण

केन्द्र र सातै प्रदेशमा सरकारमा रहेको नेकपा एमालेसहितका दल सरकारबाट बाहिरिएमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ ।

सरकारमा रहेका दलले सरकार छोडे सत्ता समीकरणमा फेरबदल हुनसक्छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै नयाँ राजनीतिक कोर्स भएको बताए । शुक्रबार आफ्नो विपरितको गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने संकेत गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलले गठबन्धन गरेपनि नेताहरूले सरकारका विषयमा भने छलफल नगरेको दाबी गरेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अहिले सरकार सञ्चालनका आधारभूत विषयमा छलफल भएपनि त्यसबारे सार्वजनिक अभिव्यक्ति दिनु अराजनीतिक हुने टिप्पणी गरे ।

‘अहिले केन्द्र र प्रदेशका सरकारहरू विश्वासमा छन्, अल्पमतमा परेका छैनन्,’ उपसभापति खड्काले इकान्तिपुरसँग भने, ‘संविधान र लोकतन्त्रमाथि विगतमा राष्ट्रपति संस्थाबाटै जुन प्रकारको आक्रमण भयो, अहिले राष्ट्रपति निर्वाचनमा त्यसका विरुद्ध हामीले आठ दलको गठबन्धन बनाएका हौँ । हामीले मुलुकमा अस्थिरता चाहेको होइन, त्यसैले सरकारहरू अल्पमतमा नपरेसम्म हामी आँखा लगाउँदैनौँ ।’

उनले केन्द्र र प्रदेशका सरकारहरूबाट एमाले नबाहिरिएसम्म कांग्रेसले कुनै सरकारमा प्रवेश गर्नेभन्ने कुनै बाटो नभएको बताए । ‘एमाले सरकारमा हुँदासम्म त्यहाँ हाम्रो कुनै काम छैन, त्यसका लागि कसरत पनि हुँदैन,’ उनले भने । नेताहरूका अनुसार आठ दलीय गठबन्धनमा अहिले राष्ट्रपतिको निर्वाचनकै विषयमा मात्रै छलफल भएको छ ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच सत्ता र सरकार सञ्चालनका विविध विषयहरूमा समेत समझदारी बनेको छ ।

बैठकमा सहभागी एक नेताकाअनुसार चार नेताले आगामी पाँच वर्ष सरकार सञ्चालनका विषयमा समेत भागबण्डा गरेका छन् । ‘माओवादीले पहिलो साढे दुई वर्ष सरकार चलाउने, त्यसपछि एकीकृत समाजवादी र अन्तिममा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने समझदारी बनेको छ,’ ती नेताले भने ।

प्रकाशित : फाल्गुन १२, २०७९ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?