कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मिसन २०२६ मा पाँच खेल थपियो, खेलाडी पुगे १०२

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ ।

मिसन २०२६ मा पाँच खेल थपियो, खेलाडी पुगे १०२

मिसन २०२६ अन्तर्गत दोस्रो चरणमा ५ खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल थियो । पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार आयोजित उत्प्रेरणा राखेपका सदस्यसचिव टंकलाल घिसिङले दोस्रो चरण ५ खेल थप गरिएको घोषणा गरे ।

थप खेलमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स छन् । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा१२–१२ खेलाडी छन् । भारोत्तोलन र कुस्तीका ५–५ तथा एथलेटिक्समा ४–४ पुरुष/महिला खेलाडीलाई समावेश गरिएको छ । पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा थिए ।

जापानमा हुने २० औं एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यसअघि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गरी राखेपले २०८० माघ १५ देखि मिसन २०२६ अन्तर्गत पहिलो चरणमा ५ खेल समावेश गरी राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।

एसियाली खेलकुदपछि अर्को संस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलो पटक हो । सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औं एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।

अभिनेता राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, ‘यो कार्यक्रम चलचित्रका महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरू खोजिरहेका छौं । तपाईं खेलाडीमध्येबाट नै खेलकुदको नायक पाउँछौं भन्ने पूर्ण विश्वास छ ।’

अभिनेता हमालले विगतका कमीकजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिस्कृत गर्नुपर्ने बताए । उनले खेलाडीमा जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास भयो भने सफलता पाइने धारणा राखे ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विगतमा हुने छोटो अवधिको तयारी गर्दै यस किसिमको तयागरीले राम्रो उपलब्धि हासिल सकिने बताए । डा. ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङसम्बन्धी विषयमा गराएका थिए ।

कार्यक्रममा पहिलो चरणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×