कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

जहाँ बिरामीको परीक्षणै हुँदैन

सुदूरपश्चिममा संक्रमण विकराल बन्ने जोखिम, निस्फिक्री घुम्छन् संक्रमित, गाउँ–गाउँमा रूघाखोकी र ज्वरोका बिरामी

कञ्‍चनपुर, दार्चुला, बैतडी, अछाम — भीमदत्त–१० की संक्रमित एक महिलाको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । तर उनको परिवारका सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ वा परीक्षण गरिएन । एक/दुई जनाले आफ्नो सतर्कताका लागि अस्पतालमा गएर पीसीआर परीक्षण गराए पनि सबैले भने परीक्षण गराएनन् । उनीहरूको सोधीखोजी पनि कसैले गरेन ।

जहाँ बिरामीको परीक्षणै हुँदैन

जिल्लामा दैनिक डेढ/दुई सय जनाको हाराहारीमा नयाँ संक्रमित थपिँदै छन् । दैनिक मृत्यु हुने पनि ४/५ जनाकै हाराहारीमा छन् । तर स्वास्थ्य संस्था र स्थानीय तहहरूले संक्रमित र मृतक कसैको पनि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणमा ध्यान दिएका छैनन् ।

‘कन्ट्याक्ट ट्रेसिङ र परीक्षण नभएरै संक्रमण नियन्त्रण बाहिर जाँदै छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन कपिलदेव जोशीले भने । उनका अनुसार केन्द्रबाट टोली नै बनाएर कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउन निर्देशन आए पनि यसतर्फ पालिकाहरूले चासो दिएका छैनन् ।

छिमेकी मुलुक भारतमा दिनहुँ ३/४ लाखको संख्यामा संक्रमित थपिँदै छन् । यस्तो अवस्थामा पनि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट (थ्री टी) को अवधारणा लागू गरेर रोकथामको प्रयास भइरहेको छ । कञ्चनपुरमै पनि गत वर्ष संक्रमण देखिँदा स्वास्थ्यकर्मीदेखि जनप्रतिनिधि सबै खटिएका थिए । संक्रमित देखिनेबित्तिकै ट्रेसिङ र परीक्षणमा विशेष चासो दिइएको थियो । तर अहिले न स्वास्थ्यकर्मी देखिन्छन् न त जनप्रतिनिधि । ‘गत वर्ष स्रोतसाधन थियो, टिम पनि राम्रो थियो,’ भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘अहिले परीक्षणका लागि एन्टिजेन किट र भीटीएम नै छैन ।’ कन्ट्याक्ट ट्रेसिङका लागि जनशक्ति पनि तयार नभएको उनले बताए । गत वर्ष भीमदत्त नगरपालिकाले २५ सय भीटीएम खरिद गरेर स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाएको थियो ।

‘अहिले एन्टिजेन किट पनि पाउन गाह्रो भयो,’ प्रमुख जोशीले भने, ‘नगरपालिकाले ५ सय किट खरिद गरेको छ तर आइपुगेको छैन ।’ उक्त किटहरू आइपुगेपछि कोरोनाबाट मृत्यु भएकाका आफन्तहरूको ट्रेसिङ र परीक्षण गरिने बताए । भीमदत्त नगरपालिकाले होम आइसोलेसनमा बसेकाहरूको निगरानीका लागि वडा स्तरमा टोली बनाएकाले अब छिटै अनुगमन गरेर उनीहरूको अवस्था बुझिने जोशीले दाबी गरे । तर नगरपालिकासँग यसपटक सक्रिय संक्रमितहरूको तथ्यांकसमेत छैन । कोरोना संक्रमण रोकथामका लागि कञ्चनपुरमा वैशाख १६ देखि जारी निषेधाज्ञाको समयावधि तेस्रो पटक थप गरेर जेठ ७ सम्म पुर्‍याइएको छ । संक्रमणको दर भने नघटेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड– १९ फोकल पर्सन जोशीले बताए । ‘दुई साता कडा लकडाउनसँगै पालिकाहरूले ट्रेसिङ र परीक्षण बढाउनुपर्छ,’ उनले भने । अहिलेकै अवस्थामा संक्रमण नघट्ने देखिएको उनको भनाइ छ ।

‘अब कडा लकडाउनसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड पनि कडाइका साथ पालना गराउनुपर्छ,’ महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने, ‘भारतबाट आउनेको उचित व्यवस्थापन हुन सकेन, होल्डिङ सेन्टरमा राखेर सम्बन्धित जिल्लातर्फ पठाउने काम हुन सकेन, जसले गर्दा अहिले अवस्था गम्भीर हुन पुग्यो ।’ संक्रमण समुदायमा फैलिनुअघि नै ट्रेसिङ र परीक्षणलाई जोड दिएको भए पनि अहिलेको जस्तो अवस्था नआउने उनको तर्क छ ।

कञ्चनपुरमा चैत अन्तिममा सक्रिय संक्रमितको संख्या ३३ मात्रै थियो । अहिले उक्त संख्या बढेर १ हजार ७ सय ३५ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षण गराएका १ हजार ३ सय २९ र एन्टिजेन परीक्षण गराएका ४ सय ६ जना सक्रिय संक्रमित छन् । तीमध्ये महाकाली अस्पतालमा ६० र स्वास्थ्य कार्यालयको आइसोलेसनमा ४२ जना संक्रमित छन् । यसैगरी पुनर्वास नगरपालिकाको आइसोलेसनमा ८ र बेलौरीको आइसोलेसनमा ६ जना छन् ।

१६ सय जनाभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । उनीहरूको अवस्थाको निगरानी कहींकतैबाट पनि हुन सकेको छैन । ‘होम आइसोलेसन भन्छन् गाउँमा डुलेका हुन्छन्, यसले झनै जोखिम बढाएको छ,’ पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापाले भने, ‘सबैलाई आइसोलेसनमा राख्ने ठाउँ पनि छैन ।’

गत वर्ष संक्रमण बढ्दा स्थानीय तहको स्वास्थ्य शाखाले होम क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाहरूको नियमित निगरानी गरिरहेको थियो । स्वास्थ्य कार्यालयले पनि यसलाई कडाइका साथ अनुगमन गरिरहेको थियो । तर यो वर्ष जनप्रतिनिधिदेखि स्वास्थ्यकर्मी सबै यसमा चुकेका छन् । ‘अब रोकथामको एउटै उपाय कडा लकडाउन नै हो,’ स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जोशीले भने, ‘पालिकाहरूले पनि जिम्मेवारी लिएर क्वारेन्टाइनदेखि होम आइसोलेनसको अनुगमन, ट्रेसिङ, परीक्षण र उपचारमा ध्यान दिनुपर्छ ।

निस्फिक्री घुम्छन् संक्रमित

कोरोना पोजिटिभ भएको रिपोर्ट उनले बिहीबार दिउँसो एसएमएसबाट पाएकी हुन् । अछामको मंगलसेन नगरपालिका–५ की २७ वर्षीया महिलाले त्यसपछि पनि हाटबजार जाने र धारामा सामूहिक रूपमा पानी लिन जाने आफ्ना नियमित काम गर्न छाडेकी छैनन् ।

संक्रमितसहित जंगल निस्केका अछाम मंगलसेनका स्थानीय । तस्बिर : मेनुका ढंगाना /कान्तिपुर

केही दिन एक्लै बस्न छिमेकीले आग्रह गर्दा उनी तर्किन थालिन् । संक्रमित भएको बारे उनलाई एसएमएस आए पनि अन्यत्रबाट सोधीखोजी भएको छैन । ‘मलाई खासै लक्षण पनि केही छैन । कोरोना होइन कि जस्तो लाग्छ । कोरोना लागेको भए त कसैले खबर गर्थे होलान् नि,’ उनले भनिन्, ‘अब सबैले थाहा पाइसकेका छन् । केही दिन छुट्टै बस्नुपर्ला ।’ सरकारी र स्थानीय तह कतैबाट पनि सोधीखोजी नगर्दा उनलाई कोरोना संक्रमण नभएको बुझाइ छ ।

यो बेला लेकमा काफल पाक्ने सिजन भएकाले संक्रमितहरू जंगलमा ढुक्कले हिँडिरहेको मंगलसेन–५ का शेरप्रसाद भाटले बताए । ‘१५/२० जना महिला जंगल जान निस्किएका थिए । सबै जना धारानेर जम्मा भए । तीमध्ये २ जना संक्रमित रहेछन् । मलाई नछोऊ, परै बस भनेको सुनें । के रहेछ भनेर बुझ्न खोज्दा संक्रमितहरू ठूलो समूहसँग हिँडिरहेका रहेछन्,’ भाटले भने, ‘यसरी दैनिक ३/४ सय जना समूहमा जंगल हिँडिरहेका हुन्छन् । कसैले मास्क लगाएको देखिँदैन । बजारमा गाडी मात्रै बन्द रहेछ । प्रहरी प्रशासनले हिँडडुल र जमघट बन्द गर्न सकेको छैन ।’

सात दिनदेखि घरमा बस्दा दिक्क लागेर जंगलतिर फ्रेस हुन आएको मंगलसेनका एक २४ वर्षीय संक्रमित बताउँछन् । ‘जंगलमा मान्छेको भीडभाड हुँदैन होला भनेर निस्किएको । यहाँ झन् धेरै मान्छे हुँदा रहेछन्,’ उनले भने, ‘सबै हिँडिरहेका छन् भनेर म पनि निस्किएको हो । यसअघि बाहिरतिर हिँडडुल गरेका संक्रमितलाई कसैले मतलब नगरेपछि म पनि साथीभाइसँग फ्रेस हुन निस्किएको हुँ ।’

लक्षण नदेखिएका कोरोना संक्रमितले गर्दा बजार क्षेत्रमा जोखिम बढ्दै गएको मंगलसेनका स्थानीय तुलबहादुर कुँवरले बताए । ‘लक्षण छैन भन्दै संक्रमितहरू बजारमा खुलेआम हिँड्छन्,’ उनले भने, ‘प्रहरीले किन रोकथाम गर्न नसकेको होला ? प्रहरी प्रशासन किन यति कमजोर देखिएका हुन् ?’ प्रहरीले बजारमा गाडीबाट अनुगमन गरे पनि समूहमा हिँडडुल गरेका मान्छेलाई सोधीखोजी नगरेको उनले बताए ।

संक्रमित महिलालाई २/४ दिन अलग्गै बस्न आग्रह गर्दा उल्टै रिसाउने गरेको मंगलसेनकी पूजा शाहीले बताइन् । ‘तिमीहरूलाई पनि अब केही दिनमा संक्रमण देखिने त हो । हामीसँग अहिले धेरै कुरा नगर भनेर गइन्,’ उनले भनिन्, ‘स्थानीय तह, प्रहरी प्रशासनको मौनताले संक्रमणको दर बढ्ने देखिन्छ ।’

संक्रमितहरूको निगरानीको सबै जिम्मेवारी स्थानीय तहलाई दिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए । ‘को संक्रमित हो, कहाँ बस्छ, स्वास्थ्य अवस्था कस्तो छ भन्ने सबै कुराको रेकर्ड राख्ने जिम्मेवारी स्थानीय तहलाई छ,’ उनले भने, ‘अहिलेसम्म संक्रमितलाई होम आइसोलेसनमा राखेको जानकारी आएको छ ।’ खुला रूपमा हिँडडुल गर्ने, पानीपँधेरो जंगल जानसमेत रोक्ने गरी जेठ २ गतेपछि निषेधाज्ञा थप कडाइ गरिने उनले बताए ।

स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल पर्सन मीनबहादुर कुँवरका अनुसार नयाँ भेरिएन्टको कोरोनाबाट अछाममा ८ सय ९४ जना सक्रिय संक्रमित छन् । तीमध्ये ४७ संक्रमित मात्रै जिल्ला अस्पताल र बयालपाटा अस्पतालको आइसोलेसन वार्डमा छन् । बाँकी ८ सय ४७ जना घरमा बसिरहेका छन् ।

‘अस्पतालमा आएकाबाहेक अरू सबै होम आइसोलेसनमा भएको जानकारी हामीलाई स्थानीय तहले दिएका छन् । यदि संक्रमितहरू जताततै खुलेआम हिँडेका छन् भने सम्बन्धित निकायले कडा निगरानीका साथ कारबाही गर्नुपर्छ,’ कुँवरले भने, ‘१४ दिनसम्म अनिवार्य रूपमा होम आइसोलेसनमा बस्नैपर्छ । लापरबाही गरे संक्रमितलाई मात्रै होइन समुदायलाई नै असर पर्छ ।’

गाउँ–गाउँमा रुघाखोकी र ज्वरो

ज्वरोले थलिएका बैतडीको पुर्चौडी नगरका एक शिक्षकलाई श्वासप्रश्वासको समस्याले पनि च्याप्न थालेको थियो । नगरपालिकाकै अस्थायी कोरोना अस्पतालबाट डडेलधुरा अस्पताल रेफर भएका उनको गत सोमबार बाटोमै मृत्यु भयो । पछिल्लो साता ज्वरो र रुघाखोकीको समस्या देखिएका पुर्चौडीमा १०/१२ जनाको मृत्यु भइसकेको पुर्चौडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । मृतकका परिवारको तथ्यांक संकलन गरेर कोरोना परीक्षण गर्ने तयारी शाखाले गरेको थियो । ‘एन्टिजेन किट नभएकाले हामीले परीक्षण गर्न सकेका छैनौं,’ उनले भने, ‘कोरोनाका बिरामीलाई विभेद गर्ने कारणले पनि जाँचका लागि स्थानीय खुलेर आउन सक्ने अवस्था छैन ।’

सदरमुकाम खलंगास्थित खुला मञ्च क्षेत्रमा दार्चलाको महाकाली नगरपालिकाले नगरक्षेत्रभित्रका नागरिकको स्वाब संकलन गर्दै । तस्बिर : मनोज बडू/कान्तिपुर

दार्चुलाका हरेकजसो बस्तीमा ज्वरो र रुघाखोकीका कोरोनाको जस्तै लक्षण भएका बिरामीहरू छन् । कोरोना पुष्टि भए विभेदमा परिने डरले जँचाउन जान मान्दैनन् । निकै गाह्रो परेपछि गाउँका स्वास्थ्यचौकी र मेडिकलहरूमा पुग्ने गरेका छन् । यस्ता बिरामीलाई सामान्य जाँचपछि औषधि दिएर पठाउने गरेको दुहु गाउँपालिका–४ को धारी स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यकर्मी नरेन्द्र कुँवरका अनुसार गाउँभरिबाट रुघाखोकी, टाउको दुखेका र ज्वरोका बिरामी दैनिक २०/२५ जना स्वास्थ्य संस्था पुग्छन् ।

‘कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी गाउँ–गाउँमा थलिएका छन्,’ दार्चुलाको दुहु–३ का नरेन्द्र बमले भने, ‘हरेक घरमा बिरामी छन् । साता दिनमै निको पनि भएको छ, यो समस्या हरेक घरमा छ । यसलाई कोरोना भन्ने कि भाइरल भन्ने ?’ जिल्लाका सबैजसो ठाउँमा अहिले भाइरल ज्वरोका बिरामी बढेको उनले बताए ।

दार्चुलाकै लेकम गाउँपालिकामा पनि ज्वरोले गाउँभरि बिरामी परेका छन् । ‘हरेक घरमा ज्वरोले थला परेका छन्,’ लेकम–५ का जयानन्द जोशीले भने, ‘एउटै घरमा दुई/तीन जना बिरामी छन् । स्वास्थ्यचौकीको उपचारले खासै निको भइरहेका छैनन् ।’ गाउँभरि बिरामी भए पनि जँचाउन जानुको साटो सिटामोल खाएर टार्ने गरेको उनले बताए ।

बैतडीको डिलासैनी गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी नवराज जोशीले पनि रुघाखोकी र ज्वरोले गाउँले थला परेका बताए । ‘गाउँलेले बिरामी छौं भन्दैनन्, गाउँसम्म स्वास्थ्यकर्मी नपुगेकाले जाँच हुने कुरै भएन,’ उनले भने ।

बितेका वर्ष यस्तो भाइरलको प्रकोप बढ्दा जिल्ला अस्पतालमा धेरै बिरामी आउँथे । यसपालि कोरोनाको डरले बजार क्षेत्र र नजिक गाउँका बासिन्दा मात्र जँचाउन आउने गरेको दार्चुला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए । ‘दुई/तीन सातादेखि ज्वरोको समस्या लिएर आउने बिरामीको संख्या बढेको छ तर सिकिस्त भएपछि मात्रै अस्पताल आइरहेका छन्,’ उनले भने ।

बैतडीको तल्लोस्वराड क्षेत्रमा पनि रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको पञ्चेश्वर गाउँपालिका– ५ बलारा टोलका नरेन्द्र कलौनीले बताए । ‘स्थानीयले बिरामी भए पनि खबरै गर्दैनन् । जाँचका लागि स्वास्थ्य केन्द्र पुगे पो के भएको हो भन्ने थाहा हुन्थ्यो,’ उनले भने, ‘गाउँका मेडिकलहरूबाटै औषधि किनेर खाने गरेका छन् ।’ बैतडीकै सुर्नया गाउँपालिकाका विभिन्न बस्तीमा पनि ज्वरो, रुघाखोकीका बिरामी बढेका छन् । पालिकामा यस्ता बिरामी बढेको खबर पाएपछि कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

दार्चुलाको महाकाली नगरपालिकाले भने होम आइसोलेसनमा बसेकाको स्वाब संकलन शुक्रबार सुरु गरेको छ । नगर क्षेत्रभित्रका गाउँहरूमा भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी अत्यधिक रहेकाले ती कोरोना संक्रमित हुन सक्ने अनुमान छ । त्यसैले शंका लागेर पनि उपचारमा नगई घरै बसेकाहरूको स्वाब संकलन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक मोहन महराले बताए । उनका अनुसार होम आइसोलेसनमा बसेका एक घरबाट दुई जना, बाहिरबाट आई बसेका र संक्रमित व्यक्तिको सम्पर्कमा आएको ६ दिन पूरा भई कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका प्रत्येक घरपरिवारका एक जनाको स्वाब संकलन थालिएको हो ।

यसैबीच दार्चुला जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहीबार राति उपचारका क्रममा महाकाली नगरपालिका–५ गल्फैका ६४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । योसँगै दार्चुलामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । कोरोनाको दोस्रो लहरको सुरु भएयता दार्चुलामा संक्रमण पुष्टि हुनेको संख्या ३ सय १६ पुगेको छ । संक्रमितमध्ये शुक्रबारसम्म २९ जना निको पनि भएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?